तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिनुभयो । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । पुनःनिर्माणका अधिकांश कार्य सम्पन्न भएसँगै प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माणको १० वर्षे महाअभियानका लागि कार्यक्रम तयार गर्ने भएको छ ।

प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष ओलीको अध्यक्षतामा मङ्गलबार बसेको निर्देशक समितिको १८औँ बैठकले सोसम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि महाअभियान शुरु गर्ने निर्णय गरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको सहकार्यमा त्यस्तो कार्यक्रमसम्बन्धी प्रस्ताव तयार भइरहेको छ । भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापनाको कार्य सम्पन्नताको चरणमा पुगेकामा निर्देशक समितिको बैठकले खुशी व्यक्त गरेको छ ।

प्रधानमन्त्री ओलीले पुनःनिर्माणको सफलता नेपालको गौरव र सम्पत्ति भएको उल्लेख गर्दै यो विश्वलाई देखाउन लायक भएको बताउनुभयो । बैठकले विपद् व्यवस्थापनको दीर्घकालीन कार्यअन्तर्गत प्राचीन बस्ती, विश्व सम्पदा क्षेत्रसहित समग्र शहरी क्षेत्र खासगरी काठमाडौँ उपत्यकाको पुनःनिर्माण तथा पुनःस्थापनाको कामलाई समेत ध्यानमा राखी शहरी क्षेत्रको दीर्घकालीन पुनःनिर्माण कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत अघि बढाउने निर्णय पनि गरेको छ ।

प्राधिकरणले उक्त कार्यक्रमअन्तर्गत भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माण र भविष्यमा भूकम्पबाट क्षति हुनसक्ने निजी आवास, सार्वजनिक संरचना, सम्पदा एवं पूर्वाधारलाई एकीकृत ढङ्गले हेरी पुनःनिर्माण र पुनःस्थापनाको कार्य अगाडि बढाउन मिल्ने गरी कार्यक्रमको खाका तयार गरिरहेको छ । प्रधानमन्त्री ओलीले जनसहमति एवं जनसहभागितालाई मूल सिद्धान्त बनाई आवश्यकतानुसार ‘हाउस पुलिङ’लगायतका विधिको अवलम्बन गरी शहरी पुनःनिर्माणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बस्तीको प्राचीनता, मौलिकता र सांस्कृतिक पक्षलाई जोगाउँदै ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्ने पनि उल्लेख गर्नुभयो ।निर्देशक समितिको बैठकले पुनःनिर्माण प्राधिकरणको अवधि २०७८ पुस १० गतेसम्म रहेकामा चालु आर्थिक वर्षमा मूलभूत कामहरु सम्पन्न गर्ने र साउन १ गतेदेखि बाँकी अवधिमा हस्तान्तरणलगायतका कार्यका लागि हस्तान्तरण गर्ने निकाय, योजना तथा कार्यक्रम र वित्तीय व्यवस्थापनको खाकासमेत स्वीकृत गरेको छ ।

सोहीअनुसार आगामी आर्थिक वर्षका लागि रु ३६ अर्ब ३५ करोड ३८ लाखको बजेटका लागि नेपाल सरकारसमक्ष प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ । निर्देशक समितिका उपाध्यक्ष प्रमुख प्रतिपक्षी दलका नेता रहने व्यवस्था भएअनुरुप निजको प्रतिनिधित्व गर्दै बैठकमा उपस्थित नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा प्राधिकरणले गरेको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बाँकी रहेका कार्य यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । बैठकले परराष्ट्र मन्त्रालयको समन्वयमा ‘सगरमाथा संवाद’को समयलाई समेत ध्यानमा राखी सन् २०२१ को नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता नेपालको पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …