तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडाैं। ३अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दसैंमा पनि नरोकिने भएको छ ।

कोरोना महामारीपछि देशव्यापी लकडाउनका बाबजुद रंगशाला निर्माण कार्य जारी राखेको फाउन्डेसनले दसैंमा कामदारकै चाहनाअनुसार काम जारी राख्न लागिएको फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेलले जानकारी दिए ।

‘वैशाखको २० गतेदेखि ३० जना कामदारबाट निर्माणको काम पुनः सुरु गरेका हौं । साउनदेखि करिब २ सय जना र अहिले २ सय ३३ जना मजदुर कार्यरत छन्,’ अध्यक्ष कट्टेलले भने, ‘अहिलेको परिस्थिति र निर्माणकार्यको अवस्थालाई मध्यनजर राख्दै सबैसँग प्रतिक्रिया माग्दा धेरैजसोले रंगशाला उभ्याएर मात्रै घर जाने र आफूहरूका लागि यही नै चाडपर्व भएको बताएपछि काम सञ्चालन गर्न लागिएको हो ।’ रंगशालामा काम गर्ने सबै मजदुर तथा कर्मचारीहरूलाई टीका लगाएर यहीं दसैं मनाउने धुर्मुसले बताए ।

गत वर्षको मंसिर १ देखि मुख्य रंगशाला निर्माणको काम सुरु भएको हो । सुरुआतमा २२ लाख लिटरको ड्रेन निर्माण र प्यारापिटको पिलरको फाउन्डेसन तयार गर्न फागुनसम्मको समय लाग्यो । चैत महिना लकडाउनका कारण काम सञ्चालन हुन नसके पनि वैशाखयता रंगशालाको पूर्व (स्टान्ड बी) र पश्चिम (स्टान्ड ए) मोहडामा रहने प्यारापिटको काम सुरु गरिएको हो । यो प्यारापिट ३० हजार दर्शक क्षमताको हुनेछ ।
रंगशालाको ३ सय ६० वटा पिलरमध्ये २ सय वटा पिलर ठड्याइसकिएको छ । स्टान्ड ए मा सबै पिलर (१ सय ३५ वटा) राखिसकिएको छ । यहाँ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड बिमा ६५ वटा पिलर उठेको छ र बाँकीको काम अन्तिम चरणमा पुगेको छ ।

परियोजना व्यवस्थापक जनार्दन शर्माका अनुसार रंगशालाको दुई स्टान्डको जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै टाइबिमको काम १३ प्रतिशत सकिएको छ । मैदानको काम यसअघि नै ८५ प्रतिशत सम्पन्न भइसकेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण, आवश्यक मालसामग्रीहरूको अभाव, कामदारहरूको समस्या, बर्खा र निरन्तरको झरीका बावजुत पनि रंगशालाको काम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए । ‘कोरोना भाइरसका कारण देखाउँदै धेरैजसो विकास आयोजनाहरूको काम प्रभावित भएका छन्, तर यो राष्ट्रिय गौरवको परियोजनामा भने निरन्तर काम भइरहेको छ,’ कट्टेलले भने ।

२०७५ साल माघ १६ गते राष्ट्रिय सभागृहमा बृहत् घोषणासभा आयोजना गरी रंगशाला निर्माण अभियान सुरु गरिएको हो । रंगशाला निर्माणको सामाजिक अभियानमा जोडिएर बोलकबोल भएका रकमहरू समयमै उठेको भए रंगशाला निर्माणको कार्यप्रगति अझै धेरै हुन सक्थ्यो । तर काम भएको दिनको गणना गर्ने हो भने पनि धेरै प्रगति भएको कट्टेलले जानकारी दिए ।

रंगशाला निर्माणमा अहिलेसम्म २४ करोड १४ लाख ६० हजार रुपैयाँको आर्थिक स्रोत जुटेको छ । निर्माणमा असोज मसान्तसम्म ३० करोड ५५ लाख १२ हजार रुपैयाँ खर्च भएको फाउन्डेसनका आर्थिक प्रशासन प्रमुख मुक्ति तिमल्सिनाले जानकारी दिए । यसो हुँदा फाउन्डेसन अझै ६ करोड ४० लाख ५२ हजार रुपैयाँ ऋणमा छ ।

सरकारी तवरबाट रंगशालालाई वाग्मती प्रदेश सरकारबाट तीन करोड, भरतपुर महानगरपालिकाबाट २ करोड, हेटौंडा उपमहानगरपालिकाबाट ३० लाख रकम सहयोग भएको छ । अन्य केही स्थानीय तहले बालुवा, ढुंगा र गिट्टी सहयोग गरेका छन् । रंगशाला निर्माणमा खर्च भएको ठूलो हिस्सा जनस्तरबाट प्राप्त सहयोग नै रहेको फाउन्डेसनले जनाएको छ । रंगशालाका लागि गएको माघमा लगाइएको बृहत् धनधाञ्याचल महोत्सवबाट ८ करोड ४६ लाख ३० हजार नगद संकलन भएर काम अघि बढेको थियो । कान्तिपुर दैनिकमा कुशल तिमल्सिना र रमेशकुमार पौडेलले खबर लेखेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …