तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको छ ।

अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको दस्तावेजमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगिन आरोप लगाइएको छ । यद्यपि ओलीले पनि आगामी १३ मंसिरमा बस्ने सचिवालय बैठकमा सो आरोपको खण्डनसहितको दस्तावेज तयार पार्ने गरी गृहकार्य अघि बढाएका छन् ।

दुवै पक्षले एक अर्कालाई पार्टी विभाजन गराउन खोजेको आरोप लगाउँदै आइरहेका छन् । दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेजबारे सचिवालयमै छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेज कार्यकर्ता तहमा लैजाँदा त्यसले गलत सन्देश दिने र पार्टी एकतामा नै गम्भीर धक्का लाग्न सक्ने ओली पक्षका नेताको दाबी छ । ओली पक्षका नेताले विधि र पद्धतिको चर्को आवाज उठाउनेहरूले नै विधि पद्धति मिचेर अराजकता मच्चाएको आरोप लगाएका छन् ।

अध्यक्ष प्रचण्डले सो दस्तावेजलाई किताबका रूपमा प्रकाशन गरी प्रदेश तथा जिल्ला तहमा पठाएपछि नेकपाभित्रको विवादले नयाँ रूप लिएको छ । अर्का अध्यक्षलाई आरोप नै आरोप लगाएर तयार पारिए पनि पुस्तकको नाम भने ‘पार्टी एकता र पार्टी निर्माणको आधार’ दिइएको छ । सो किताब देशव्यापी रूपमा वितरण गर्नुलाई पार्टीका नेताले पार्टी विभाजनको औपचारिक कदमका रूपमा चित्रण गर्न थालेका छन् ।

अराजकता र अनुशासनहीनताका कारण पार्टी विभाजनको खतरा बढेको आरोप  विधि र पद्धतिको कुरा गर्नेले नै पद्धति मिचेको निष्कर्ष

सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष प्रचण्ड पक्षको यस्तो कदमले पार्टीभित्र गरिएको सहमतिको प्रयासमा गम्भीर धक्का पुगेको बताएका छन् । ‘यसरी आफूखुसी पुस्तक निकालेर वितरण गर्ने कार्य अत्यन्तै गलत र आपत्तिजनक छ,’ पोखरेलले भने ।

ओली पक्ष नेताहरूले अध्यक्ष प्रचण्ड र नेपाल समूहले अनधिकृत रूपमा दस्तावेज छापेर तलसम्म पु¥याउने काम गर्नुले उनीहरू पार्टी फुटाउन उद्यत भएको पुष्टि हुने बताएका छन् । नेकपा संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सचिवालयमा छलफलकै क्रममा रहेको दस्तावेज बाहिर बाँड्नु गलत भएको बताए ।

पार्टीको विधि पद्धति भएको उल्लेख गर्दै नेम्वाङले भने, ‘अहिलेसम्मको चलनअनुसार पार्टीले निर्णय गरेर मात्रै दस्तावेजहरू प्रकाशन गर्ने र जुन तहसम्म लैजाने निर्णय भएको हो, त्यसैका आधारमा लैजानु पर्नेमा आफूखुसी प्रक्रिया मिचेर दस्तावेज प्रकाशन गरिएको छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डले कार्यकर्तामाझ पठाएको पुस्तक पार्टी एकता र पार्टी निर्माणको आधार नभई पार्टी विभाजन र सर्वनाशको आधार बन्न सक्ने चित्रण गरेका छन् । उनले प्रचण्डको सो अराजनीतिक दस्तावेजलाई अनधिकृत रूपमा कार्यकर्तासम्म पु-याएर पार्टीको विधि र पद्धतिको खिल्ली उडाउने काम गरिएको बताए ।

‘अहिलेसम्मको चलनअनुसार पार्टीले निर्णय गरेर मात्रै दस्तावेजहरू प्रकाशन गर्ने र जुन तहसम्म लैजाने निर्णय भएको हो, त्यसैका आधारमा लैजानु पर्नेमा आफूखुसी प्रक्रिया मिचेर दस्तावेज प्रकाशन गरिएको छ’

– नेम्वाङ

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले त्यसरी निर्णय नभएको विषय तल्लो तहसम्म पठाउनु उचित नभएको बताए । प्रचण्डपक्ष नेताहरूले भने दस्तावेजका विषय मिडियामार्फत सार्वजनिक भएकाले किताब निकालेर कार्यकर्तासमक्ष पु¥याउने कार्य सामान्य भएको बताएका छन् ।

पुस्तक छापियो तर केन्द्रीय कार्यालयका दुवै सचिव बेखबर

प्रचण्डले छापेको सो पुस्तकका बारेमा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजाल भने बेखबर रहेको पाइएको छ । उनीहरूले यस विषयमा आफूहरूलाई केही पनि थाहा नभएको बताएका छन् । ‘पार्टीको आधिकारिक दस्तावेज महासचिवद्वारा सचिव हुँदै तलसम्म पुग्नुपर्ने परिपाटी हो तर अहिले मैले पनि एकतर्फी रूपमा दस्तावेज प्रकाशित गरेर तलसम्म पु¥याइएको छ भन्ने सुनेको छु, यो विधानत गलत हो,’ कार्यालय सचिव रिजालले भने ।

‘लोगोको दुरुपयोग भयो’

पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुखसमेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय कार्यालय र पार्टीको लोगोको अनधिकृत प्रयोग भएको आरोप लगाए । उनले अध्यक्ष प्रचण्डले स्वेच्छाचारी रूपमा लोगोको दुरुपयोग गरेर सचिवालयमा प्रस्तुत अराजनीतिक दस्तावेज प्रिन्ट गर्दै देशव्यापी रूपमा वितरण गरिनु आपत्तिजनक भएको बताए । ‘पार्टीका केन्द्रीय सामग्रीको प्रकाशनको सन्दर्भमा हाम्रो पनि संलग्नता र सरोकार रहन्छ तर यसमा अहिलेसम्म कुनै जानकारी आएको छैन,’ थापाले राजधानीसँग भने ।

आम रूपमा पार्टी कमिटीमा छलफल भएर निस्किएको निष्कर्षलाई अन्तरपार्टी निर्देशिकामार्फत नेता कार्यकर्ताकहाँ पु¥याउने पार्टीको पद्धति र नियम हुन्छ । तर, नेकपामा शक्तिसंघर्ष उत्कर्षमा पुगिरहेको समयमा यस्ता सबै पद्धति र नियमहरूको ठाडो उल्लंघन भएको भन्दै आमकार्यकर्ताहरू निराश बनेका छन् । राजाधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …