तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

राजीनामा नदिने, विश्वासको मत पनि नलिने संसदीय दलको निष्कर्ष

काठमाडौँ। नेकपा ओली समूहले आफ्नो पक्षमा बहुमत सांसद जुटाएर अविश्वास प्रस्ताव विफल पार्ने रणनीति अघि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबार हुने बैठकमा अविश्वास प्रस्ताव आए डटेर सामना गर्ने शनिबार बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा आफू पक्षका सांसदहरूलाई सुनाएका थिए ।

ओलीले नेकपा दाहाल–नेपाल समूहका सांसद आफ्नो पक्षमा आउने दाबी गर्दै प्रतिनिधिसभामा अविश्वास प्रस्ताव आएमा डटेर सामना गर्ने जानकारी दिए । भ्रममा परेर र बाटो बिराएर गएका सांसद आफ्नो पक्षमा आउने उनले दाबी गरे । उनले दाहाल–नेपाल समूहका नेताहरूलाई इंगित गर्दै सडकमा गएर दलको नेता आफैं हुँ भन्नुको अर्थ नभएको बताए । उनले कानुनी रूपमा आफूहरू ठीक ठाउँमा रहेको तर्क गर्दै कतिपय नेता र सांसद नियत बिग्रेर र भ्रममा परेर सडकमा गएको बताए । उनले बाहिर रहेका सांसद तथा नेताहरू छिट्टै फर्कने दाबी गरे ।

दाहाल–नेपाल समूहले प्रतिनिधिसभामा राजीनामा माग्ने बताइरहेका बेला ओलीले अविश्वास प्रस्तावको सामना गर्ने बताएका हुन् । उनको यो भनाइले आफ्नै पक्षमा बहुमत देखाउन खोजेको प्रस्ट भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । कतिपयले प्रधानमन्त्री ओलीले नै विश्वासको मत लिनुपर्ने तर्क अघि सारेका छन् तर उनी आफैं विश्वासको मत लिने पक्षमा नरहेको देखिएको छ । करिब सवा घण्टा सञ्चालन भएको बैठकमा ओलीले सांसदहरूलाई प्रतिनिधिसभामा भूमिका प्रभावकारी बनाउन निर्देशन दिए ।

नेकपा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार ओलीले राजनीतिक विषयमा कम समय बोले पनि सांसदहरूलाई आफूहरू बहुमतमा रहेकाले उत्साहित हुन भनेका थिए । बैठकमा ओलीले आफ्नो समर्थनमा सांसदहरूको संख्या बढ्दै जाने आश्वासन दिए । संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले सञ्चालन गरेको बैठकमा ओलीले मात्र मन्तव्य राखेका थिए । ‘सांसदहरूले मन्तव्य राख्ने कार्यक्रम थिएन,’ भट्टराईले भने, ‘बैठकमा सांसदहरूको उपस्थितिले प्रधानमन्त्रीसहित सबैमा उत्साह थपेको छ ।’

बैठकमा १ सय १५ जना सांसदको उपस्थिति रहेको दाबी गरिएको छ । शुक्रबार भएको दाहाल–नेपाल समूहको बैठकमा पनि सोही संख्याको उपस्थिति रहेको बताइएको थियो । नेकपाका प्रतिनिधिसभामा सभामुखसहित १ सय ७३ र राष्ट्रिय सभामा ५० सांसद छन् । २ सय २४ जनामध्ये वामदेव गौतम, उनकी श्रीमती तुलसा थापा र लालबाबु पण्डित कुनै समूहमा खुलेका छैनन् । प्रतिनिधिसभा सदस्य सानु शिवाको निधन भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना मत विभाजनमा सहभागी हुँदैनन् । त्यस हिसाबले २ सय २१ जनामध्ये बहुमत पुर्‍याउन १ सय ११ जना आवश्यक हुन्छ । त्यसका लागि कुनै पनि पक्षमा नलागेका सांसदको भूमिका निर्णायक हुन सक्ने दुवै पक्षका नेताहरू बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …