तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटलमा लिन थालेको छ। कागजमा परीक्षा लिने पद्धति फेर्दै झन्डै दुई दशकपछि कम्प्युटरमा आधारित परीक्षा लिन थालिएको हो। यो व्यवस्थाले स्नातक तहसरहको  एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सकलाई लाइसेन्स परीक्षामा सहज भएको छ।

यस परीक्षामा कुनै प्रश्नको उत्तर लेख्न छुट्ने पो हो कि भन्ने चिन्ता लिनुपर्दैन। कुनै प्रश्नको उत्तर लेख्न बाँकी रहे कम्प्युटरले सचेत गराउँछ। उत्तर लेखेको केही बेरपछि पुनः सच्याउन पनि सकिन्छ।

‘पहिलेको कागजी परीक्षामा उत्तर भर्दा धेरै त्रुटि हुने सम्भावना हुन्थ्यो। एकपटक लगाएको उत्तर चिह्न सच्याउन मिल्दैनथ्यो। अब उत्तरमा पुनः फेरबदल गर्न मिल्छ। दुई ठाउँमा उत्तर लेख्न मिल्दैन। दुई ठाउँमा उत्तर लेख्न खोजे कम्प्युटरले मान्दैन’, काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘फोटो, नाम र कतिवटा उत्तर भयो। कतिवटा बाँकी छन्। बुझाउनअघि नै कम्प्युटरले सचेत गराउँछ। तीन महिनाअघिको विशेषज्ञ परीक्षादेखि पुरानो शैली फेरियो।’

कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै लकडाउनका कारण दर्ता प्रमाणपत्र र विशेषज्ञ चिकित्सकको परीक्षा केही महिना स्थगन भएको थियो। ‘अब कम्प्युटरमा आधारित रहेर परीक्षा लिनुपर्ने सोच आयो’, काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामाले भनिन्, ‘तीन महिनाअघि लिइएको विशेषज्ञ परीक्षामा पहिलो पटक ट्रायलका रूपमा प्रयोग गरियो।’

परीक्षा हलमा प्रवेश गर्नुपूर्व बायोमेट्रिक हाजिरी गर्नुपर्छ। परीक्षार्थीले तोकिएको स्थानमा बसी नाम र पासवर्ड कम्प्युटरमा प्रविष्टि गर्नुपर्छ। त्यसपछि मात्र  निर्देशिकासहित प्रश्नपत्र देखिनेछन्। कम्प्युटर मनिटरमा परीक्षार्थीको फोटो, रोल नम्बर, परीक्षाको समय, उत्तर दिएको संख्या र उत्तर बाँकी संख्या निरन्तर देखिनेछ।   

स्नातक तहको परीक्षामा हरेक प्रश्नका चारवटा वैकल्पिक उत्तर हुन्छन्। त्यसमध्ये उपयुक्त एक उत्तरमा चिह्न लगाउनुपर्छ। ‘कुनै एक उत्तरमा चिह्न लगाएको शंका लागे उत्तर परिवर्तन गर्न पाइन्छ’, रजिस्ट्रार डा. अधिकारीले भने, ‘एकपटक लेखिसकेको उत्तरलाई पुनः संशोधन गर्न सकिन्छ। नमिलेको उत्तरको नकारात्मक अंक हुनेछैन।’

कुनै प्रश्नको उत्तर दिन छुटेको रहेछ भने पनि त्यसको जानकारी कम्प्युटरको मनिटरमा देखिनेछ। छुटेका प्रश्नको उत्तर पुनः दिन पाइनेछ। आफूलाई चित्त बुझेपछि मात्र अन्ततः उत्तर प्रविष्ट (सब्मिट) गर्न सकिनेछ। कुनै कारणवश कम्प्युटर बन्द भए वा काम नगरे अर्को कम्प्युटरको व्यवस्था गरिनेछ। प्राविधिक कारणले ह्रास हुन गएको समय थपिने काउन्सिलले जनाएको छ।

‘कुन प्रश्नपत्र परीक्षार्थीले कति खेर चिह्न लगायो  र कुन प्रश्नमा कति नम्बर आएको छ भन्ने तत्कालै हेर्न सकिन्छ’, डा. अधिकारीले भने । सबै परीक्षा सकिएपछि मात्र नतिजा प्रकाशन गरिने काउन्सिलले जनाएको छ।

काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले कम्प्युटरमा आधारित परीक्षाले न्यूनतम आवश्यकीय सीपको परीक्षण गर्न सहज भएको बताए। ‘उत्तरपुस्तिका सैद्धान्तिक ज्ञानलाई जाँचबुझ गर्न सकिन्थ्यो। अब डाक्टर दर्ता परीक्षा डिजिटलमा प्रवेश गरेको छ’, अध्यक्ष डा. कोइरालाले भने, ‘यसले परीक्षालाई व्यवस्थित बनाउन, त्रुटिरहित गराउन, शीघ्र नतिजा निकाल्न सहज भएको छ। सीप परीक्षण गर्न मद्दत पुगेको छ।’ 

ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा आइतबार सुरु एमबीबीएसको दर्ता परीक्षामा १ हजार १ सय ७४ जना सहभागी छन्। बीडीएसतर्फ २ सय १० जना सहभागी भएको काउन्सिलले जनाएको छ। बीडीएसको दर्ता प्रमाणपत्र परीक्षा अन्तिम दिन मंगलबार हुँदै छ।अन्नपूर्णपोस्ट दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …