तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै दुई देशको सम्बन्ध सुधारमा अगाडि बढ्ने भारतीय विदेश मन्त्रालयले संकेत दिएको छ । सोमबार नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले एकै पटक विज्ञप्ति निकालेर सचिवस्तरीय बैठकको विषय सार्वजनिक गर्दै उच्चस्तरीय भ्रमणको निरन्तरता भनेका छन् ।

विदेश सचिवस्तरीय वार्तासँगै सीमा विवादका कारण बिग्रेको नेपाल र भारतको सम्बन्ध सुधारका लागि कूटनीतिक च्यानलबाट प्रक्रिया अगाडि बढ्ने भएको हो । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला ११ मंसिरमा नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आगामी बिहीबार नेपाल र भारतका परराष्ट्र सचिव नेतृत्वले सम्बन्ध सुधारका विषयमा मन्थन गर्नेछन् । शृंगला नेपालमा सचिवस्तरीय वार्ता सकेर १२ मंसिरमा भारत फर्कनेछन् ।

भ्रमणको पहिलो दिनमा दुई देशका विदेश सचिवहरूले द्विपक्षीय बैठकमा भाग लिनेछन् र नेपाल र भारतबीच विभिन्न विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेश सचिवको भ्रमणलाई दुई छिमेकी मुलुकको उच्चस्तरको भ्रमणको निरन्तरताका रूपमा लिइएको छ ।

त्यस्तै, भारतीय विदेश मन्त्रालयले पनि एक विज्ञप्ति निकालेर भ्रमणको विषयमा जानकारी दिएको छ । ‘भारतको नेपालसँग पौराणिक र ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । भारतको सहायतामा अन्तरदेशीय पूर्वाधारको निर्माण भएर दुईपक्षीय सहकार्य अझ बलियो भएको छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण एक अवसर हुनेछ ।’

नेपाली भाषामै कुराकानी गर्न सक्ने विदेश सचिव शृंगलाको नेपाल भ्रमण अर्थपूर्ण रहनेछ । यसअघि भारतीय ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र भारतीय सेना प्रमुख मनोजमुकुन्द रनवणेको भ्रमणसँगै विदेश सचिव शृंगलाको भ्रमण जुरेको हो ।
उनले परराष्ट मन्त्रालयका सचिव भरत पौडेलका परराष्टमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च अधिकारी तथा नेताहरूसँग आफ्नो दुईदिने नेपाल बसाइका क्रममा भेटघाट गर्नेछन् ।

शृंगला भ्रमणसँगै दुवै पक्षलाई संयुक्त प्राविधिक स्तरको सीमा समितिको बैठकको कार्यतालिका अन्त्य गर्न नेतृत्व दिइनेछ । साथै, दुवै पक्षले महाकाली नदीको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका साथै अन्य जलविद्युत् आयोजनाको पुनरुद्धारमा छलफल गर्नेछन् ।

सीमा विवादको विषयमा भने भारतीय विदेश मन्त्रालय मौन देखिएको छ । दुई देशको विदेश सचिवस्तरीय भेटवार्तामा भने सीमा विवादको विषयले प्रवेश पाउने सम्भावना न्यून छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी दुई देशका उच्चस्तरीय तहबाट हल गर्ने भएकाले सो विषयले प्रवेश पाउनेछैन । सीमा विवादको विषयमा छुट्टै संयन्त्र गठन गरेर टुंगो लगाउनुपर्ने भएकाले सो विषयले विदेश सचिवस्तरीय बैठकमा प्रवेश पाउनेछैनन् ।

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ । विदेश मन्त्रालयले सीमा विवादको विषयमा तत्कालै मुख खोल्न चाहेको छैन । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …