तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ ।

काँग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो । कोभिड–१९ कारण कार्यतालिकाअनुसारको क्रियाशीय सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ । पार्टीको क्रियाशीय सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित हुने निश्चित छ ।

सोही कारण यही मङ्सिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ । काँग्रेसको विधानअनुसार आगामी फागुन २० गतेसम्म १४औँ महाधिवेशन उद्घाटन गरिसक्नुपर्छ । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारणस्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउनसक्ने उल्लेख छ ।

काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो । काँग्रेसले कोभिड–१९ को वर्तमान विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर महाधिवेशनको मिति सार्ने जनाएको छ । नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ ।

साथै विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधापर्ने छैन् भनी उल्लेख छ । काँग्रेस सहमहान्त्री डा प्रकाशशरण महतले पनि फागुनमा महाधिवेशन गर्न कठिन देखिएको उल्लेख गर्दै भने, “मङ्सिरभित्र क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउने भनेको हो, केही ठाउँबाट त आउला, तर सबै ठाउँमा सम्पन्न हुन कठिन देखिरहेको छु ।”

उनले मङ्सिरसम्ममा क्रियाशील सदस्यताको विवरण आएपछि केन्द्रीय समिति बैठकमा समीक्षा हुने र फागुनमा महाधिवेशन हुने नहुने सम्बन्धमा निर्णय गरिने बताए । महाविधेशन कार्यतालिकाअनुसार काँग्रेसले गत साउन १० गतेभित्र समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजना गरिसक्नुपर्ने र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावली अन्तिम सूची मङ्सिर मसान्तभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि तोकेको थियो ।

दुवै कार्यको निर्धारित मिति प्रभावित भइसकेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले हालसम्म कुनैपनि जिल्लाको क्रियाशील सदस्यता विवरण केन्द्रमा आइनसकेकाले आगामी फागुनमा महाधिवशेन सम्भव नभएको बताए । फागुनमा महाधिवेशन गर्न पुसमा जिल्ला अधिवेशन सक्नुपर्ने बताउँदै उनले महाधिवेशन मिति संशोधन गर्ने सम्बन्धमा केन्द्रीय समितिको आगामी बैठकमा छलफल हुने जानकारी दिए ।

उनले भने, “सभापतिलाई महाधिवेशन छिटो गर्नुस् भनेका छौं, आगामी वर्षायाम अघि नै टुङ्ग्याउनुपर्छ ।” हालको महाधिवेशन कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी पुस ६ गते, गाउँ/नगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते गरिसक्नुपर्छ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्नुपर्ने हुन्छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरु निर्धारित समयमै महाविधेशन गराउन पहल गरिरहेको उल्लेख गर्दै क्रियाशील सदस्यताको कामले ढिला गराउन लागेको आरोप लगाए । साथै उनले जिल्ला कार्यसमितिलाई क्रियाशील सदस्यता कार्य सम्पन्न गरेर चाँडै विवरण पठाउन भनिरहेको र सो विवरण आएपछि थप निर्णय हुने जानकारी दिए ।

काँग्रेसले महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको भएपनि हालसम्म कुनैपनि जिल्लाबाट विवरण नआएको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । गत कात्तिक २८ गतेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मङ्सिर २ गते निर्देशन गरिएको थियो ।

काँग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता सङ्ख्या हाल करिब पाँच लाख छन् । केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो सङ्ख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ । क्रियाशीय सदस्यता नवीकरणका लागि २०० र नयाँका लागि ३०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यसैगरी पार्टीको जिल्ला समायोजन कार्य सप्तरी, बारा र सिन्धुपाल्चोकमा अझै बाँकी रहेको बताउँदै सचिव रिजालले समायोजन कार्य केही दिनमै सकिने जानकारी दिए । काँग्रेसमा गाभिएका विभिन्न राजनीतिक दलको समायोजन पनि अझै बाँकी छ । त्यस्ता दलसँगको क्रियाशील सदस्यता र साङ्गठनिक पद समायोजनको काम अन्तिमचरणमा पुगेको पार्टी कार्यालयले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …