तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालकै ठूलो जिल्ला डोल्पा । अघिल्लो वर्ष डोल्पोबुद्ध गाउँपालिकामा ‘एक–एक पाइला नेपाल’ले गरेको बृहत् स्वास्थ्य शिविरमा परीक्षण गराउने ३४३ मध्ये ७० जनामा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिएको थियो । यस्तै, एक जनामा एचआईभी र तीन जनामा हेपाटाइटिस सी भेटिएको डा मेलिना हमालले बताए ।

वीर अस्पतालका वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसीले शिविरमा जाँच गराएका ३० प्रतिशतमा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिनुले समस्या विकराल नै भएको जानकारी उतिबेला नै दिएका थिए ।  तिब्बतीयनसँगको हेलमेलका कारण यो रोग भित्रिएको बताउँदै बच्चा जन्मनेबित्तिकै लगाइने ‘हेपाटाइटिस बी’विरुद्धको खोप नलगाइनुले पनि प्रकोप बढ्दै गएको उनको भनाइ थियो ।

‘हेपाटाइटिस बी’ सङ्क्रमितलाई रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले जानकारी दिएका थिए । उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुन्डोलगायत गाउँमा यो रोगका मानिस रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए । सोमबार मात्र छार्का ताङसोङ गाउँपालिका–१ का ४५ वर्षीय कार्मा गुरुङ र टोक्कार गुरुङ गरी दुई जनालाई हेपाटाइटिस बीकै कारण थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँं लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । हेलिकोप्टरबाट बिरामी लिँदा स्थानीयको रु पाँच लाखभन्दा बढी खर्च भएको छ । चिकित्सकले उपल्लो डोल्पामा हेपाटाइटिस बीबारेमा जानकारी दिँदादिँदै सरोकारवाला निकाय मौन हुँदा यहाँका नागरिक थप समस्यामा पर्ने निश्चित भएको डा मेलिना हमालले जानकारी दिइन् ।

अघिल्लो वर्ष बृहत स्वास्थ्य शिविरका लागि शे–फोक्सुण्डो गाउँपालिकाले बजेट विनियोजन गरे पनि सो शिविर गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताए । उनका अनुसार यो आर्थिक वर्षमा पनि रु २५ लाख शिविरका लागि छुट्याएको छ । अहिले हिमपात भएका कारण रोकिएको बताउँदै न्यौपानेले भने, “चैत महिनासम्म बृहत् शिविर राखेर उपचारका लागि काम थालिने छ, हेपाटाइटिसका विषयमा छलफल भइरहेको छ ।” त्यस्तै हेपटाइटिस बीबाट जोगिनका लागि डोल्पोबुद्ध गाउँपालिकाले आफ्नै लगानीमा दुईपटक खोप लगाउने काम भएको र अब तेस्रोपटक लगाउँदै गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्गेनीले जानकारी दिए । गाउँपालिकाले वैशाखमा बृहत् स्वास्थ्य शिविर राख्नका लागि पहल शुरु गरेको अधिकृत पङ्गेनीले बताए ।

स्थानीय तहले हेपाटाइटिस बीविरुद्ध केही पहल गरे पनि प्रदेश र सङ्घीय सरकारको तर्फबाट पहल नभएको जनप्रतिनिधिले गुनासो गरेका छन् । पाँच महिनाभन्दा लामो समयसम्म उपल्लो डोल्पाका बालबालिकाले कुनै खोपसमेत नपाउने गरेको जनप्रतिनिधिले नै बताएका छन् ।

छार्का ताङसोङ गाउँपालिकामा हेपाटाइटिस बीबाट जोगिनका लागि कुनै पनि बजेट व्यवस्थापन नगरेको र योजना पनि नभएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जानकारी दिए । उहाँका अनुसार हेपाटाइटिस बी रहेको जानकारी भए पनि खास रोकथामका लागि पहल केही नभएको अवस्था छ । ‘हेपाटाइटिस बी’ रोगको विषयमा सर्वसाधारणलाई मात्रै होइन, स्वयंसेविकालाई पनि जानकारी छैन । यो कस्तो रोग हो ? यो रोग लागे के हुन्छ ? कसरी लाग्छ ? कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थोरै मात्रै जानकारी भएको स्वयंसेविका याङ्की गुरुङको भनाइ छ । गाउँमा ‘हेपाटाइटिस बी’को अवस्था विकराल भएको जानकारी पाउँदापाउँदै पनि स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको उनले बताए ।

प्रत्येक वर्ष ‘हेपाटाइटिस बी’को सङ्क्रमण बढ्दै जाँदा स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको सर्वसाधारणको भनाइ छ । प्राणघातक रोगले गाउँ नै थला पर्ने अवस्थामा पुग्दासमेत न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम हुन नसकेको स्थानीयवासी बताउँछन् । बिरामी भएमा उपचारका लागि हेलिकोप्टर भाडामा लिएर अस्पतालसम्म पुग्नुपर्ने उपल्लो डोल्पाको बाध्यता रहेको छ ।

दिनप्रतिदिन ‘हेपाटाइटिस बी’को सङ्क्रमण बढ्दै जान थालेपछि उपल्लो डोल्पामा विभिन्न देशबाट आउने पर्यटकसमेत क्रसित हुन थालेका छन् । यो रोग फैलिएको जानकारी पाएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आउन थालेको पर्यटन व्यवसायीको भनाइ छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …