तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

प्रेम खनाल

हरिबोधिनी एकादशी तथा तुलसी विवाह विगतका वर्षहरुमा कार्तिक महिनाको शुक्ल पक्षमा पर्ने हरिबोधिनी एकादशी यस वर्ष मलमास परेकाले मंशिर महिनामा पर्न आएको छ तापनि पक्षको हिसाबले गणना गर्दा यी ठूली एकादशीलाई कार्सार्वजनिक शुक्ल एकादशी नै भनिन्छ।

असार महिनाको शुक्ल पक्षमा पर्ने हरिशयनी एकादशीको दिन क्षीर सागरमा शेषशैयामा सुत्नु भएका श्रीविष्णु यी एकादशीमा जागा हुनुहुन्छ भन्ने पौराणिक कथन छ। साथै यी एकादशीमा भगवान विष्णुको आराधना पूजाब्रत उपवास बसी आराधना गर्नाले अक्षय फल मिल्छ र मोक्ष पद प्राप्त हुन्छ अनि अरु एकादशीमा अनुष्ठन गर्न नसके पनि यी एकादशीमा ब्रत बसी पूजा गर्नाले अरु एकादशीमा पूजा आराधना गरेको फल पनि मिल्छ भन्ने पनि कथन छ।

तिनै हरिबोधनी एकादशी यस वर्ष यही २०७७ मार्ग १० गत‌ेका दिन पर्न आएकाले हिन्न्दूधर्मावलम्वी महिला तथा पुरुष सज्जन वृन्दहरुले विहान सबेरै उठी सकेसम्म तीर्थको जलमा स्नान ध्यान जप संध्या तर्पण आदिबाट निवृत्तभै सर्वप्रथम श्रीबिष्णु भगवानको

प्रार्थना यस मन्त्रले गर्ने –

शुक्लां वरधरं विष्णुं शशिवर्णं चतुर्भुजम्।
प्रशन्नं वदनं ध्यायेत् सर्वविग्नोपशान्तये।।
शान्ताकारं भूजग शयनं पद्मनाभं सुरेशम्,
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम्।
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यान गम्यम्,
बन्दे विष्णुं भवभयहरं सर्वलोकैक नाथम्।।

मैले आज श्री हरिबोधनी एकादशीका दिन मेरा सम्पूर्ण पाप ताप तथा शारीरिक मानसिक रोग व्याधी दुःख कष्टहरु दूर होऊन् भनी भगवद्प्रित्यार्थं यथाशक्ति नियमानुष्ठानसहित व्रत उपवासं करिष्ये तथा च श्रीलक्ष्मीसहितस्य श्रीविष्णो:पुरुषसूक्त मन्त्रै यथामिलितोपचारै:पूजनं करिष्ये। भनेर ब्रतसंकल्पगर्ने र दियो,कलश णणेशको पूजनगरी ताम्रपात्रमाथि ताम्रपात्र(थाली) स्थापना गरी सो माथि श्रीलक्ष्मीनारायणको प्रतिमा राखी त्यहांँ यी पुरुषसूक्तमन्त्रहरुद्वारा षोडसोपचारले

विधिपूर्वक पूजागर्ने पुरुष सूक्त-“मन्त्र-

ॐ सहस्रशीर्षा पुरुष: सहस्राक्ष:सहस्रपात्।
स भूमि ग्वं सर्वतस्पृत्वात्यतिष्ठद्दशाङ्गुलम्।।1
ॐ पुरुष एवेदं सर्वं यद् भूतं यच्च भाव्यम्।
उतामृतत्वस्येशानो यदन्नेनातिरोहति।।2
ॐ एतावानस्य महिमातो ज्यायाँश्च पुरुषः।
पादो$स्य विश्वा भूतानि त्रिपादस्यमृतं दिवि।।3
ॐ त्रिपादूर्ध्व उदैत् पुरुष:पादो$स्येहाभवत् पुन:।
ततो विष्वङ् व्यक्रामत् साशनानशने अभि।।4
ॐततो विराडजायत विराजो अधि पुरुष:।
स जातो अत्यरिच्यत पश्चाद्भूमिमथोपुर:।।5
ॐ तस्माद्यज्ञात्सर्वहुत:संभृतं पृषदाज्यम्।
पशून् ताँश्चक्रे वायव्यानाराण्यान् ग्राम्याश्च ये।।6
ॐ तस्माद्यज्ञात्सर्वहुत ऋच सामानि जज्ञिरे।
छन्दांसि जज्ञिरे तस्माद् यजुस्तस्मादजायत।।7
ॐ तस्मादश्वा अजायन्त ये के चोभयादत:।
गावो ह जज्ञिरे तस्मात्तस्माज्जाता अजावय:।।8
ॐ तं यज्ञं बर्हिर्षि प्रौक्षन् पुरुषं जातमग्रत:।
तेन देवाअयजन्त साध्या ऋषयश्च ये।।9
ॐ यत्पुरुषं व्यदधु:कतिधा व्यकल्पयन्।
मुखं किमस्यासीत् किम्वाहू किमूरू पादा उच्यते।।10
ॐ ब्राह्मणो$स्य मुखमासीद्वाहूरान्य:कृत:।
ऊरू तदस्य यद्वैश्य:पद्भ्यां शूद्रो अजायत।।11
ॐ चन्द्रमा मनसो जातश्चक्षो:सूर्यो अजायत।
श्रोत्राद्वायुश्च प्राणश्च मुखादग्निरजायत।। 12
ॐ नाभ्या आसीदन्तरिक्ष्य ग्वं शिर्ष्णो द्यौ:समवर्तत।
पद्भ्यां भूमिर्दिश:श्रोत्रात्तथा लोकां अकल्पयन्।। 13
ॐ यत्पुरुषेण हविषा देवा यज्ञमतन्वत।
वसन्तो$स्यासीदाज्यं ग्रीष्म इध्म:शरद्धवि:।।14
ॐ सप्तास्यासन् परिधयस्त्रि:सप्त:समिध:कृता:।
देवा यदयज्ञं तन्वाना अवध्नन् पुरुषं पशुम्।।15
ॐ यज्ञेन यज्ञमयजन्त देवास्तानि धर्माणि प्रथमान्यासन्।
ते ह नाकं महिमान:सचन्त यत्र पूर्वे साध्या:सन्तिदेवा:।।16

यसैगरी यी मन्त्रले भगवानका अंगपूजा गर्ने मन्त्र-
ॐ मत्यदेवाय नम: पादौपूजयामी, ॐ कुर्मदेवाय नम: जंघे पूजयामि, ॐ वराह देवताय नम: जानूनी पूजयामि,ॐ नृसिंहदेवाय नम:कटिं पूजयामि,ॐ वामदेवाय नम:उदरं पूजयामि,ॐ परशजरामदेवाय नम: बाहूं पूजयामि,ॐ रामचन्द्रदेवाय नम: कण्ठं पूजयामि,ॐ कृष्णदेवाय नम: मुखं पूजयामि ॐ बुद्धदेवायनम: नेत्रे पूजयामि,ॐ कल्कि देवाय नम:,ललाटं पूजयामि,ॐ केशवदेवाय नम: शिरं पूजयामि,ॐ सर्वात्मने नम: सर्वाङ्गं पूजयामि भनेर श्रीविष्णुभगवानका अंगपूजागरी यथाशक्ति अष्टाक्षरमन्त्र(ॐ नमो वासुदेवाय) यी आठ अक्षर मन्त्र जपेर अर्घदान गर्ने-

जन्मान्तरसहस्रेषु यन्मया पातकं कृतम्।
तत्सर्वं नाशमायातु प्रसादात्तवकेशव ।।

यसरी पूजा गरी रातभर भगवद्गुणानुवाद भजनकीर्तन नाचगान गरी जागरण वस्ने र भोलीपल्ट द्वादशीको दिन प्रभात समयमा स्नान सब‌न्ध्यादिकर्म सकेर क्षीरसागरमा सुत्नु भएका भगवान विष्णुलाइ यी मन्त्र पढी जगाउने –

ब्रह्मेन्द्ररुद्राग्निकुबेरसूर्यसोमादिभिवन्दित पादपद्म।
बुद्ध्यस्व देवेश जगन्निवास मन्त्रप्रभावेण सुखेन देव।।
इयं च द्वादशी देव प्रवोधार्थं विनिर्मिता।
त्वयैव सर्वलोकानां हितार्थं शेषशायिना।।
उत्तिष्ठोत्तिष्ठ गोविन्द त्यजनिद्रां जगत्पते।
त्वयि सुप्ते जगन्नाथ जगदत्सुप्तं भवेदिदम्।।
उत्थित्ते चेष्टते सर्वमुत्तिष्टोत्तिष्ठ माधव।
गता मेघा वियच्चैव निर्मलं निर्मला दिशः।।
शारदानि च पुष्पाणि गृहाण मम केशव।
इदं विष्णुरिति प्रोक्तो मन्त्र उत्था पने हरे:।।

अर्थात् ब्रह्मा इन्द्र आति देवता तथा कुवेर ,सूर्य सोम आदिले जसको स्तुति गर्छन् र जसको आधारमा जगत् टिकेकोछ यस्ता देवताहरुवाट पनि वन्दनीय देवताका पनि देव हे ईश्वर? तपाइ यस मन्त्रको प्रभाव वाट सुखपूर्वक जाग्नुहोस। हे देव?विष्णुरुप यो द्वादशी आफ्नो जागरणको लागि सवलोकको कल्याणको लागि रच्नु भएकोहो। हे गोविन्द ?जगतकास्वामी? तपाइ उठ्नुहोस उठ्नुहोस निद्रालाइ त्यग्नुहोस किनभने तपाइं सुत्दा जगत पनि सुत्छ र तपाइ उठ्दा जगत् पनि उठ्छ। यसरी जगाइ सके पछि भगवानलाइ पूष्पाञ्जली दिने” हे देव?ऐले आकाशमा वादलछैन, आकाश र दिशाहरु निर्मल भएकाछन् शरद्ऋतुका विभिन्नप्रकारका फूलहरु ग्रहण गर्नुहोस। भनेर पुष्पाञ्जली भगवानका विग्रहमा अर्पण गर्ने। यस प्रकार भगवानको पूजा अर्चना उपासना गर्नुपर्छ।

अव भगवानको पूजा वा उपासना किन गर्नु पर्छ ? भन्ने सम्वन्धमा वैज्ञानिक रहस्य केछ भने भगवानमा दैवी गुणहरु रहेका हुन्छन् त्यसैले भगवानको उपासना गर्नाले ती दैवी गुणहरु आंफुमा अवतरित हुंदै आउंछन् र जीवनमा दिव्यता भरिदै जान्छन् जीवन पूर्णहुन्छ,सफलहुन्छ,उपाश्यदेवका गुणहरु उपासकमा अवतरित हुन्छन भन्ने कुरा अध्यात्म विज्ञान तथा,भौतिक विज्ञान दुवैले स्वीकारेकाछन्। यस्तै उपवास शब्दछ जसको अर्थ भोकै वस्ने भनेर लिइन्छ तर त्यसको अर्थ यो मात्रै हैन। यसको खास अर्थहो उप भनेकोनजिक र वासकोअर्थ वस्नु अर्थात् नजिक वस्नुहो।

नजिक वस्नाले उपास्यमा भएका सकारात्मक उर्जाहरु नजिकै वसेका व्यक्तिमा सर्दै जान्छन र उपासकमा रुपान्तरित हुन्छन्।यसरी उपवासको अर्थ नजिक वस्नु हो। यो वाहेक उपवास लाइ भोकैवस्ने अर्थमा लिइन्छ भने पनि भोकै वस्दाका फाइदा आध्यात्मिक तवरले एकाग्रचित्त भएर उपासना गर्न सघाउंछ भने भौतिक विज्ञानका दृष्टिकोणले पनि शरीरका आन्तरिक मेसीनरी पार्टहरुलाइ विश्राम पुग्छ, मेसीन सफा हुन्छ,र अर्को सवैभन्दा महत्वपूर्ण कुरात के छ भने आयुर्वेद विज्ञानले भन्छ ” वर्सौंवर्ष सम्म औषधी सवेन गर्दा निको हुन नसकेको दीर्घ रोगी हप्ताम एकदिन नियमित उपवास गर्नाले निकोभएकोछ” भनेर उपवासको महिमा गाएकोछ। जनावरहरुत विलकुलै प्राकृतिक नियमलाइ पालन गरेर वसेका हुन्छन् जस्तै कुनै पशु वा जनावर विरामी परेमा उसलाइ जतिसुकै मिठो दाना दिए पनि एक दुइदिन खांदैन र उसले उपवास वसेरै रोगको उपचार गर्छ ।यो वाहेक मनुस्यले जस्तो अप्राकृतिक कुरा उसले गर्दैन जस्तै उसले ऋतुकालमा वाहेक स्री प्रसंग पनि गर्दैन।यस हिसावले मनुष्यभन्दा पशुले आहार विहारमा ध्यान दिएको देखिन्छ।

अव ती दैवी गुण कस्ताहुन्छन् भन्ने सम्बन्धमा श्रीमद्भगवद्गीताको अध्याय16का पहिला 3 श्लोकहरुमा यसरी वताइएकोछ।-

अभयं सत्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थिति:।
दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम्।।1
अहिंसा सत्यमक्रोधस्त्याग:शान्तिरपैशुनम्।
दयाभूतेष्वलोलुप्तं मार्दवं ह्रीरचापलम्।।2
तेज क्षमा धृति शौचमद्रोहो नातिमानिता।
भवन्ति सम्पदं दैवीमभिजातस्य भारत।।3

अर्थात् निर्भयता, अन्तकरणको शुद्धि, ज्ञान तथा योगमा निरन्तर स्थितिवनाइ राख्नु,आचार्यका समीपमा वसेर शाश्त्रीय ज्ञान आर्जनगर्ने दान दिनमा अग्रसरहुने, इन्द्रियहरुको निग्रह, यज्ञ गर्न अभिरुचि राख्ने स्वाध्याय उत्तम शाश्त्रहरुको अध्ययन, तप गर्नु तथा सरल वन्नु।

शारीरिक तथा मानसिकरुपले कसैको हिंसा नगर्ने चोट्वा दुःख नदिने सत्यवचनवोल्ने क्रोध नगर्ने त्यागको भावना लिने, शान्ति अपनाउने, अरुको चुगली नगर्ने, सवै प्राणीहरुमा दयाभाव राख्ने,निर्लोभी वन्नु, आंफुवाट कुनै गलत कर्म भएमा शर्मिन्दा वन्नु ,चन्चल नवन्नु।

तेजिलो पना , क्षमा गर्न सक्नेखुवि धृति धैर्यधारण गर्ने, सदा शुद्ध आचरणमारहने,कसैसंग द्रोह नगर्ने मान सम्मान नखोज्ने, यस्ता गुणहरु देवताहरुमा हुन्छन्।त्यसैले तीनको उपासना गर्नाले ती गुणहरु उपासक आंँफूमा अवतरित हुन्छन र जीवन सार्थक र धन्य हुन्छ।

यसकारण देवताहरुको उपासना गर्नु पर्छ। उपास्यमा भएका जे गुणहरुछन ती गुणहरु उपासकमा सर्छन् । त्यस्तै सत्संगत र गलत संगतको प्रभावपर्छ।

अब तुलसीविवाहको प्रसंग –
सर्वप्रथम तुलसी को हुन् ? भन्ने स सम्बन्धमा विभिन्न पौराणिक कथनहरु छन् । श्रीस्वस्थानी व्रतकथामा महावली असुर जालन्धरकी पत्नी वृन्दा पतिब्रता नारी थिइन् उनको पतिव्रता धर्मले गर्दा जालन्धरमा अजेय वल र शक्ति प्राप्त भएको थियो त्यसैले उसले देवताहरुलाई जितेर सवैको भागहरण गरेर वसेको थियो।

पतिब्रता नारी सती वृन्दाको पातिब्रत्य धर्मनष्ट नगरेसम्म जालन्धर देवताहरुको हातवाट नमारीने भएकाले श्रीविष्णुले छल गरेर उसको पातिब्रत्य धर्म नष्ट गरीदिनु भयो र जालन्धर मारीयो। यै रिसले सती वृन्दाले विष्णुलाई श्राप दिइन हे विष्णु ! तपाइलें मलाइ छल गरेर मेरो पतिब्रता धर्म नष्ट गर्नु भयो र मेरा पति मारिए त्यस कारण तपाईँलाई जडरुप शिला हुनु ,वृक्ष हुनु झार हुनु भनेको हुनाले विष्णु शालीग्राम ,वृक्षमा पिप्पल ,र झारमा तुलसी भएर बस्न पर्यो ।

पछि उनै वृन्दाले श्री विष्णुको तपस्या गरेर तपाईँलाई पतिको रुपमा भोग्न पाऊँ भनेर तपस्या गरिन् भगवानले वृन्दालाइ तथास्तु भनि वरदान दिनुभयो र भन्नु भयो हे वृन्दे ! तिमी पृथ्वीलोकमा तुलसीको नामले प्रख्यात भै रहने छौ । तिमी सवैकी पूजनीय वन्दनीय बन्नेछ्यौ ,तिमीले सबै जीवहरुको कल्याण गर्नेछौ,तिम्रो मेरो विवाह हुनेछ ।

जस्का घरमा तिम्रो पूजा आराधना हुनेछ म त्यस ठाउंँमा सदा निवास गर्नेछु भनेको हुनाले तुलसीलाई विष्णुकी प्रियतमा बिष्णुवल्लभा भनि आजसम्म पनि घरघरमा पूजा गरिन्छ त्यसैको निरन्तरताको रुपमा कार्तिक शुक्ल पक्षकी एकादशीदेखि वैकुण्ठ पूर्णिमाका दिनभित्र तुलसीको विवाह पिपल वृक्ष वा शालिग्रामसंग ब्रह्म विवाह जुन प्रकारले गरिन्छ त्यसै प्रकारले कुमाररुपमा दामोदर भगवान र कन्यारुपमा तुलसी (राधारानी)लाइ पूजन गरी सौभाग्यादि सोह्रशृंगार गरी तुलसीलाइ पूजावन्दना स्वस्तिवाचन गरी कन्यादान समेत गरेर श्री विष्णुलाइ दिइन्छ। श्रीविष्णु भगवानलाइ तथा तुलसीलाइ पुरुष सूक्त मन्त्रद्वारा षोडसोपचार विधिले पूजा गरिन्छ र यो श्रीविष्णुको लागि (शान्ताकारं -) आदि मन्त्र ,पुरुषसूक्त मन्त्रले वन्दना गरिन्छ भने तुलसीमातालाइ यस मन्त्रद्वारा प्रार्थना गरिन्छ।

मन्त्र-

ॐजगधात्रि नमस्तुभ्यं विष्णोश्च प्रियवल्लभे।
यतो ब्रह्मादयो देवा:सृष्टिस्थित्यन्तकारिण:।।
नमस्तुलसी कल्याणि नमो विष्णुप्रिये शुभे।
नमो मोक्षप्रदे देवि नम:सम्पत्प्रदायिके।।
तुलसी पातुमां नित्यं सर्वापद्भ्यो$पि सर्वदा।
कीर्तितापि स्मृता वापि पवित्रयति मानवम्।।
नमामि शिरसा देवीं तुलसी विलसत्तनुम्।
यां दृष्ट्वा पापिनो मर्त्या मुच्यन्ते सर्वकिल्विषात्।।
तुलस्या रक्षितं सर्वं जगदेतच्चराचरम्।
या विनिहन्ति पापानि दृष्ट्वा पापिभिर्नरै:।।
नमस्तुलस्यतितरां यस्यै बद्ध्वाञ्जलिं कलौ।
कलयन्ति सुखं सर्वं स्रियो वैस्यास्तथा$परे।।
तुलस्या नापरं किन्चिद्दैवतं जगतीतले।
यथा पवित्रितो लोको विष्णु संगेन वैष्णव:।।
तुस्या पल्लवं विष्णो: शिरस्यारोपितं कलौ।
आरोपयति सर्वाणि श्रेयांसि वरमस्तके।।
तुलस्यां सकला देवा वसन्ति सततं यत:।
अतस्तामर्चयेल्लोके सर्वान्देवान समर्चयन्।।
नमस्तुलसी सर्वज्ञे पुरुषोत्तम वल्लभे।
पाहि मां सर्व पापेभ्य: सर्वसम्पत्प्रदायिके।।
इति स्तोत्रं पुरा गीतं पुण्डरीकेण धीमता।
विष्णुमर्चता नित्यं शोभनैस्तुलसी दलै:।।
तुलसीश्री महालक्ष्मीर्विद्याविद्या यशस्विनी।
धर्म्या धर्मानना देवी द्यौभूमिरचलाचला।
षोडशैतानि नामानि तुलस्या कीर्तयेन्नर:।।
लभते सुतरां भक्तिमन्ते विष्णु पदं लभेत्।
तुलसी भूर्महालक्मी:पद्मिनी श्रीहरिप्रिया।।
तुलसी श्रीसखि शुभे पापहारिणि पुण्यदे।
नमस्ते नारदनुते नारायणमन: प्रिये।।

सरल भाषामा भएकोले यसको अर्थ प्राय: सवैले जान्न वुझ्न सकिनेछ। अर्थ पनि लेख्दा लामो हुने भएकोले अनुवाद गरिएको छैन। नित्य तुलसीको सेवन तुलसीपूजन गर्नाले मानिलाई भौतिक सुखका साथै आध्यात्मिक उन्नति हुन्छ भन्ने देखिन्छ।

हाम्रो दैनिक जीवनमा तुलसीको प्रयोग –
चिकित्सकहरुका अनुसार तुलसीमा सयौं रोगहरु निको पार्ने क्षमताछ भन्नु हुन्छ। यसका पात हांँगा फूल विउ जराहरु सवै अत्यन्त लाभदायी छन्। तुलसीको पत्ताको सेवनले भोक जगाउने,पाचन क्रियालाइ सक्रिय बनाउने ,झाडावान्ता रोक्ने खुवी हुन्छ।तुलसी पत्ताको सेवनले कपाल झर्न रोक्छ,तुलसी पत्तालाइ फिट्किरीमा मिलाएर घाउमा लगाउंँदा घाउ चाडो निको हुन्छ। तुलसीमा एन्टिव्ययाक्टेरियल तत्व हुन्छ त्यसैले हरेक विषालु किटाणुहरुलाई नाश गर्न सक्ने खुवी तुलसीमा हुन्छ। तुलसीमा यस्ता अनेकन गुणहरु भएकाले नै हाम्रा ऋषिमुनीहरुले यिनको उपासना गर, यिनको समीपमा बस ,यिनैमा भगवान छन् भनेका हुन्।

मानिस मृत्युशैयामा हुंँदा प्राण त्याग्नु अघि तुलसीको मठसंगै राखेर तामाको अंखरीमा गंगाजल राखि त्यसमा तुलसीदल राखि जल पिलाउने गरिन्छ । जीवनको अन्तीम घडीमा तुलसीदल खाएर देहावसान भएको व्यक्तिलाई मोक्ष मिल्छ भन्ने शाश्त्रीय प्रमाणहरु छन् । तुलसीको काठको माला बनाई कण्ठमा धारण गर्ने ,भगवानको नाम जप गर्दा तुलसीको मालाले गणना गर्दा चित्त शान्त हुन्छ नकारात्मक तत्वहरु हटेर जान्छन् मनका विकार निर्मुल भएर जान्छन् र मनशान्त हुन्छ भनिएकोछ।

तुलसीको माला धारण गर्ने मन्त्र-

निवेद्य केशवेमालां तुलसीं काष्ठ समभवाम्।
वहते यो नरो भक्त्या तस्य नैवास्ति पातकम्।।
तुलसी काष्ठ सम्भूते मालेकृष्ण जन प्रिये।
विभर्मि त्वमहं कण्ठे कुरुमां कृष्णवल्लभाम्।।
एवं सम्प्रार्थ्य वधिन्वमालां कृष्णगलोर्पिताम्।
धारयेत्कार्तिकेयो वै सगच्छेद्वैष्णवं पदम्।।

अर्थात् तुलसीको काठको माला कण्ठमा धारण गर्दा तुलसीको प्रार्थना गरी भगवान श्रीकृष्णका गलामा अर्पण गरी माला लगाउनाले भगवानका कृपाले शोक सन्ताप दूर हुन्छन् कुनै किसिमको भय प्राप्त हुंदैन।

विज्ञानले तुलसीलाइ मृतसंजीवनी भनेकोछ। तुलसीको वोट भएको चारसय मिटर वरपरको वातावरणलाइ तुलसीको सुगन्धले शुद्ध वनाउंछ। तुलसी,तथा वटवृक्ष,(वर)वरिपरि र तुलसीको छांया तथा यसको हावाको वरिपरी कुनै पनि विषाणु किटाणुहरु टिक्न सक्दैनन् र असाध्य रोगीहरु समेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरु वताउनु हुन्छ।

विहान उठी तुलसीको पूजा गर्नाले,तुलसीको सम्पर्क गर्नाले मात्रै पनि मानिस निरोगी बन्छ भने तुलसीदल राखिएको खाद्यपदार्थ संग नियमित सेवन गर्ने व्यक्तिलेत दीर्घ जीवन प्राप्त गर्न सक्दछ।वनस्पति विज्ञ डा•खेम भट्टराइका अनुसार तुलसीमा एन्टीअक्सीडेन्ट नामक तत्व पाइने हुनाले हाम्रो वरीपरीको प्रदुषण र भोजनसंग मिस्सीएर पेटमा गएका विषाक्त किटाणुहरुलाइ तुलसीको पत्ताको सेवनले नष्ट गरीदिनछ ।एन्टीअक्सीडेन्टले मुटुको समस्या,मृगौला ,कलेजोको समस्यामा पनि तुलसी उपयोगी हुन्छ।तुलसीको रसले मालिस गर्दा हड्डी वलियो हुन्छ। तुलसीको पत्ताको सेवनले स्वास प्रस्वास सम्वन्धी रोगमा पनि फाइदा हुन्छ।रुघा खोकी शिरदर्द आदि चीसोका कारण हुने रोगहरुको त अचुक औषधी नै तुलसी पत्ता हो।

यो वाहेक स्त्रीरोगहरुमा मासिकश्रावको अनियमितता ,पुरुषहरुमा यौन दुर्वलता आदि रोगहरुको उपचारमा पनि तुलससीको पत्ता र फूल कामयावी भएकोछ। तुलसीका पात, हांँगा जरा आदि सवै औषधीय गुणले भरिपूर्ण छन्। पितृहरुकालागि दिइने पिण्डमा तुलसी पत्र राखेर दिंदा पितृहरु तृप्त हुन्छन्।देवकार्यहरुमा तयार वनाइने पंचामृत, वा जुनसुकै नैवेद्यमा पनि तुलसी पत्ता राखिएको हुन्छ ।

तुलसी पत्र नराखिएको नैवेद्य जुठो र अशुद्ध मानिन्छ। तुलसीपत्र विना गरिएको भगवानको पूजा पनि पूर्ण हुंँदैन भनिएको छ।तुलसीको मन्जरी सवै फूलहरुमा श्रेष्ठ मानिन्छ।तुलसी पत्ता सवै दिनमा टिप्न मिल्दैन।त्यसैले यी निसिद्ध दिनहरुवाहेक अरु शुभ दिनमा टिपेर राखेको तुलसी पत्ताले देव वा पितृपूजन गर्नु पर्छ। यदि निसिद्ध दिन परेकोछ र टिपेर राखिएका तुलसी पत्रहरु पनि छैनन् भने तुलसीका झरेका पातहरु टिपी देवपूजन गर्नु पर्छ तर तुलसीको पत्ता विना देवपूजन वा पितृपूजन हुंँदैन।दैनिक गरिने शालिग्राम भगवानको पूजाको लागि भने निसिद्ध दिनमा पनि टिप्न सकिन्छ भनिएको छ।

तुलसी पत्तातोड्ने मन्त्र-

तुस्यामृतजन्मासि सदात्वं केशव प्रिया।
चिनोमि केशवास्यार्थे वरदा भवशोभने।।
त्वदङ्ग सम्भवै:पत्रै पूजयामि यथा हरिम्।
तथा कुरु पवित्राङ्गी कलौमल विनाशिनि।।

अर्थात् हेकृष्णवल्लभा,केशवकी प्रिया ,आज मैले केशवकै पूजाको लागि तिम्रा पत्ता (मन्जरी) टिप्छु र केशवको साथै तिम्रो पूजा गर्छु त्यसैले हे पवित्र अंगवाली देवी? मेरा सवै पाप तापहरु नाश गरिदिनुहोस। भनेर टिप्ने। तुलसी मन्जरी तोड्न नहुने दिनहरु- मंगल,शुक्र र रविवार, यी तीन वार तथा द्वादशी, औंशी ,पूर्णिमा, यी तीन तिथि र सक्रान्ति, आशौच,तथा सन्ध्याकालमा पनि तुलसी पत्र तोड्न हुंँदैन।

वैधृतौ च व्यतिपाते,भौम, भार्गव भानुषु।
पर्व द्वये च संक्रान्तौ द्वादशा सुतके द्वये। निर्णय सिन्धु
निसिद्धे दिवसे प्राप्ते गृह्णीयात् गलितं दलम्।
तेनैव पूजां कुर्वित नपूजा तुसीं विना।। गरुडपुराण
शालग्राम शिलार्चायां परत्यहं तुलसी क्षितौ।
तुलसी विचिन्वन्ति धन्यास्ते करपल्लवा:।

यसरी देवपूजन तथा पितृपूजनको लागि आवश्यक पर्ने तुलसी मानव जीवनमा पनि त्यतिकै महत्व राख्ने तुलसीलाइ हामीले जीवनको अभिन्न अंगको रुपमा स्वीकार गरी यिनको नियमित सेवन गर्नु पर्छ त्यो भन्दा पहिले तुलसी पत्ता टिप्दा नै श्रीबिष्णुको पूजाको लागि टिप्छु र श्री विष्णुलाइ भोजनको साथमा श्रीकृष्णार्पणमस्तु भनेर भगवानलाइ अर्पणगरी प्रसादको रुपमा ॐ नमो वासुदेवाय यी अष्टाक्षरी मन्त्र जापगरी सेवन गर्नु ज्यादा फलदायी सावित हुन्छ भनिएको छ। जुनसुकै कर्म गर्दा पनि श्रद्धाभावका साथ गर्नु पर्छ। विना श्रद्धा गरिएका कर्महरु फलदायी हुंदैनन्। औषधीनै सेवन गर्दा पनि तुलसी दलमुखमा राखी भगवानको नाम स्मरण गरीश्रद्धापूर्वक सेवन गरीएको औषधीले विशेष फलदिन्छ।

अन्तमा यस पुण्यपर्वको उपलक्ष्यमा सबै श्रद्धालु भक्तजनहरुमा नमन गर्दछु र हामी सवैलाइ भगावानमा भक्तिभाव जागोस् भगवानका कृपाले हामीलाई यसलोकमा सुख शान्ति प्राप्तहोस् र अन्तमा मोक्षपद प्राप्तहोस् भनी शुभकामना व्यक्त गर्दछु । यो लेख तयार गर्दा विभिन्न शाश्त्र ,पुराण तथा सन्तहरुका विचारहरुलाई संकलन गरी यो लेख तयार गर्ने कोशिष गरेकोछु ,यसमा भाषागत,छन्द निवन्ध कुनै कुरा‌हरु मिलेका छैनन् तथापि पारखी पाठक वर्गहरुले भाषागत त्रुटिहरुलाई नजर अन्दाज गरी भावमात्र लिइदिनुहुन अनुरोध गर्दछु । साथै आफ्ना मन्तव्यहरु राखिदिनु हुन पनि निवेदन गर्दछु।

जयश्रीकृष्ण राधे !

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …