तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

घुन्सा (ताप्लेजुङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ । देशलाई अस्थिरतातर्फ धकेल्न चाहनेहरूले सरकारको विरोध र सरकार परिवर्तन हुन्छ भन्ने भ्रम फैलाइरहेका छन् भन्नुहुँदै उहाँले कुनै हालतमा वर्तमान सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले निराधार आरोप र भ्रम फैलाए पनि देशको विकास र प्रगतिमा सरकार दत्तचित्त भएर अगाडि बढ्ने बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र राष्ट्रको स्वाधीनता बचाउन सरकार सदैव लागिपरेको उल्लेख गर्नुभयो ।

ताप्लेजुङको सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको घुन्सामा घुन्सा फाउन्डेसनको पहलमा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “भ्रम र आरोपमा सरकार अलमल गर्दैन, विकासका लागि सरकार अग्रसर छ ।

सरकार र प्रधानमन्त्रीविरुद्ध पार्टीभित्रैबाट विभिन्न आरोप र भ्रमका खेती गरिए पनि त्यो निराधार आरोप मात्र भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले पार्टीभित्रै प्रधानमन्त्री र सरकारका विरुद्ध षड्यन्त्र रचिए पनि त्यसको सामना गर्न आपूm तयार रहेको बताउनुभयो । केही नेताबाट सरकारलाई असहयोग भए पनि देश र जनताको हितमा सरकार रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पश्चिमी भू–भाग लिपुलेक, लिम्पियाधुराजस्ता गुमेको वा छुटेको जमिनलाई फिर्ता लिने पहलस्वरूप नेपालको नक्सामा समेटेर स्वाधीन राष्ट्र निर्माणको कार्यमा वर्तमान सरकार अगाडि बढेको बताउनुभयो ।

देशभक्ति, राष्ट्रभक्ति तथा स्वाधीन नेपालका लागि सरकारले चालेको कदमलाई सफल बनाउन छिमेकी देश भारत र चीनसँगको मित्रतालाई कायम राख्ने सरकारले नीति लिएको जानकारी दिनुभयो । देशको स्थिरताको पक्षमा सरकार दत्तचित्त भई लागेको बताउनुहँुदै प्रधानमन्त्री ओलीले ढुक्क भएर विकास निर्माण, देशको उन्नति र प्रगतिको काममा लाग्न सबैलाई आग्रह पनि गर्नुभयो ।

यता फक्ताङ्लुङवासीले राखेको मागप्रति सरकारको ध्यानाकर्षण भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । टिपताला नाका जोड्ने ओलाङ्चुङगोला उत्तर दक्षिण लोकमार्गलाई कालोपत्रेसहित स्तरोन्नति गर्ने, कञ्चनजङ्घा पदमार्गलाई स्तरोन्नति गर्ने, इन्टरनेट सेवालाई फोरजी बनाउने लगायतका मागलाई पूरा गर्नका लागि सम्बन्धित मन्त्रालयमार्फत सरकारले पहल गर्ने उहाँले आश्वासन दिनुभयो ।

उहाँले नवनिर्मित सामुदायिक स्वास्थ्य एकाइ घुन्सालाई स्थायी गर्ने र पर्वतीय पर्यटकीय नमुना गाउँका रूपमा घुन्सालाई स्थापित गर्ने विषयमा सरकारको पहल रहने पनि बताउनुभयो । घुन्सा, खम्बाचेन, ग्याब्ला, आम्जिलेसा लगायतका हिमाली गाउँसम्म विद्युत् विस्तार गर्ने गरी घुन्सा माइक्रोहाइड्रो पावरलाई स्तरवृद्धि गर्ने स्थानीयको मागप्रति पनि सरकारको ध्यानाकर्षण भएको धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीसँगै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई घुन्सा आउनुभएको थियो । प्रधानमन्त्री ओलीले टिपताला भञ्ज्याङसहित चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा क्षेत्रको अवलोकन तथा निरीक्षणसमेत गर्नुभएको थियो ।

शाक्यद्वारा सहयोग
प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयमा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो । सो विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीलाई विभिन्न विधामा वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्ने गरी अक्षयकोषको स्थापना गरिदिने उहाँले घोषणा गर्नुभएको हो । त्यस्तै सामुदायिक स्वास्थ्य एकाइलाई १० थान कम्बल उपलब्ध गराउने पनि शाक्यले वचन दिनुभयो ।गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …