तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ ।

संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था मारमा परेका छन् । भर्खरै गति लिन थालेका शैक्षिक संस्था पुनः संक्रमण बढेपछि प्रभावित हुने देखिएको हो । केही विद्यालयको अहिले पनि परीक्षा सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पाठ्यक्रम सक्नेगरी भौतिक उपस्थितिसहित पठनपाठन भइरहेको छ ।

तर, संक्रमण बढ्दै गएपछि शैक्षिक सत्र र परीक्षालगायत शैक्षिक क्रियाकलाप नै अनिर्णित हुने देखिएको हो । स्वास्थ्य मन्त्रालयले जोखिम क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएको छ । यसले पनि शैक्षिक संस्थामा थप अन्योलता बढाएको हो ।

निजी विद्यालयको छाता संगठन प्याब्सनले पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय नियमित रूपमा सञ्चालन हुन दिनुपर्ने आवश्यकता आंैल्याए ।

– नयाँ शैक्षिक सत्र अन्योलमै
– विद्यार्थी मर्कामा

देशभरि कोरोना संक्रमणको वृद्धिदर एकनासको नभएको भन्दै संक्रमण दर बढी भएको स्थानमा सम्बन्धित विद्यालय अथवा पालिकामा मात्र केही निश्चित समयका लागि मात्र प्रतिबन्धात्मक व्यवस्था गर्ने विकल्प खोज्नुपर्ने प्याब्सनको भनाइ छ । प्याब्सनका अध्यक्ष पुरीले विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य मापदण्ड पूर्णतः पालना गर्नुपर्ने भन्दै विद्यालय बन्द गर्न उपयुक्त नहुने बताए ।

प्याब्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकताअनुसार शिक्षालयमा तातोपानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेसन कक्ष, भौतिक दूरीको व्यवस्थापनजस्ता कार्य सरकारका सम्बन्धित निकायको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयमा कार्यरत शिक्षक, कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा अवस्था हेरेर जोखिम स्थानमा विद्यालय बन्द गर्न सकिने प्रस्ताव लगेको थियो । सो प्रस्तावलाई सीसीएमसीले अगाडि बढाइसकेको छैन । शिक्षा मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर सो प्रस्तावअघि बढाउने तयारी छ । कोरोना संक्रमण बढेपछि शिक्षा मन्त्रालयले सरोकारवाला निकायलाई सोमबार (आज) छलफल गर्न बोलाएको छ ।

प्याब्सन भन्छ: स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय सञ्चालन गराउनुपर्छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार शैक्षिक संस्थालाई तीन साता अनलाइन कक्षा सञ्चालन गर्न सुझाव दिएपछि आज शैक्षिक सरोकारवाला निकायलाई छलफल गर्न बोलाएको हो । कोरोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने विषयमा सुझाव लिइने शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताए ।

यस्तै, देशभर आइतबार ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ६१ जना रहेको छ ।

आइतबार ३ हजार १ सय २५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म २३ लाख १२ हजार ९ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ४० पुगेको छ । हाल ८३ जना क्वारेन्टाइनमा छन् । आइतबार १ सय ४१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार २७ जना पुगेको छ । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …