तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा पहिलो पटक पुग्दा निकै अत्तालिएकी थिइन् उनी । बाहिर मान्छेको भीडजस्तै त्यहाँ शवको थुप्रो थियो ।

कति बीभत्स ! कति भयानक ! कसैको टाउको थिएन, कसैको खुट्टा त कसैको आँखा । तर त्यसको एक वर्षपछि भने उनलाई शवहरूसँग डर लाग्न छाडेको छ ।

उनी हुन् १९ वर्षीया सपना रोका मगर । उनी हरेक दिन पशुपति आर्यघाटमा बेवारिस शव जलाउँछिन् । यो काम उनले कुनै चर्चाका लागि गरेकी होइनन् । तर यही कर्मले उनलाई संसारमै चिनाइदिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको विश्वका प्रेरणादायी र प्रभावशाली सय महिलाको सूचीमा सपना पनि परेकी छन् ।

यो बेला सपना म्याग्दीस्थित घर पुगेकी छन् । काठमाडौंबाट १ जना पत्रकारले झिसमिसेमै फोन गरी यो खबर उनलाई सुनाए । तब उनी निःशब्द भइन् ।

‘निरन्तर आँसु मात्रै आयो । केही भन्नै सकिनँ । हामीले गरेको काम देख्ने कोही त रैछ जस्तो लाग्यो,’ सपनाले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘फेसबुक खोलेर हेरें जताततै मेरै समाचार थियो । अत्यन्तै खुशी लाग्यो । म्यासेज, फोन र बधाई त थामिनसक्नु पाइरहेकी रहेछु । नेपालका अग्रज, वरिष्ठ व्यक्तिहरूले पनि मेरो कामलाई बधाई दिँदै हौसला पठाउनु भएको रैछ ।’

उनले यो जिम्मवारी र सफलताले अरू कर्म गर्न थप प्रेरणा मिलेको बताइन् । ‘हाम्रो यो कर्मले नेपाललाई नै चिनाउन सफल भयो भन्ने लागेको छ । बुवाआमा सँगै हुनुहुन्छ । तिमी हाम्रो मात्रै छोरी हैन नेपालकी छोरी बन्यौ भनेर खुसी बन्नुभएको छ,’ उनले भनिन् ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आबद्ध भएर उनले मानवीय कर्म गरिरहेकी छन् । केन्द्रले हालसम्म ३०० भन्दा बढी बेवारिसे लास जलाइसकेको छ । आफन्त पहिचान नभएका शवबारे प्रहरी, सरकारी कार्यालय तथा अस्पतालले उनीहरूलाई खबर गर्छन् ।

‘बेवारिस मानिसलाई राज्यले हेर्नुपर्ने हो । तर हाम्रो सरकारले उनीहरूका लागि केही गरेको छैन । मजस्तो राम्रो परिवार र पढ्न सक्ने मानिस त कुनै समय सडकमा पुगेकी थिएँ । सडक सबैको साझा हो,’ उनले भनिन्, ‘विभिन्न कारणले भोलि जो पनि सडकमा पुग्न सक्छन् । सडकमा पुग्ने नागरिक नै हैनन् त ? बेवारिसे हो भन्दैमा उनीहरूले इज्जतसाथ जल्न पनि नपाउने ? बाटोघाटोमा कुहिएर मर्नुपर्ने स्थिति कसैको नहोस् भनेर यो कर्ममा लागेकी हुँ ।’

महिलाले दिएको दागबत्तीले आफूलाई चिनाएको उनको बुझाइ छ । ‘हुन त छोरी मान्छेले दागबत्ती दिन हुँदैन भन्ने समाज हो हाम्रो । मलामी जान हुन्न भनेर अझै पनि रोकिन्छ,’ उनले भनिन्, ‘आज छोरी मान्छेले दिएको दागबत्तीले मलाई चिनायो । यति पवित्र काम छोरीले गर्न किन नहुने भनेर देखाउन पनि केही गर्न जरुरी थियो ।’

विनयजंग बस्नेतसँगको भेटले यो कर्म गर्न हौसला दिएको उनको भनाइ छ । सपनाले बस्नेतलाई कर्मका बुवा मानेकी छन् । बस्नेतले ६ वर्षदेखि बेवारिसे शव जलाउँदै आएका छन् । सपनाले करीब १ वर्ष अवधिमा १०० भन्दा बढी शव जलाएकी छन् ।

‘अन्तिम संस्कारको अभावमा मरेका व्यक्तिको भड्किरहेको आत्मालाई शान्ति मिल्छ भन्ने आशामा धार्मिक विधिअनुसार दागबत्ती दिने गरिन्छ । हिन्दू धर्ममा दाहसंस्कार गरेपछि मात्रै मुक्ति मिल्छ भन्ने गरिन्छ,’ उनले भनिन्, ‘मरेका मानिसको आत्मालाई मुक्ति दिलाउनका लागि हामीले यो कर्म रोजेका हौं । बेवारिसे भएर कसैलाई मर्नु नपरोस् ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …