तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भरतपुर । सुकुम्वासी र भूमिहीनको समस्या समाधान गर्न देशभर तीव्ररुपमा लगत सङ्कलनको काम भइरहेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति चितवनको कार्यालयको आज उद्घाटन गर्दै भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले अर्को वर्षसम्म सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको बताउनुभयो ।

विगतमा जिल्ला तहमा हुने गरेको काम यसपटक स्थानीय तहलाई जिम्मा दिइएको उहाँले बताउनुभयो । “देशभर १३ लाख सुकुम्बासी, अव्यवस्थित होलान् भन्ने अनुमान गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर पछिल्लो अवस्था हेर्दा यो सङ्ख्या बढ्ने देखिएको छ ।” देशभर अव्यवस्थितको सङ्ख्या सबैभन्दा धेरै देखिएको उहाँले बताउनुभयो ।

लगत सङ्कलनपछि स्थानीय तहले गरेको सिफारिसका आधारमा आयोगले वास्तविक सुकुम्बासीको सूचीकृत गर्दै लालपुर्जा वितरण गर्ने ज्ञवालीले बताउनुभयो । उहाँले जनप्रतिनिधि नै सहभागी भएर प्रक्रिया पूरा हुने भएकाले यसपटक विगतमा जस्तो धोका नहुने दाबी गर्नुभयो । “विगतमा सुकुम्बासीलाई आश्वासन मात्र दिने गरिएको भन्दै ज्ञवालीले भन्नुभयो, “यसपालि हामी कानूनीरुपमा बलियो भएका छौँ, अब धमाधम काम अघि बढ्छ ।

पहिले भूमि सुधार तथा व्यवस्था ऐनमा आयोग उल्लेख नभएकामा यसपटक धेरै प्रयासपछि ऐनमै आयोग उल्लेख भएको छ भने नियमावलीसमेत बनिसकेको छ । विगतमा कानूनको जटिलताका कारण आयोगको काम रोकिएकाले यसपटक ऐन संशोधनका लागि अढाई वर्ष लाग्यो, आठवटा कार्यविधि करीब टुङ्ग्याइसकिएको बताइएको छ ।

आयोगलाई काम गर्न नदिन भूमाफियाहरु सक्रिय भएको भन्दै अध्यक्ष ज्ञवालीले सबै मिलेर भूमाफियालाई परास्त गर्नुपर्ने बताउनुभयो । सुकुम्बासी र भूमिहीनका नाममा कसैले झुक्याएर सिफारिस गरेको र लिएको खण्डमा कारवाही हुने ज्ञवालीको भनाइ छ । “स्थानीय ४६७ पालिकासँग कार्यसम्पादन समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छौँ, ७७ जिल्लामा काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाली जनताले गरेको अपेक्षाअनुसार नै निश्चित विधि, प्रक्रियामा रहेर भूमि समस्याका कार्यहरु सफलताका साथ सम्पन्न गर्न जिल्ला समन्वय समितिलाई सफलता प्राप्त हुने विश्वास गरिएको छ । सार्वजनिक जमीनलाई सदुपयोग गर्नु पनि अहिलेको ठूलो चुनौती र आवश्यक रहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष यादव पाठकले स्थानीय पालिकाहरुले गरिरहेको लगत सङ्कलनको कामको अनुगमन निरन्तर गरिरहने बताउनुभयो । उहाँले कार्यालय भर्खर स्थापना भए पनि नियुक्ति लिएको दिनदेखि नै काम गरिरहेको जानकारी दिनुभयो ।

आयोगको योजनाअनुसार काम सम्पन्न गर्न वडास्तरदेखि नै सबै जिम्मेवार बन्नुपर्ने जोड दिइएको छ । जिल्ला समन्वय समिति चितवनको भवनभित्रै आयोगको जिल्ला कार्यालय स्थापना गरिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायतले पनि भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान खोज्नु पर्नेमा जोड दिनुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …