तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल (वालिङ -६ मिर्दी )

आजभोलि क्रिकेट, फुटवल, भलिबल आदिको म्याच कस्ले जित्ला ? वा आम निर्वाचनमा कस्ले जित्नेछ भनेर साथीभाईहरुका बिचमा अनेकन बाजी थाप्ने गरे जस्तै पौराणिककालमा कश्यप ऋषिका दुई पत्नीहरु कद्रु र विनताले घोडाको पुच्छरको रङ्गकाे बारेमा थापेको बाजीकोे कारणले उनीहरुको जीवनमात्र होइन पृथ्वी र स्वर्गमा समेत कति उथलपुथल, धक्का र नोक्सानी हुन गएको थियो ? र कसैलाई दास बनाउन वा शक्ति हत्याउनको लागि कति हद सम्मको षडयन्त्र हुनसक्छ भन्ने महाभारतको एक रोचक कथा यहांँ प्रस्तुत गर्ने प्रयास गरिएको छ:-

पौराणिक कालको कुरा हो ! अमृत प्राप्तीको लागि देवता र दानवहरु मिलेर गर्न लागेको समुन्द्रमन्थनको महायज्ञ हेर्न कश्यप ऋषिका दुई पत्नीहरु कद्रु र विनता पनि आएका रहेछन्। कद्रु सम्पूर्ण सर्प तथा नागहरुकी आमा हुन् भने विनता गरुड र अरुणकी आमा हुन् । समुन्द्र मन्थन गर्दै जाँदा धेरै कुराहरु निस्कदै जाने क्रममा समुद्रबाट एक सुन्दर सेतो रङ्ग भएको उच्चैश्रवा नाम गरेको घोडा पनि निस्कियो ।

आकर्षक त्यस घोडाको रङ्ग विनताले सेतो रहेछ भनिन् । कद्रुले मनमा पाप रचेर, घोडाको शरीरको रङ्ग सेतो भएपनि पुच्छरको रङ्ग त कालो छ भन्न थालिन । घोडाको पुच्छरको रङ्गकाे विषयमा दुवै दिदीवहिनीको बिचमा बाजी थाप्ने निर्णय भयो । भोलि आएर जाँच्दा घोडाको पुच्छरको रङ्ग सेतो नभएमा वा कालो भएमा विनता कद्रुको दास हुनुपर्ने र सेतो भएमा कद्रु विनताको दास हुनुपर्ने शर्त राख्दै दुवै दिदीवहिनी घरतर्फ फर्के । भोलिसम्ममा कुनै षडयन्त्र गरी घोडाको पुच्छरको रङ्ग कालो बनाई बहिनी विनतालाई हराएर सधै आफ्नाे दासी गराउने योजना बुन्न लागिन कद्रुले ।

घरमा आएपछि कद्रुले सवै छोराहरुलाई राखेर समुन्द्र मन्थनमा निस्केको उच्चैश्रवा घोडाको पुच्छरको रङ्ग सेतो भएता पनि आँफुले कालो छ भनेर विनतासंग वाजी थापेको हुंँदा भोली विहान सम्ममा जसरीहुन्छ घोडाको पुच्छरको रङ्ग कालो बनाउनको लागि छोराहरुलाई अह्राइन् । धर्मपरायण जेठा छोरा शेषनागले आमाको यो अनीतिपुर्ण व्यवहारलाई स्वीकार गर्न सकेनन् र तपस्या गर्न हिंँडे ( धेरै वर्षको तपस्यापछि भगवान विष्णुले पृथ्वीलाई स्थीर गरी धानेर राख्ने वर्दान दिए शेषजीलाई) । कद्रुले यस कुटिल चालमा सामेल नहुने र आफ्नो विरोध गर्ने छोराहरु जति थिए ती सवैलाई, पान्डववंशी राजा जन्मेजयले गर्ने सर्प यज्ञमा होमिएर मर्नेछौ भनेर श्राप दिईन् । कर्कोटक समेतका धेरै छोराहरुले आमाको यो आज्ञा मान्ने निर्णय गरे र भोलीपल्ट सवेरै घोडा भएको ठाउँमा पुगी घोडाको पुछारमा लपेटिएर कालो देखिएर बसे ।

सयौं योजन दुरीको समुन्द्र पार गर्दै दुवै दिदीवहिनी घोडा भएको ठाँउमा आइपुगे । घोडाको पुछारको रङ्ग आज कालो देखियो । नागहरुको छलबाट विनताले बाजी हारिन्, दुःखित र उदास हुंँदै सौता दिदी कद्रुको दासी हुन पुगिन् । विनता कष्टका साथ दासी जीवन बिताउंँदै आएकी थिइन् । एकदिन आँफु र आफ्ना साथमा रहेका सबै नाग छोराहरुलाई बोकेर समुन्द्रको भित्री सतहमा रहेको सुन्दर उपवनमा जानका लागि दासी विनतालाई कद्रुले अह्राइन ।

मालिक दिदीको आज्ञा अनुसार कद्रुका सन्तान सवैलाई बोकेर समुन्द्रको पिँधमा पुर्याउन आँफुले नसक्ने हुंँदा यो कामको लागि विनताले आँफ्ना छोरा गरुडसंग सहयोग मागिन् । भयंंकर बलबुद्धि भएका जस्तोसुकै पराक्रम गर्न सक्ने मात्रृभक्त गरुडले आमाको आज्ञा शिरोपर गर्दै दुवै आमाहरु तथा सम्पुर्ण सर्पहरुलाई बोकेर अपरिमित गहिरो समुन्द्रको भित्री यात्रा पार गर्दै पिँधमा रहेको सुन्दर वगैंचामा पुगे । रमणीय यस उपवनमा हर्षोल्लास गर्दै धेरै दिनसम्म बसेका नागहरुले तहांँबाट फेरी अर्को सुन्दर स्थान सम्म बोकेर लैजान दासलाई जसरी नै गरुडलाई अह्राउन थाले ।

सम्वन्ध दाजुभाइ दिदीवहिनीको भएतापनि नागहरुले हेपेर आमालाई र आँफुलाई अह्राईरहेको देखेपछि गरुडलाई शंका हुन गयो र आमासंग यसवारेमा सोधे । निस्पाप पुत्र गरुडको यस प्रश्नबाट दुःखित र व्यथित हुदै उच्चैश्रवा घोडाको पुछारको रङ्गको वारेमा जसले बाजी जित्छ हार्नेले जित्नेको दासी हुनुपर्ने वाजीमा, नागहरुको षडयन्त्रको कारण आँफु कद्रुको दास हुनुपरेको बताइन् । विनताले छोरा गरुडलाई केही उपाय गरी यो दासताबाट मुक्त गराउन अनुरोध गर्न थालिन । गरुडको लागि तीनै लोकमा कुनै काम असम्भव थिएन उनी साक्षात् ईश्वरका अवतार थिए ।

उनी इच्छानुसारको स्वरुप ग्रहण गर्न, प्रतापी कर्म गर्न, वरदान दिन समेत सक्षम थिए । तब गरुडले नागहरुलाई आफ्नो आमाको दासताको बदलामा जे जे चाहना छ बरु त्यो पुरा गरिदिन आँफु तैयार रहेको हुंँदा आमा विनतालाई दासताबाट मुक्ति दिन अनुरोध गरे । नागहरुले आँफुहरुले अमृत पिएर अमर हुने इच्छा भएको हुंँदा स्वर्गबाट अमृत ल्याएर दिन सकेमा मात्र विनतालाई दासताबाट छाडिदिन सक्ने बताए । गरुडले यो शर्तलाई स्वीकार गरे तर अमृत प्राप्त गर्ने कार्य निकै दुरुह थियो । स्वयं देवतागण र दानवहरुले यही अमृत प्राप्तीको लागि भिषण युद्द गरेका थिए । यति ठूलो महान कार्यका लागि तैयार रहेका गरुडलाई अमृत लिन स्वर्ग जाँदा बाटोमा कसरी जाने , के खाने नखाने ,सुझाव दिइन् र सफलताको आशिर्वाद दिएर विदा गरिन् आमा विनताले ।

देवता र दानववीचको भिषण युद्दको घटना जोडिएको अमृत ल्याउने यो संकल्प, चानेचुने थिएन । वाटोमा भोक लाग्यो, आमाले भने अनुसार निसाधहरुको वस्ती पुगेर भोक मेट्नकोलागि निशाधहरुलाई चुच्चोमा राखेर खाँदै अगाडि बढे । वाटोमा पिता कष्यप ऋषिसंग भेट भयो । वावुछोराको कुशल मंगलको सोधपुछ पछि आमा विनतालाई दासताबाट निकाल्नको लागि अमृत लिन स्वर्ग हिडेको वताए ।

आमाले वताए अनुसार निषाधहरुको भक्षणबाट पेट नभरिएको हुंँदा के खाएर शरीरलाई वचाई अमृत लिएर फर्किन सकिएला ? वावुसंग सोधे । अगाडि कुनै एक पवित्र तलाउमा एक विशाल हात्ति र त्यत्रै कछुवा भएको र उनीहरुको वीचमा वैर भैरहने हुंँदा तीनीहरुलाई खाएर भोक मेट्ने आज्ञा दिए कस्यपजीले । गरुडले त्यसै मुताविक तलाउमा पुगेर कछुवा र हात्तिलाई निकालेर,चुच्चोमा च्यापेर उड्दै वस्ने ठाउँको खोजी गर्दै गर्दा अम्वल तीर्थ (मेरु गिरी)मा पुगे । अनेक सुगन्धित दिव्य वृक्षहरुले भरिएको त्यस पर्वतका सवै वृक्षहरु गरुडजीको प्वाँखको वेगले कम्पित हुंँदै डराउन थाले ।

त्यसै मध्येको एक भयंकर वटवृक्षले गरुडलाई आफ्नो सय योजन लामो हाँगामा वसेर चाेंचमा भएको हात्ति र कछुवाको भोजन गर्न अनुरोध गरे । गरुडको आफ्नो शरीर नै अजंगको पहाड भन्दा ठूलो थियाे त्यसैले वटवृक्षको हाँगोमा वस्न के लागेका थिए हाँगोले धानेन गरुडलाई, त्यस हाँगोमा एक व्राम्हण ऋषि पनि थिए, हाँगोलाई वीचमा छाडिदिउ एक त विशाल हाँगो पृथ्वीमा छाडीदिंँदा कति त्यसले पिसिनेछन् र हांँगोमा भएका ती व्राम्हण पनि मर्नेछन् र व्रम्हहत्या लाग्ने हुंँदा नीतिज्ञ गरुडजीले हाँगो, हात्ति कछुवा र ती व्राम्हणलाई चुच्चोमा च्याप्दै कठिनाईका साथ अगडि उड्दै जान्छन,आफ्नो भार धान्न सक्षम वस्ने ठाउँको खोजीमा उडीरहन्छन । गरुडजीको धर्मप्रतिको निष्ठा देखेर ती व्राम्हण महर्षिको मनमनैको शुभाषिर्वादले गन्धमादन पर्वतमा पुग्न सफल भए गरुडजी । गन्धमादन पर्वतमा तपस्यामा वसेका बाबु कस्यपसंग फेरी भेट भयो ।

कष्यप ऋषिले ती महर्षिसंग पुत्र गरुडलाई क्षमा दिएर हाँगोबाट ओर्लीदिन अनेक अनुरोध गर्छन तब महर्षिले गरुडलाई माफ गर्दै हांँगोको आसन छाडेर गन्धमादन पर्वतमा ओर्लिए । गरुडलाई कस्यपजीले अगाडिको पर्वतले तिमीलाई धान्न सक्ने भएको हुंँदा सो पर्वतमा पुगेर वटवृक्षको हाँगो छाडिदिन र ताँही वसेर भोजन गर्ने सल्लाह दिए । सवै वेदहरु र मांगलिक चीजहरुको कृपाले स्वर्गबाट अमृत लिएर फर्कन सक्ने आशिर्वाद गरुडलाई दिदै वावु कष्यप विदा भए । अगाडिको त्यस पर्वतमा पुगेपछि गरुडले चुच्चोमा च्यापेको हाँगो छाडिदिन्छन् झरेको हाँगोले निर्जन वनको धेरै वृक्षहरु समाप्त हुन्छन । उनले त्यहींँ वसेर चुच्चोमा च्यापेर ल्याएको हात्ति र कछुवाको भोजन गर्दै आफ्नो भोक शान्त गरे ।

भोजन गरिसकेपछि गरुड अगाडि वढ्दाको स्वरले स्वर्ग कम्पयमान हुन थाल्यो, आँखा तिरमिर गर्ने गरी प्रकाशित हुन थाल्यो र कहिं त उनको गतिबाट अन्तरिक्ष धुलोले भरिएर केही नदेखिने हुनथाल्यो । स्वर्गवासी देवताहरु यस दृश्यबाट अत्तालिदै के भएको हाे,कसो हो, छलफल गर्नथाले । गुरु वृहस्पतिले गरुडको असीम क्षमता र सामर्थ्यका वारे अवगत गराए र अमृत लिनआएको कुरा वताए । अग्नि, वायु वरुण,वसुहरु गन्धर्वहरुले आआफ्ना मणिमय आयुध सहित जुटेर गरुडलाई रोक्न अनेक यत्न गरे, कोही सफल भएनन । देवतागण र गरुडको वीचमा घमासान युद्द भयो, धेरै देवताहरु, गन्धर्वहरु युद्दबाट भाग्न थाले । स्वयं ईन्द्रको वज्र प्रहार निरर्थक हुन थाल्यो ।

गरुडको चुच्चोले कसैलाई घाइते वनाउने,कसैलाई नङ्ग्राले चिथोर्ने, कसैलाई भारी शरीरले अचेट्ने गरेरै जिते उनले । अमृतको रक्षार्थ स्वयं विश्वकर्मा देवता नजिकै वसेर कुरेका थिए, उनीसंग पनि केही समय लडाई भयो । केहीवेरको विश्वकर्मा संगको लडाईपछि उनलाई हराउंँदै गरुड अमृत घडा छेउमा पुगे । अमृतको घडा रक्षाकोलागि चारैतिरबाट अग्नि प्रज्वलीत भैरहेको देखे । तत्क्षण उनी समुन्द्रमा पुगेर ८१०० मूखको चुच्चो श्रृजनागरी त्यसैमा समुन्द्रको पानी सोसेर आई त्यो सवै पानी अग्निमा खन्याएर अग्निलाई वुझाई भित्र प्रवेश गरे ।

अमृतको घडाको वाहिरी भागमा फलामको चक्र घुमिरहेको हुंँदो रहेछ, जस्ले घडा समात्न अगाडि वढ्छ त्यस धारिलो र चम्किलो चक्रले उसलाई काट्दो रहेछ,तव गरुडले आँफु अत्यन्त शुक्ष्म स्वरुपमा बदलिने शक्तिको प्रयोग गर्दै घुम्दै गर्ने चक्रको वीचबाट भित्र छिरे । चक्रको भित्र पनि घडा कुर्न २ वटा अत्यन्त चम्किला क्रोधी सर्पहरु थिए ,उनीहरुको आँखाको ज्योतिमा नै भयंंकर वीष थियो र उनीहरु कतिवेलै आँखा चिम्लदैन थे । यी सर्पको ज्योति जसलाई पर्यो उ भस्म हुने रहेछ तव गरुडजीले भयन्कर धुलो उडाएर ती सर्पले आँखा देख्न नसक्ने भएपछि दुवै सर्पलाई कुचेर चिथरेर मृत्युलोक पुर्याए । यसरी घेरा पार गर्दै गरुडले अमृतको त्यो घडा लिएर स्वर्गलोकबाट फिर्ता भए ।

वाटोमा भगवान विष्णुसंग भेट भयो र गरुडलाई सधैं आफ्नो ध्वजामा रहने, सधै अमर अजर रहने वर्दान दिए । गरुडले पनि अवदेखि आँफु भगवान विष्णुको वाहन हुने संकल्प गदैैै अगाडि बढे (यहिंँबाट भगवान विष्णुको वाहन गरुड भएको विश्वास गरिन्छ) । अल्लीै पर जाँदा इन्द्रसंग फेरी जम्का भेट भयो । ईन्द्रले अमृत फिर्ता गर्न अनुरोध गर्दछन् तर गरुडले मानेनन् । दुवैको वीचमा फेरी घमासान युद्द भयो । ईन्द्रको वज्रले गरुडलाई छुन पनि सकेन गरुडले जीते, तैपनी वज्रको सम्मान गर्दै गरुडले ईन्द्रसंग संधैकोलागि मित्रताको सन्धि गरे । सन्धि अनुसार अमृत सहितको घडा नागहरुसंग पुर्याएर मात्र आफनो वाचा पुराहुने भएकोले नागको अगिल्तीर राख्ने वित्तिकै उनीहरुबाट खोसेर लैजांँदा आपत्ति नहुने कुरा गरुडले ईन्द्रलाई बताए र यसैमा दुवैको सहमति जुट्यो । गरुडजीको अचिन्त्य ऐश्वरीय शक्तिको प्रभावलाई जानेपछि र उनको इमान्दारितालाई देखेर गरुडलाई महावली सर्पहरुको भोजन गर्ने वर्दान दिए ईन्द्रले, (ताहींँबाट गरुडको आहार सर्प भएको विश्वास गरिन्छ) । अमृत लिएर गरुडजी आमा विनता भएका ठाउँमा पुगे ।

गरुडजीले सर्पहरुलाई देखाएर अमृतको भांँडो कुशमाथि राख्दछन् अब आफ्नो वाचा पूरा भएकोले आमालाई दासताबाट मुक्त गर्न अनुरोध गरे । तव नागहरुले तथास्तु भन्दै विनतालाई दासताबाट मुक्त गरे । गरुडजीले नागहरुलाई स्नान गरी स्वस्तिवाचन गरेरमात्र अमृत ग्रहण गर्नु पर्दछ भनेको हुंँदा नागहरु स्नान गर्न तलाउमा जान्छन । स्नान गरेर सर्पहरु फर्केर आउदै गर्दा अमृतको घडा ईन्द्रले लिएर निस्के । कपटी नागहरु जिल्ल पर्दैै अमृत नभएपनि अमृतको भाँडो राखेको कुश चाटेर पनि अमर हुने आशाले तहांँभएको कुश चाट्न थाल्दछन । खश्रोे कुश चाट्दा उनीहरुको जीव्रो चिरिन्छ, (तव देखी सर्पहरुको २दुईवटा जिव्रो हुनलागेकोे विश्वास गरिन्छ,) यसैगरी कुशमाथी अमृतको घडा राखिएको हुंँदा त्यहांँदेखी नै कुशलाई पवित्र भनिन थालेको पनि विश्वास गरिन्छ । आमा विनतालाई दासताबाट मुक्त गरेपछि,पंक्षीहरुका सम्राट भएका गरुडजीले अनेक वन उपवन वगैचाको सयर गर्दै सर्वत्र उज्वल किर्ती फैलाउदै आमालाई सुख खुसी र आनन्दित वनाएर समय विताउन लागे ।

कसैको अधिकार छिनेर उसलाई सधै दास वनाउनको लागि कसरी सेतोलाई कालो बनाउने,सत्यलाई असत्य वा असत्यलाई सत्य हो भनेर प्रमाणित गर्न छलकपटको प्रयास गरिन्छ भन्ने दृष्टान्त यस कथाले दिन्छ । यस्तो प्रयास राजनीतिक,व्यवसायिक, सामाजिक तथा अनेक क्षेत्रमा अहिले पनि देख्न सकिन्छ, जसलाई आजकालको भाषामा कन्सपिरेसी थ्योरी वा प्रोपागान्डा पनि भनेर वुझिन्छ । तर याद राखौं ! दृढ इच्छाशक्ति,साहस,न्यायिक भावना, तिखो चुच्चो, नङग्रा र सुनौलो प्वाख भएका निष्पाप गरुडहरुको जन्म पनि भैरहनेछ र तमाम विनताहरुको मुक्ति पनि हुनेछ ।

महाभारत आदि पर्वबाट ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …