तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। नेकपाका दुवै समूहले सत्ता, सडक र निर्वाचनसम्ममा सहकार्य गर्न प्रस्ताव राख्दै आए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले अझै केही समय ‘पर्ख र हेर’ कै अवस्थामा पार्टीलाई राख्ने मनस्थिति बनाएका छन् । औपचारिक रूपमा विभाजन नभएसम्म नेकपाको एउटा नेतृत्वलाई विस्थापित गरेर अर्को नेतृत्वलाई स्थापित गर्ने एजेन्डामा कांग्रेस सहयोगी हुन नमिल्ने देउवाको भनाइ छ ।

निर्वाचन वा प्रतिनिधिसभा पुनःस्थापना जुन मोर्चामा कांग्रेस उभिन्छ, त्यसैको पक्षमा पल्लाभारी हुन सक्ने बुझाइ नेकपाका दुवै समूहका नेताहरूमा छ । नेकपाको विभाजनले केन्द्रमा मात्रै नभई प्रदेश सरकारमा पनि कांग्रेस निर्णायक देखिएको छ । प्रदेश १ र वाग्मतीमा नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले केपी शर्मा ओली पक्षीय मुख्यमन्त्री क्रमशः शेरधन राई र डोरमणि पौडेललाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ ।

ओली पक्षकै मुख्यमन्त्री गण्डकीका पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल नेतृत्वको सरकार पनि धरमरमा छ । एक/दुई सांसद मात्रै तलमाथि रहेका यी प्रदेशमा दाहाल–नेपाल पक्षले कांग्रेसको निर्णय पर्खेको छ ।

प्रदेश १ मा माघ ७ गतेका लागि प्रदेशसभाको बैठक आह्वान भइसकेको छ । दुवै प्रदेशमा सरकार जोगाउन ओली र परिवर्तन गर्न दाहाल–नेपाल समूहले नै कांग्रेसकै साथ खोजिरहेका छन् ।

कांग्रेस नेता रामशरण महतले औपचारिक रूपमा नेकपा विभाजन भइनसकेकाले प्रदेशमा पनि कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे पार्टीको एउटै नीति बन्न नसक्ने बताए । ‘पार्टी विभाजन भएको भए यो दलसँग मिलेर सरकार बनाउने भन्ने हुन्थ्यो । त्यस्तै स्थिति अहिले छैन,’ उनले भने, ‘स्थानीय अवस्था र पार्टीको हितलाई केन्द्रमा राखेर निर्णय लिन्छौं ।’ सहमहामन्त्री प्रकाशशरण महतको धारणा पनि त्यस्तै छ । ‘नेकपाका दुवै समूह उस्तै हुन्, मुख्य कुरा पार्टीको हित र स्थानीय आवश्यकतालाई हेर्ने हो,’ उनले भने, ‘त्यही आधारमा छलफल हुन्छ, समय आएपछि पार्टीले निर्णय लिन्छ ।’

जुन पक्षले कांग्रेसलाई आकर्षक प्रस्ताव ल्याउँछ, उसैलाई साथ दिन सक्ने संकेतसमेत कांग्रेस नेताहरूले गरिरहेका छन् । कांग्रेस नेता रमेश लेखकले अविश्वासको प्रस्ताव परिपक्वता र त्यसमाथिको छलफलले अझै लामै समय लिन सक्ने भएकाले अहिल्यै निर्णयमा पुगिहाल्न नहुने बताए । ‘अलग–अलग दृष्टिकोणभन्दा सकभर एउटै दृष्टिकोण बनाउँदा राम्रो हुन्छ, त्यसका लागि अहिल्यै निर्णयमा पुगिहाल्नु अपरिपक्व हुन्छ,’ उनले भने, ‘दुवैको तानातानमा हामी फस्नु हुन्न ।’ कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले खबर लेखेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …