तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

सिन्धुपाल्चोक ।मेलम्ची खानेपानी आयोजनाको मुहानमा सोमबार मन्त्रीहरूको भीड लाग्यो । खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर गाडीका लस्कर लगाउँदै मुहानस्थल पुगे । आयोजनाको मुख्य सुरुङमा पानी छाड्ने स्विच थिच्न काठमाडौंदेखि तीन मन्त्री मेलम्ची पुगेका हुन् ।

पहिला खानेपानीमन्त्री थापाले कन्ट्रोल कक्षको स्विच थिचे । पछि दुई मन्त्रीले पनि स्विच थिचेरै उद्घाटनको औपचारिकता पूरा गरे ।

अस्थायी डाइभर्सनबाट सुरुङ मुख्य गेटसम्म २ सय ७० मिटरमा पानी पठाउन तयार पारिएको स्विच थिच्न मन्त्रीहरूबीच ठेलमठेलझैं देखियो । तीन मन्त्री मात्र होइन पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले पनि स्विच थिच्न बिर्सिएनन् । राजधानीसँग जोड्ने साढे २६ किलोमिटरको मुख्य सुरुङमार्गमा पानी हालेर पुनः परीक्षण सुरु गरिएको हो । बाँध फुट्ने डरले थोरै दूरीमा मात्र पानी पठाइएको हो । यो पहिलो परीक्षण भने होइन । गत असार २१ को पहिलो परीक्षण प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्विच थिचेरै गरेका थिए । तर सोमबारको कार्यक्रम हेर्दा पहिलो पटक नै उद्घाटन गरिएको भान हुन्थ्यो ।

पहिलो परीक्षण क्रममा हेलम्बु–१ अम्बाथानस्थित मुहानको मुख्य अडिट (‘जिरो चेनेज’ देखि ८ सय मिटर) मा पानी पठाइएको थियो । तर बाँधको ढोका फुटेपछि परीक्षण रोकियो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले स्वतन्त्र विज्ञको सल्लाहअनुरूप प्राविधिक तयारी सकेपछि पुनः परीक्षण गरिएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथानमा सोमबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण गरिँदै तस्बिर : केशव थापा/कान्तिपुर

सुरुवाती चरणमा दैनिक १७ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण सकेको र हेडवर्क्सस्थलको संरचनालाई अन्तिम चरणमा पुर्‍याइसकेको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए । ‘हाललाई हेडवर्क्सस्थलभन्दा सय मिटरमाथिको अस्थायी बाँध जिरो चेनेजबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी पठाइएको छ,’ उनले भने, ‘अन्तरिम व्यवस्थाअन्तर्गत पूरा पानी प्रवाह हुने भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौं पुग्नेछ ।’

गत असार २१ बाट परीक्षण सुरु गरिएकोमा असार ३० गते गेट नम्बर १७ पानीको वेगले फुट्दा एक इन्जिनियर र चालकलाई बगाएको थियो । घटनापछि मुख्य दातृ निकाय एसियाली बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले संरचनाको अध्ययन गर्दै प्रतिवेदन तयार गरेको थियो ।

खानेपानीमन्त्री थापाले आयोजना अन्तिम चरणमा रहेकाले काठमाडौंका जनताले छिट्टै पानी पाउने दाबी गरे । ‘प्रधानमन्त्रीज्यूले पनि गौरवका आयोजना आफ्नै कार्यकालमा सफल गर्छु भन्ने दृढ इच्छा राख्नुभएको छ,’ उनले भने, ‘हाम्रो पार्टीमा विवाद नहुँदासम्म त्यस खालको इच्छा थियो, अहिले पनि उहाँको सोच केही न केही नयाँ गरेर जाने भन्ने नै छ ।’

आयोजना आर्थिक वर्ष २०५५/५६ बाट सुरु भएको हो । अहिले परीक्षणका लागि मापदण्डअनुरूप प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले सुरुङमा पानी पठाइएको छ भने सुरुङ भरिन करिब १६ दिन लाग्ने प्राविधिक अनुमान छ । ‘पानी परीक्षण अवधि करिब चार महिनाको हुनेछ, त्यसमा सुरुङका लागि दुई महिना,’ कार्यकारी निर्देशक खत्रीले भने, ‘त्यो सफल भएपछि दुई महिना प्रशोधन, पाइपलाइन जस्ता अन्य परीक्षण अवधि सकेर पानी राजधानी पुग्नेछ ।’

मेलम्चीदेखि सुन्दरीजलसम्म साढे २६ किमिमा क्षमताअनुरूप सबै पानी छाडिएको छैन । दैनिक १७ करोड लिटर पानी ल्याउने सुरुङ क्षमता ६ हजार लिटर प्रतिसेकेन्ड (६ क्युबिक मिटर प्रतिसेकेन्ड) छ । पहिलो चरणमा त्यसको ३ प्रतिशत वा २ सय ६० लिटर प्रतिसेकेन्ड पठाइनेछ । यांग्री र लार्के खोलाको पानी ९ किमि सुरुङ खनेर हालकै मुहानमा मिसाउने योजना पनि रहेको खत्रीले बताए ।कान्तिपुर  दैनिकमा  खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …