तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

बिष्णु प्रसाद पोखरेल (शिक्षक नेपाल वेद विद्याश्रम)

कार्तिक शुक्ल द्वितीया / यमपञ्चक / तिहारको अन्तिम दिन मनाइने यो पर्व मन, वचन र कर्मबाट टाढा भई देशका दूरदराज र विदेशमा गई आफ्ना चाडपर्व रीतिरिवाज र सँस्कृतिलाई माया गर्ने नेपालीहरूको महान चाड  दाजुभाइ तथा दिदीबहिनीहरूलाई  एउटै आँगनमा अन्तर मिलन गराउने घुलनशील सामाजिक पर्व हो।

दिदीबहिनीहरूले दाजुभाइलाई , दाजुभाइले दिदीबहिनीहरूलाई एक आपसमा सप्तरंगी टीका, फूलमाला र आशीर्वाद लिई / दिई  मीठा – मीठा परिकार, फलफूल र मरमसलाका साथ दान दक्षिणा र उपहार आदानप्रदान गर्दै मनाउने गरिन्छ। 

दिदी बहिनीहरूले आ – आफ्ना दाजुभाइहरूको दीर्घायुष्यको कामना गर्दै लोमश नामका ऋषिका साथमा मार्कण्डेयादि गरिएका अष्टचिरञ्जीवीहरूको पूजा गर्दै आसुरी शक्तिका रुपमा ओखर र बिमिरो पूजा गरी  फुटाउने काम गर्दछन् ।

यमराजका दूतहरू बलवानमा अति बलशाली, वायुको जस्तो गति,  आक्रामक स्वभाव भएका पाश, मुशल, खुँडा, तरबार, धनुष आदि हतियार लिएका, देख्दै डर लाग्दा, घोर स्वरुपका यम किंकरहरूले कुनै प्रकारको पीडा नगरी मेरा दाजुभाइलाई सुख प्रदान गरुन्। 

सूर्यकी छोरी, यमराजकी बहिनी, सबै प्राणीहरूको कल्याण गर्ने विष्णुकी अर्धाङ्गिनी सबै नरहरूद्वारा पूजिएकी यमुना मेरो अनुकूल हुँदै मलाई वरदान दिऊन्।

सूर्यका छोरा, यमुनाका दाजु, धर्मराज यहाँलाई नमस्कार छ। तपाईंले आफ्ना आक्रामक दूतहरूबाट मलाई रक्षा गर्नुहोस्। सज्जनका अगाडि सौम्य र शालीन रुपमा प्रस्तुत हुने, काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यबाट उन्मत्त भएका पापीहरूका अगाडि रिसाहा, निर्दयी, आततायी, घोर, भयानक र विभत्स रुपमा उपस्थित हुने कालका पनि महाकाललाई नमस्कार छ। संहारका कारक भएका, सूर्य, चन्द्र र अग्निको जस्तो तेज भएका, यमुनाका दाजु जस्ता मेरा दाजुभाइलाई जन्मजन्मान्तर सम्म प्राप्त गरिरहूँ।

मेरा भाइहरूलाई अष्टचिरञ्जीवीहरूको जस्तो लामो आयु, यम र यमुनाको जस्तो भ्रातृ र भगिनी प्रेम, आयु, लक्ष्मी, यश, धैर्यता, निर्भयता, आरोग्यता, मधुर वाणी आदि गुणहरू प्राप्त हुन्।

 बहिनी तिमी पनि सदैब लक्ष्मी, अपर्णा, ब्राह्मी, सरस्वती जस्तै शक्ति स्वरुपा भैरहनू। दीर्घायु, लक्ष्मी प्राप्ति, निरोगिता, असल पति, धनधान्यादि, श्रेष्ठ पुत्र र असल दाजुभाइहरू पनि जन्मजन्मान्तर सम्म प्राप्त भैरहून्। दया र मायाकी खानी, असल शील स्वभावले युक्त, सुन्दर स्वरुप, गुणै गुणले भरिएकी, कुशल, लामो आयु भएकी, स्वधर्ममा अडिग, आफ्नो सामर्थ्यद्वारा मनले चिताएको कार्य पुरागर्न सक्ने क्षमता तिमीमा रहोस्। सुयोग्य  पति पनि प्राप्त होस्।

वैवश्वत वंशमा उत्पन्न भएका, विश्वलाई नियन्त्रणमा लिन सामर्थ्यवान्, विश्वमूर्ति, कालका पनि काल, महाकाल , मृत्युका कारण, अविनाशी, यमराजलाई नमस्कार छ। हजुरको कृपा दृष्टि मेरा दाजुभाइ माथि सदा रहिरहोस्।

यम र  यमुनाको संवादले यहाँ दाजुभाइ र दिदीबहिनी बिचको सम्बन्ध अजर, अमर, निश्चल, निष्कपट, निष्कलङ्क, निःस्वार्थका रुपमा जन्मजन्मान्तर रहिरहनु पर्दछ भन्ने राम्रो सन्देश यस कथानकका माध्यमबाट प्रस्तुत भएको देखिन्छ।

यहाँ प्रस्तुत भएको धार्मिक सन्देशलाई हामीले मननका साथ व्यवहारमा उतार्न सक्यौं भने एक आपसमा वैरभाव , ईर्ष्या, घृणा, तिरष्कार, बहिष्कार भन्ने विषय नै रहने थिएन। भ्रातृ र भगिनीको  सम्बन्ध कस्तो हुन्थ्यो, कस्तो हुनुपर्छ भन्ने विचार यस महान् पर्व तिहारले प्रस्ट्याएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …