तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नवराज रेग्मी

म खेलूँ कहाँ ?
म कुदूँ कहाँ ?
म गाऊँ कहाँ ?
म कोसँग बोलूँ, बात गरुँ ?
बोलूँ त आमा झर्किनुहुन्छ
खेलूँ त बाबा रोक्नुहुन्छ
गाऊँ त सबै नाराज हुन्छन्
भन म के गरुँ, कहाँ जाऊँ ?

हिन्दीबाट अनूदित माथिको कवितांशमार्फत् पारिवारिक अनुशासनको फलामे पिँजडाभित्र कैद निर्दोष बालबालिकाका पीडा ओकल्ने गिजुभाइ बधेका मूलतः बालशिक्षाशास्त्रीका रुपमा अन्तर्राष्ट्रिय ख्याति आर्जित कर्मयोगी महापुरुष तथा भारतीय शिक्षाका युगपुरुष मानिन्छन् ।

ब्रिटिश उपनिवेशकालीन भारतको गुजरातमा सन् १८८५ नोभेम्बर १५ का दिन पिता भगवानजी र माता काशिवाका प्रथम पुत्ररत्नका रुपमा यस धर्तीको पहिलो उज्यालो देखेका गिजुभाइको वाश्तविक नाम भने गिरिजाशंकर भगवानजी बधेका थियो । स्थानीय विद्यालयबाट नै परम्परागत शिक्षापद्धतिको स्कूले शिक्षा सम्पन्न गरेपछि मुम्बई विश्वविद्यालयबाट कानुनमा उच्च शिक्षा हासिल गरेका गिजुभाइले जीविकोपार्जनका लागि भने प्रारम्भमा पेशाका रुपमा मुम्बई हाइकोर्टमै आफ्नो पढाइअनुसारको वकालती अभ्यास गरेको पाइन्छ ।

स्वराज प्राप्तिका लागि अंग्रेजराजविरुद्ध भारतीयहरुमा बढ्दै गएको क्रान्तिचेतको फलस्वरुप विभिन्न समयमा भएका राष्ट्रिय आन्दोलनहरुबाट प्रभावित भएपछि आफ्नो वकालती पेशालाई चटक्कै परित्याग गरेका बधेकाको त्यसपछिको करिब दुई दशकको बाँकी जीवन भने सम्पूर्णतः बालशिक्षामाथिको चिन्तन, प्रयोग, बालसाहित्य लेखन तथा बालबालिकाको स्वतन्त्रताको वकालतमा बितेको देखिन्छ ।

गिजुभाइ बधेका त्याग, तपस्या, प्रेम र साधारण जीवनशैली तथा उच्च विचारका प्रतिमूर्ति नै थिए भन्दा हुन्छ । राष्ट्रपिता महात्मा गान्धीका समकालीन उनमा गान्धीजीको सादगीपन, राष्ट्रवादी चरित्र, अहिंसाप्रतिको उनको अगाध आस्था, सोच र आदर्शलाई कर्ममै बदल्ने कर्मयोगिता तथा सत्यवादिताको अभूतपूर्व प्रभाव परेको देखिन्छ भने स्वयं गान्धी पनि उनको जीवनशैली, कर्मशीलता, उच्च विचार, सादगीपन तथा शैक्षिक सुधारका लागि उनले देखाएको त्याग र तपस्याबाट निकै प्रभावित थिए भन्ने गरिन्छ । बालशिक्षा र बालस्वतन्त्रताका लागि आफूले गिजुभाइले जस्तो केही गर्न नसकेको भन्ने गान्धीजीको स्वीकारोक्तिले पनि वाश्तवमा उनी गिजुभाइको कर्मशीलताबाट कति प्रभावित थिए भन्ने कुराको पुष्टि हुन्छ ।

ब्रिटिश उपनिवेशको चंगुलबाट मातृभूमिलाई मुक्त गर्दै स्वराज प्राप्तिका लागि गान्धीेले गरेको त्याग, तपस्या र संघर्षकै समतुल्य त्याग, तपस्या र संघर्ष गिजुभाइले परम्परागत शिक्षापद्धतिका विरुद्धमा र बालबालिकाको स्वतन्त्रताको पक्षमा गरेकाले उनलाई बालकहरुका गान्धी भनेर समेत सम्मानपूर्वक सम्बोधन गर्ने गरिन्छ ।
आफू विद्यार्थी छँदै परम्परागत शिक्षाप्रणालीका कमजोरीहरु, त्यसको अव्यावहारिकता र अवैज्ञानिकतालाई राम्रोसँग बुझेका गिजुभाइ शैक्षिक सुधारका लागि त्यसका विरुद्ध लड्ने एक कुशल योद्धा र महान् अगुवा थिए ।

परम्परागत शिक्षक–केन्द्रित शिक्षण–सिकाइ पद्धति, फलामे अनुशासनका कारण खोसिएको बालबालिकाको स्वतन्त्रता, निर्दयी शारीरिक दण्डविधान र पाठ्यपुस्तकका बासी अक्षरहरुको रटान र पट्यारलाग्दो परीक्षा प्रणालीका विरुद्ध बालबालिकाको रुचि, आवश्यकता, खुसी, खेल, सहभागिता, स्वतन्त्रता, स्वअनुशासन तथा मुक्तानुशासनलाई सर्वाधिक महत्व दिइने बालकेन्द्रित शिक्षा प्रणालीका भारतीय प्रवत्र्तकका रुपमा चिनिने गिजुभाइलाई समग्र भारतवर्षको आधुनिक शिक्षाप्रणालीका प्रथम प्रयोग पुरुष मानिन्छ । बालबालिकाको स्वतन्त्रता, खुसी, चाहना सबैको हत्या गरिने बधशालारुपी पाठशालालाई उनी वाश्तविक रुपमै पाठशाला बनाउन चाहन्थे, बालबालिकाहरु खेलेर रमाउन सक्ने रङ्गशाला बनाउने चाहन्थे र उनीहरुको दोस्रो प्रिय घर बनाउन चाहन्थे । पाठशालालाई मन्दिर, बालबालिकाहरुलाई देवता र शिक्षकलाई पुजारी मान्ने बधेका बाल देवो भव भन्ने मन्त्रका महान् सूत्रकार पनि थिए ।

बालकेन्द्री शिक्षाका महान् हिमायती रहेका बधेकालाई यस क्षेत्रमा लाग्ने मुख्य प्रेरणा भने उनलाई पुत्रप्राप्तिपछि मिलेको थियो भन्ने गरिन्छ । आफ्नो पुत्ररत्नलाई समुचित र जीवनोपयागी शिक्षा दिने विद्यालयको खोजीमा असफल रहेपछि बल्ल उनको सम्पूर्ण ध्यान बालविकास र बालशिक्षामा केन्द्रित हुन पुगेको थियो भन्ने मानिन्छ । उनी मूलतः बालशिक्षामा मन्टेश्वरी पद्धतिका गहन अध्येता थिए र भारतीय शिक्षामा त्यसका प्रथम प्रयोगकर्ता पनि, यद्यपि मन्टेश्वरी पद्धतिका सबै मान्यता, अवधारणाहरुसँग उनको सहमति भने थिएन ।

भारतीय मौलिकतासहित आफ्नो नयाँ शैक्षिक प्रयोगका लागि उनले दक्षिणमूर्ति विद्यार्थी भवनका नामबाट एक नर्सरी पाठशालाको निर्माण गर्नुका साथै भावनगरमा मन्टेश्वरी संघको समेत स्थापना गरेका थिए । उनी स्थापित शिक्षालयमा साढे दुईदेखि छ वर्षसम्मका बालबालिकाहरु अध्ययनका लागि आउँथे जो स्वयं उनका प्रयोगशाला पनि थिए । निश्चय नै उनले हिँडेको बाटो त्यतिबेलाका लागि सहज थिएन । उनी आफ्नो कठिन पथका एक्लो यात्री थिए । शिक्षामा उनको नवीन प्रयोगले विस्तारै अभिभावकको मन जित्न थालेपछि भने उनको ख्याति बढ्दै जान थाल्यो र उनी यात्रामा एक्लो रहेनन् ।

बालशिक्षाका क्षेत्रमा गरेका साहसिक र फलदायी प्रयोगहरु तथा त्यसैमा गरेको जीवनसमर्पणका कारण विश्वका महान् शिक्षाविद्हरुको सूचिमा आफूलाई सगर्व उभ्याउन सफल गिजुभाइ शिक्षा बालकका लागि हुनपर्छ न कि बालक शिक्षाका लागि भन्ने मान्यतामा जीवनभर नै अडिग रहे र उनको सम्पूर्ण प्रयास यसै मान्यतालाई स्थापित गर्नमै केन्द्रित रह्यो । शिक्षालाई जीवनव्यापी प्रव्रिmया मान्ने उनी बालशिक्षाका साथसाथै प्रौढशिक्षाका पनि प्रबल समर्थक थिए । बालबालिकाहरुको शारीरिक, मानसिक, सिर्जनात्मक तथा सर्वाङ्गीण विकास गर्दै नैतिक मूल्यसहितको एक असल नागरिक बनाउनु नै शिक्षाको उद्देश्य हुनुपर्ने मान्यता राख्ने बधेका शिक्षण–सिकाइमा खेल विधि, कहानी विधि, नाटक विधि, प्रत्यक्षीकरण विधि जस्ता विधिहरुको प्रयोग गर्दथे र उनको शिक्षालयमा बालबलिकाहरुलाई सिक्ने उत्सुकता जगाउने किसिमले लोक कथाकहानी, विभिन्न किसिमका खेल तथा नाटकहरुको प्रस्तुति भइरहन्थ्यो ।

बालमनबाट शिक्षकको डर र विद्यालयको डर हटाउन नसकेसम्म सिकाइ प्रभावशाली हुन सक्तैन भन्ने सत्यलाई उनले प्रयोगमार्फत् नै सिद्ध गरेका थिए । उनी केबल शिक्षकमात्र थिएनन्, बालबालिकाका रमाइला साथी पनि थिए । महान् शिक्षक त्यही हो जो विद्यार्थीसँग साथी भएर पनि खेल्न सक्छ वा जोसँग बालबालिकाहरु निर्भयसँग रमाउन सक्छन । यस अर्थमा हेर्दा उनी साँच्चै नै एक महान् शिक्षक थिए, जसलाई देखेर बालबालिकाहरु रमाउँथे,खुसी हुन्थे र घरबाट टाढा विद्यालयमा छौँ भन्ने कुरा नै बिर्सन्थे । उनी आफ्ना बच्चाहरुका साथ नाटकमा समेत भाग लिन्थे । परम्परागत लाठीअनुशासनका कट्टर विरोधी उनी बालकहरुलाई भरपुर स्वतन्त्रता दिएर पनि प्रशिक्षित गर्न सकिन्छ भन्ने विश्वासमा अडिग थिए र उनले आफ्ना प्रयोगहरुबाट आफ्नो यो विश्वासलाई सिद्धसमेत गरेका थिए । आफ्ना बालबालिकाहरुलाई विद्यालयको गेटमा बसेर सबैको एक–एक गरी नाम पुकार्दै स्वागत गर्ने बधेकाले उनीहरुको व्यक्तिगत भिन्नताको पनि निकै ख्याल गर्थे ।

एउटा असल शिक्षकमा विद्यार्थीहरुको व्यक्तिगत भिन्नता जान्न सक्ने र उनीहरुको मनोविज्ञान बुझ्न सक्ने योग्यता चाहिन्छ तथा ऊ अधिनायकवादी चरित्रको नभई आदर्शवादी विचार तथा मूल्यबाट प्रेरित र बालबालिकाहरुका लागि एक कुशल सल्लाहकार तथा सहयोगी हुनुपर्दछ भन्ने मान्यता राख्ने बधेका बालबालिकाहरुले आफ्नो मातृभाषामा सिक्न पाउनुपर्छ भन्ने कुराका पनि बलिया समर्थक थिए । आफ्नो शैक्षिक प्रयोग र विस्तारका लागि आवश्यक शिक्षकहरुको उत्पादनार्थ उनले सन् १९२५ मा दक्षिणमूर्ति अध्यापक मन्दिरको समेत स्थापना गरेका थिए र जसबाट छ सय तालिमप्राप्त जनशक्ति उत्पादन गरिएको थियो भन्ने गरिन्छ ।

भाषा तथा अक्षरको ज्ञानलगायत, गणितीय अंकहरुको पहिचान, फूलहरुको चित्र निर्माण र रंगभराइ, विभिन्न आकृतिहरुको पहिचान, संगीत, स्वास्थ्यसम्बन्धी सामान्य ज्ञान तथा महापुरुषहरुको जीवनी जस्ता विषयहरुलाई आफ्नो पाठ्यक्रममा समावेश गरेका बधेका भाषा–सिकाइमा भाषा र व्याकरणलाई अलग–अलग सिकाउने कुराका विरोधी थिए । आफ्ना सिकारु नानीबाबुहरुलाई उनी मातृवत् स्नेह गर्थे । बालबालिकाहरुप्रतिको उनको यस्तो अपार अनुराग र स्नेहलाई देखेर गान्धीजीले उनलाई जुँगाधारी आमा भन्ने उपाधि दिएका थिए भनिन्छ ।

गिजुभाइ बधेका एक महान् चिन्तक, व्रmान्तिकारी शिक्षासुधारक, शिक्षाप्रयोगकर्ता त थिँदै थिए यसका अलावा उनी एक महान् लेखक पनि थिए । बालशिक्षाको क्षेत्रमा आफ्नो चिन्तन, प्रयोग र अनुभवहरुलाई उनी आफ्नो मातृभाषा गुजरातीमा सरल रुपमा प्रस्तुत गर्दथे र बालसाहित्यका क्षेत्रमा पनि उनको कलम बेजोड चल्दथ्यो । आफ्नो जीवनकालमा लगभग सय जति पुस्तक लेखेका भनिएका बधेकाको शिक्षाशास्त्रसँग सम्बन्धित सर्वाधिक चर्चित कृतिका रुपमा प्राथमिकशालामा भाषा लाई लिइन्छ भने बालकेन्द्रित शिक्षासँग सम्बन्धित मास्टरपिस कृतिका रुपमा दिवास्वप्न को चर्चा गर्ने गरिन्छ । बालििशक्षको क्षेत्रमा वाश्तवमा यो एउटा अति कठिन प्रयोग हो र उनले यस कृतिमा आफ्नो मातृभूमिले विस्तारै–विस्तारै उक्त दिवास्वप्नलाई पूरा गर्नेछ भन्ने विश्वाससमेत राखेको पाइन्छ । गुजराती भाषामा लेखिएका उनका धेरै कृतिहरु अहिले विश्वका विभिन्न भाषामा अनुवाद भइसकेका छन् ।

फराकिलो र प्रेमी हृदयका धनी बधेका यस्ता शिक्षाशास्त्री हुन्, जो हर बालबालिकाको ओठमा कलिलो मुस्कान फव्रmेको हेर्न चाहन्थे, आँखामा खुसी चम्केको देख्न चाहन्थे । शिक्षाको आधारशिला भनेको पाठको निरस रटान नभई जीवन्त अनुभव हो भन्ने मान्यता राख्दै बालबालिकाको स्वतन्त्रतामा, खुसीमा, खेलमा स्वर्ग देख्ने उनको जीवनले भने चवन्न वर्षभन्दा बढीको उज्यालो देख्न पाएन । राष्ट्रपिता गान्धीजी जन्मेको महान् नगरीमै भारतको स्वतन्त्रताका लागि संघर्ष गर्न गठित भारतीय राष्ट्रिय कांग्रेस गठन भएकै सालमा जन्मेर आफ्ना महान् कर्महरुले विश्वख्याति आर्जन गर्दै अमरत्व प्राप्त गरेका यी महापुरुषले आफ्ना आदर्श पुरुष गान्धीजीको नेतृत्वमा भएको स्वतन्त्रता संग्रामको परिणाम अर्थात् अंग्रेजहरुको औपनिवेशिक दासताबाट मातृभूमिको मुक्तिको उज्यालोलाई भने देख्न पाएनन् । भारतले मुक्ति प्राप्त गर्नुभन्दा आठ वर्षअघि नै सन् १९३९ मा उनको भौतिक शरीर प्राणहीन भयो । बालबालिकको स्वतन्त्रताका लागि आजीवन लडाइँ लडेका यी बालकहरुका गान्धीको आदर्श जीवनबाट र उनका महान् विचारहरुबाट अहिले पनि विश्वसमाजले र शैक्षिक जगत्ले प्रशस्त कुराहरु सिक्न सक्ने देखिन्छ ।

बालशिक्षाको क्षेत्रमा उनका प्रभावशाली विचारहरु र शव्दलाई श्रव्य÷दृश्यसँग जोड्ने उनका प्रयोगहरु अहिले झन–झन सान्दर्भिक हुँदै गएका पाइन्छन् र विश्व शिक्षाजगत् उनले देखाएको बाटोमा विस्तारै हिँड्दै गएको समेत पाइन्छ ।

(विभिन्न सन्दर्भस्रोतहरुमा आधारित रही तयार गरिएको )

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …