तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। कमलपोखरीको बीचमा लगाइएको कंक्रिट शुक्रबार नागरिक अभियन्ता टोलीले भत्काएको छ । ऐतिहासिक र सांस्कृतिक महत्त्वको कमलपोखरीमा काठमाडौं महानगरपालिकाले सौन्दर्यकरण गर्ने नाममा कंक्रिटका संरचना बनाउन सुरु गरेको भन्दै उनीहरूले घन प्रहार गरी भत्काएका हुन् ।

‘हामीले विरोध गर्दागर्दै जबर्जस्ती पोखरीको बीचमा कंक्रिट राखियो,’ सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले भने, ‘शिष्ट तरिकाले भन्दा महानगरले नमानेपछि माइतीघरमा जम्मा भएका नागरिक आन्दोलनका अगुवाले भत्काइदिए । यो सांकेतिक विरोध हो । महानगर घेराउ गर्नेलगायत कार्यक्रम घोषणा गरेका छौं ।’

महानगरले पोखरीभित्र पाँच ठाउँमा ढलान गर्न थालेको थियो । पोखरीको बीचमा र अरू चार कुनामा कंक्रिटको कमल बनाउने महानगरको योजना छ । महानगर सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने पोखरीको बीचमा पानीको फोहोरा दिनका लागि कंक्रिट राखिएको दाबी गरे । ‘पानीको फोहोरा दिने संरचनाचाहिँ कमलको आकारमा बनाउन लागिएको हो, कुरा अलि बुझाउन सकेनौं हामीले,’ उनले भने, ‘पानीको फोहोरा दिने पाइप अड्याउन ढलान गरेका हौं ।’

बस्नेतले कमल नराख्ने भने पनि पोखरीको नक्सामा बीचमा कमलको फूल देखाइएको छ । कंक्रिटको कमल राख्नैका लागि पोखरीसमेत सुकाइएको छ । पोखरीमा कंक्रिट राख्नु र पानी सुकाउनु प्राचीन स्मारक संरक्षण ऐनविपरीत छ । ऐन मिचेको भन्दै त्यसलाई रोक्न सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट दर्ता भएको छ । सर्वोच्चले पोखरीको अध्ययन गरेर प्रतिवेदन बुझाउन आदेश दिएको छ । महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले पानी सुकाएकोप्रति असहमति राखेकी छन् । ‘पानी सुकाउनै पर्दैनथ्यो,’ उनले भनिन्, ‘पानीमा त माछालगायत जीवजन्तु पनि बस्छन् नि, त्यसको विषयमा सोच्नु पर्दैन ?’ उनले बजेट छुट्याउने विषयमा छलफल भए पनि अरू विषय आफूलाई थाहा नदिएको बताइन् ।

गत महिना पुरातत्त्व विभागले मौलिकता जोगाउन पत्र लेखेकै राति महानगरले पोखरीमा डोजर छिराएको थियो । डोजर लगाएर माटो निकाल्दा पानी नअडिने भन्दै संरक्षणकर्मीले विरोध गरे । ‘माटो झिक्यो भने पनि पानी अडिँदैन, सुकाएर धाँजा फाट्यो भने पनि अडिँदैन,’ आर्किटेक्ट सुसन वैद्यले भने, ‘रानीपोखरीको जस्तो फेरि कालोमाटो छापेर मात्र पानी अडिन्छ तर कमलपोखरीमा माटो छाप्ने गरी लागत इस्टिमेट गरिएको छैन ।’

३५ रोपनी क्षेत्रफलमा खुला व्यायाम क्षेत्र, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्ट, बालबालिका खेल्ने ठाउँलगायत संरचनासहितको कमलपोखरी पार्क बनाउने महानगरको योजना छ । पोखरीको घाटमा कंक्रिट राख्दा पानी पुनर्भरण व्यवस्था अवरुद्ध हुने भन्दै विज्ञले आपत्ति जनाएका छन् । ‘पोखरीको छेउछाउमा कंक्रिट राख्दा पानी पुनर्भरण गर्ने प्रणाली बिग्रिन्छ,’ पानीविज्ञ अजय दीक्षितले भने, ‘हरेक ठाउँमा सहरीकरण बढेको छ । पानीका यस्ता मौलिक प्रणाली जोगाउनुपर्छ ।’ पोखरीको बीचभागमा जान मिल्ने गरी पुलसमेत बनाउन लागिएको छ । पुल, वरिपरिको घाटलगायत निर्माण गर्दा पोखरीको आकार घट्ने भएको छ । सहरी वास्तुकलाविद् प्राध्यापक सुदर्शनराज तिवारीले पोखरीको महत्त्वपूर्ण पाटो नै पर्यावरण भएको बताए ।

पोखरीमा गहिरो धाँजा फाट्यो भने पछि पानी अड्याउन नसकिने पोखरी तथा ढुंगेधाराविज्ञ सुशील श्रेष्ठको भनाइ छ । महानगरले म्याद थप गरी चैतसम्ममा पुनर्निर्माण सक्ने लक्ष्य राखेको छ । कान्तिपुर दैनिकमा खबर छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …