तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

डा. कुन्दन अर्याल

समाज र प्रविधिबीचको अन्तरसम्बन्ध, खासगरी सञ्चार प्रविधि र विभिन्न चरणका मानव समाजबीचको सम्बन्धका बारेमा व्यापक प्राज्ञिक अध्ययनहरू हुँदै आएका छन् । यस विषयमा क्यानेडियन विद्वान् मार्सल मक्लुहान वा बेलायती माक्र्सवादी चिन्तक रेमन्ड विलियम्सदेखि कैयौँ अध्येताका विश्लेषणहरू उल्लेखनीय छन् । मक्लुहानले छापायन्त्रको विकासले मानव सभ्यतालाई कसरी नयाँ चरणमा प्रवेश गरायो भन्ने विषयमा विस्तारपूर्वक अध्ययन गरेका छन् ।

मध्य पन्ध्रौँ शताब्दीमा जर्मनीमा गुटेनवर्गले स्थापना गरेको छापायन्त्र वस्तुतः पश्चिमा समाजमा प्राज्ञिक उन्नयन, विचार र बहसको विस्तार गर्न युगान्तकारी साधन थियो भन्ने उनको विश्लेषण छ । उनी त गुटेनवर्ग प्रेसले विचार, पक्षधरता वा प्राज्ञिक चिन्तनको बेग्लै ब्रह्माण्ड सिर्जना गरेको ठान्छन् । विलियम्सले भने खासगरी बेलायतमा टेलिभिजन प्रसारणको सुरुवातको चर्चा गर्दै प्रविधि र समाजबीचको अन्तरसम्बन्धका दुईवटा अवधारणाको समीक्षा गरेका छन् ।

कुनै समाजमा प्रविधिको आवश्यकता महसुस भएपछि त्यसको विकास हुन्छ कि प्रविधि स्वतन्त्र रूपले विकसित हुँदै समयक्रममा त्यसले समाजको रूपान्तरण गर्छ ? उनले दुवै प्रश्नका विषयमा विस्तारपूवर्क चर्चा गर्न सुरु गर्नुभन्दा अघि एउटा साझा निष्कर्ष प्रस्तुत गरेका छन् । उनको निष्कर्ष छ, टेलिभिजनले विश्वभरको मानव समाजको रूपान्तरण गरेको छ । प्रविधिले समाजलाई डो¥याउँछ कि समाजले प्रविधिको आवश्यकता बोध गरेपछि त्यहीअनुसारको प्रविधिको विकास गर्छ ? यस्तो प्रश्नमा घोत्लिनुअघिको उनी दुवै निचोडलाई सूत्रबद्ध गर्न सकिन्छ भन्छन्, जेसुकै भने पनि प्रविधिले मानव समाजलाई रूपान्तरित गर्दै लगेको छ ।

विश्वका विभिन्न मुलुकको अवस्थाको विश्लेषण गरे पनि विश्वको एउटा भू–भाग नेपालमै बसेर अवलोकन गरे पनि देखिने सत्य उही हो, प्रविधिले मानव समाजमा ठूलो परिवर्तन ल्याइदिएको छ । आम रूपमा प्रविधिले समाजलाई अग्रगमनतर्फ डो¥याउँछ । नयाँ–नयाँ प्रविधिले मानिसलाई आफ्नो वरिपरिको परिवेशउपर नियन्त्रण कायम गर्न मद्दत गर्छ वा मानिसको क्षमताको विस्तार गरिदिन्छ । यस दृष्टिकोणले हेर्दा, इन्टरनेटले संसारभरका मानिसको क्षमताको विस्तार गरेको छ । आधारभूत रूपमा सञ्चारको यस माध्यमले अर्थ, राजनीतिक र समाजका यावत् आयाममा उथलपुथल मच्याउँदै आएको छ । नेपालमा पनि अहिले यसको प्रयोग, फाइदा र दुरुपयोग वा बेफाइदाका सम्बन्धमा समेत चर्चा–परिचर्चा भइरहेको छ ।

प्रख्यात अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले भर्खरै बारक रिचम्यान र आशिक गोयलसँग मिलेर लोकतन्त्रलाई प्रविधिसँग कसरी जोगाउने भन्ने विषयमा विस्तृत धारणा प्रस्तुत गरेका छन् । विकसित राष्ट्रहरू खासगरी संयुक्त राज्य अमेरिकाको सन्दर्भमा विकसित प्रविधिको सूचना आधिपत्य बढ्दै गएको परिप्रेक्ष्यमा यी विद्वान्हरूको चिन्ता स्वाभाविक छ । उनीहरूको विचारमा अमेरिकी अर्थतन्त्रमा देखापरेका परिवर्तनहरूमध्ये सबैभन्दा मुख्य इन्टरनेटका विशाल प्लेटफर्महरू नै हुन् । उनीहरूको अवलोकनमा अमेजन, एप्पल, फेसबुक, गुगल र ट्वीटर कोभिड–१९ को महामारीभन्दा पहिले नै शक्तिशाली थिए ।

तर, मानिसका दैनिक जीवन मूलतः अनलाइनबाटै चल्ने आजको परिवेशमा तिनीहरूमाथिको निर्भरता झन् बढेको छ । प्रविधि सहज भएका कारण सम्बन्धित कम्पनीहरू आर्थिक शक्तिका दृष्टिले मात्र शक्तिशाली हुन पुगेका छैनन्, राजनीतिक सञ्चारउपर तिनीहरूको नियन्त्रण पनि उत्तिकै उल्लेखनीय छ ।

यी विशाल र व्यापक नेटवर्कहरू आज सूचनाको प्रसार र वितरणको मात्र नियन्त्रण गरिरहेका छैनन्, राजनीतिक परिचालनसमेत गरिरहेका छन् । जसले गर्दा सुसञ्चालित लोकतन्त्रका सामु अनौठो किसिमको चुनौती देखापरेको छ । फकुयामा र साथीहरूले यही परिवेशमा अमेरिकी सन्दर्भमा बिग टेकका आधिपत्यबाट लोकतन्त्रलाई कसरी जोगाउने भन्ने विषयमा विमर्श अघि बढाएका हुन् । तर, यो प्रश्न ढिलो चाँडो विश्वभर नै छलफलको ठूलो विषयका रूपमा अगाडि आउने प्रस्टै देखिन्छ । किनकि बिग टेक कम्पनीहरूले लोकतन्त्रका आधारभूत मान्यताहरूविरुद्ध चुनौती तेस्र्याउन थालेको कुरामा मतैक्य बढ्दो छ ।

त्यस्तो चुनौतीको सामना कसरी गर्ने भन्ने विषयमा मात्र मतभेदहरू रहेका देखिन्छन् । अमेरिकी सन्दर्भमै भन्ने हो भने कतिपयले अब फेसबुक र गुगललाई टुक्र्याउनुपर्छ भन्ने तर्क अघि सारेका छन् । कतिपयका विचारमा यी कम्पनीहरूउपर तथ्याङ्कहरूको प्रयोगमा नियन्त्रण लगाउन जरुरी छ । तथ्याङ्कको विशाल भण्डार र सञ्जाल नै शक्ति आर्जनका मूल आधार हुन् भन्ने विषयमा भने दुवै थरीको एकमत देखिन्छ ।

समाजशास्त्र र सञ्चारका डच प्राध्यापक भान डाइकको विचारमा केही वर्षयता इन्टरनेट प्रयोग र राजनीतिको अन्तरसम्बन्धमा केही उल्लेखनीय परिवर्तन आएको छ । उनी नयाँ सहश्राब्दीमा प्रवेश गर्दै गर्दा इन्टरनेटको प्रचलनसँगै राजनीतिक सूचनाको पुनर्प्रयोग सहज हुने विश्वास गरिएको स्मरण गर्छन् । वास्तवमा त्यसबेला इन्टरनेटलाई सार्वजनिक स्मृतिको अथाह भण्डारका रूपमा समेत ग्रहण गरिएको थियो । इन्टरनेटबाट सार्वजनिक सूचना र बहसमा स्तरोन्नति हुने ।

समुदाय निर्माण वा राजनीतिक निर्णय प्रक्रियामा आमनागरिकको सहभागिताको अभिवृद्धि हुनेजस्ता कैयन् अपेक्षाका साथ डिजिटल सञ्चारले अनगिन्ती सकारात्मक प्रभाव उत्पन्न गर्नेछ भन्ने विश्वास गरिएको थियो । अपेक्षाकृत रूपमा कैयन सकारात्मक प्रभावहरू देखिएका छन् । तर, मिथ्या समाचार वा राजनीतिसँग जोडिएका अन्य गलत सूचनाका कारण यसको बदनाम पनि हुँदै आएको छ, दुरुपयोग पनि हुँदै आएको छ । व्यक्तिको गरिमाउपर प्रहार गर्न पनि यसको दुरुपयोग गरिएको छ । निर्वाध बहसलाई निरुत्साहित गर्नेगरी अमार्दित ढङ्गले यसको प्रयोग गरिएको पनि देखिएको छ ।

त्यसैगरी, उग्रपन्थी र सशस्त्र समूहद्वारा यसको व्यापक प्रयोग पनि उल्लेखनीय समस्याहरूकै पङ्तिमा पर्छ । चुनावलाई प्रभावित पार्न हानिकारक ह्याकरहरूको प्रयोग भएकोसमेत देखिएको छ, अभियानहरूमा यसको दुरुपयोग गरिएको छ । भ्रममै रमाइरहने वा जिद्दीपनाको विकास गराउने यसका गलत प्रभावकै कारण भान डाइकले पनि इको च्याम्बर र बौद्धिक एकाङ्कीपनाको अवस्था फिल्टर बबलको उल्लेख गरेका छन् ।

सारमा उनको राय छ– इन्टरनेटको राजनीतिसँगको अन्तरसम्बन्धका विषयमा आलोचनात्मक रूपमा पुनःमूल्याङ्कन गर्ने समय आइसकेको छ । नेपालमा इन्टरनेट वा यसमा आधारित सामाजिक सञ्जालहरूको प्रयोगको अवस्थाको अवलोकन गर्दा वा नेपालबाट संसारलाई नियाल्दा पनि भान डाइकको धारणा सान्दर्भिक देखिन्छ । यो कुरा पनि उत्तिकै सत्य हो, राजनीतिक सहभागिता र समावेशीकरणमा सूचना प्रविधिले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । हावरमासले परिकल्पना गरेको सबैले विनाकुनै भेदभाव निर्भीकतापूर्वक आफ्नो तर्क राख्न पाउने सार्वजनिक वृत्तको नयाँ संस्करणका रूपमा पनि इन्टरनेटकै उपज सामाजिक सञ्जालहरूलाई ग्रहण गरिँदै आएको छ । फेसबुक, ट्वीटरलगायतका सञ्जालहरू निरङ्कुशताविरुद्धको सङ्घर्षमा विश्वका कैयन भू–भागमा परम्परागत आमसञ्चार माध्यमका विकल्पका रूपमा देखापरेका छन् । इन्टरनेटलाई सुशासनका आधारका रूपमा समेत स्वीकार गरिएको छ ।

जर्मनी विद्वान् तथा चिन्तक एन्जेन्सवर्गरले इन्टरनेटको प्रयोग यति व्यापक हुनभन्दा केही वर्षपहिले नै भविष्यवाणी गरेका थिए, यस्तो दिन आउनेछ, जब आममानिस न्यु मिडियामा पूर्णतः निर्भर हुन बाध्य हुनेछन् । उनले नयाँ मिडियालाई लोकतान्त्रिक ठह¥याउँदै भनेका थिए, सामान्य प्राविधिक प्रक्रियाबाट यसमा जोसुकै सर्वसाधारण सहभागी हुन सक्छन् । त्यसैले आउँदो समयमा नयाँ मिडियाबाट आफूअनुकूल सूचना र मनोरञ्जन ग्रहण गर्ने प्रचलन निकै बढ्ने अनुमान उनले यो समय आउनुभन्दा पहिले नै गरेका थिए । उनले नयाँ मिडियालाई वास्तविक अर्थमा मास मिडिया भन्न मिल्ने तर्क अघि सारेका थिए ।

उनको विचारमा परम्परागत मास मिडिया त नाममात्रका आमसञ्चार हुन् । किनकि पहुँच र निर्वाध अभिव्यक्तिका दृष्टिले परम्परागत मिडिया सामाजिक सञ्जालभन्दा निकै पछाडि छन् । भान डाइकको धारणा उनको अवलोकन र आँकलनभन्दा धेरै फरक छैन । तर, भान डाइक लोकतन्त्रको विकास र सुदृढीकरणका लागि बितेका दुई दशकमा देखिएका सूचना प्रविधिका राजनीतिक महŒवपूर्ण भूमिकाका विषयमा सिलसिलाबद्ध चर्चा गर्दागर्दै पनि इन्टरनेटको प्रयोगका सम्बन्धमा आलोचनात्मक चेतलाई प्रोत्साहित गर्नुपर्ने धारणा राख्छन् ।

सञ्चारको पछिल्लो विकासका कारण भएको विश्वको रूपान्तरणका बारेमा साँच्चै गम्भीर समीक्षा गर्ने बेला भएको छ । अन्त पनि गर्दै जालान्, नेपालमा पनि यस विषयमा विमर्श अघि बढाउनुपर्छ । गोरखापत्र दैनिकमा खबर छ।

(लेखक केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …