तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

म्यान्मारमा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन्। जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ।

म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताइन्।

बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।

सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ।

गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्।

मारिनेमा किशोरहरू पनि

म्यान्मारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि त्यस्तो घटना भएको छ।

राष्ट्रसङ्घीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताइन्।

उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले निसशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिन्छ।

त्यस्तै अर्कोमा सडकमा प्रदर्शनकारीमाथि गोली चलाइएको र सम्भवत: मारिएको देखिन्छ।

“म केही हतियारविज्ञहरूलाई आग्रह गर्छु र उनीहरूले पुष्टि गर्नसक्छन्, स्पष्ट छैन तर प्रहरीको हतियार नौ एमएमको सबमेशिनगन जस्तो देखिन्छ,” उनले भनिन्।

सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ।

थोरै साथीसँग हिड्ने

कूपछि नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ। प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन्।

सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ। उक्त चुनावमा सू चीको दल न्याश्नल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो।

सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन। उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ।

अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाकाबीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ र बुधवार थुप्रै ठाउँहरूमा हिंसात्मक झडपहरू भएका छन्।

सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको बताएको छ। राष्ट्रसङ्घीय दूत बूर्गनरले सैनिक जर्नेलहरूविरुद्ध कडा कदम उठाउन राष्ट्रसङ्घलाई आग्रह गरिन्।

उनले म्यान्मार सेनाका उपप्रमुखसँगको कुराकानीमा दण्डनीय कदम उठाउने चेतावनी दिएकी थिइन्। न्यूयोर्कमा संवाददाताहरूसँग उनले भनिन्, “हामी थौरै साथीहरूसँग हिड्न सक्नुपर्छ भन्ने जबाफ थियो।”

प्रत्यक्षदर्शीहरूले समाचार संस्था रोयटर्सलाई बताएका अनुसार सुरक्षा फौजले कैयौँ नगर र सहरहरूमा छोटो चेतावनीमै गोली चलाएको छ।

देख्नेहरूले के भने?

मध्य म्यान्मारको मोनयूआको प्रदर्शनमा कम्तीमा चारजना गोली लागेर मारिएका छन्। स्थानीय पत्रकारले बताए अनुसार कम्तीमा ३० जना घाइते भएका छन्।

थप मृत्यु याङ्गुन, मान्डले र मिइनजानमा भएको समाचारमा जनाइएको छ।

मिइनजानस्थित एकजना स्वास्थ्य स्वयमेवकले समाचार संस्था एएफपीलाई बताएका अनुसार कम्तीमा १० जना घाइते भएका छन्।

उनले भने, “सुरक्षा फौजले अश्रुग्यास, रबरको गोली र गोली चलाएको थियो।” “उनीहरूले हामीमाथि पानीको फोहरा प्रहार गरेनन्, भिड तितरबितर पार्न कुनै चेतावनी पनि दिइएन, उनीहरूले एकैपटक बन्दुकबाट गोली चलाए,” एकजना प्रदर्शनकारीले रोयटर्सलाई भने।

मान्डलेमा एकजना विद्यार्थी प्रदर्शनकारीले बीबीसीलाई बताएका अनुसार उनको घर नजिकै प्रदर्शनकारीहरू मारिएका छन्।

स्रोत: बिबिसी 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …