तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

ललितपुर ।मिर्गौला रोगबाट पीडित उदयपुरकी ४७ वर्षीया देवीमाया मगरको डायलसिस गर्ने पालो आइतबार छ । पाटन अस्पतालमा उनीसँगै डायलसिस गराउँदै आएका दुई जना बिरामीमा कोरोना पोजिटिभ देखियो । त्यसयता अस्पतालले प्रत्येक पटक डायलसिस गर्न पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । डायलसिसका लागि मगर बुधबार कोरोना परीक्षण गर्न गइन् ।

उनले सोधपुछ डेक्समा ज्वरो पनि आएको जानकारी गराएपछि डाक्टरहरूले फिभर क्लिनिकमा भर्ना हुनुपर्ने बताए । त्यसका लागि ६ हजार र पीसीआर परीक्षण गर्न २ हजार ७५ रुपैयाँ लाग्ने सुनाए । 

ग्वार्कोमा कोठामा बस्दै आएकी उनी ८ हजार ७५ रुपैयाँ अस्पताललाई बुझाउन नसकेर बुधबार चिन्तित अवस्थामा भेटिइन् । मोबाइलमा आफन्तलाई पैसा जोहो गर्न हारगुहार गर्दै थिइन् । उनका छोरा भन्छन्, ‘आमाको प्रत्येक साता डायलसिस गराउनुपर्छ । अस्पतालले पीसीआर रिपोर्टबिना डायलसिस गराउँदैन ।’

उनका अनुसार औषधि खरिद गर्दा छुट्टै पैसा खर्च हुन्छ । ‘तीन/तीन महिनामा रगत जाँच गराउनुपर्छ,’ उनले भने, ‘७ महिनादेखि एक सुका पैसा आम्दानी भएको छैन । ऋण लिने ठाउँ पनि छैन । उपचार गराउनै मुस्किल पर्ने भयो ।’ उनका अनुसार पीसीआर टेस्ट गराउन नसकेकै कारणले दुई जना बिरामी डायलसिस नगरी फर्किए ।

नगरकोटका २७ वर्षीय राजकुमार मगर परिवार पाल्ने उमेरमा मिर्गौला रोगबाट ग्रसित भए । घरमा आमाबुबा र दिदी मात्र छन् । बुधबार डायलसिस गराउँदा गराउँदै उनलाई अचानक उच्च ज्वरो आयो । 

कोभिडको शंका लागेर पीसीआर परीक्षण गर्न गए । त्यहाँ शुल्क लाग्ने बताएपछि उनी पनि पैसा नभएर अलपत्र परेको अवस्थामा भेटिए । उनी फोनमा पैसाका लागि हारगुहार गर्दै थिए ।

पाटनका श्रवन महर्जनको परिवारमा आमाबुवा र छोरी तीन जनालाई कोरोना पोजेटिभ भएका छन् । आमालाई १० दिनदेखि पाटनमा राखेर उपचार गराउँदै आएका छन् । उनलाई भने अहिले १० दिनको पैसा तिर्न पर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । भन्छन्, ‘१० दिनको डेढ लाख रुपैयाँ तिर्नुपर्छ । कमाउने ठाउँ सबै बन्द भइसकेको छ । त्यत्रो पैसा कहाँबाट ल्याएर तिर्ने ?’

हेटौंडाकी ६० वर्षीया कुमारी दाहाल तीन दिनअघि अचानक ज्वरोले थला परिन् । उनमा स्वासप्रश्वास पनि समस्या देखियो । मकवानपुरमा उपचार सम्भव नभएपछि परिवारजनले सोमबार पाटन अस्पताल पुर्‍याए । 

त्यहाँ डाक्टरहरुले ज्वरो क्लिनिकमा राखेर उपचार गरे । नि:शुल्क उपचार पाउने आशमा आएका उनलाई क्लिनिकको मात्रै ६ हजार रुपैयाँ तिर्न लगाए । पीसीआर रिपोट पोजिटिभ आएपछि थप उपचार गर्नुपर्ने भन्दै ५० हजार तुरुन्त डिपोजिट नगरे बेड पाउन गाह्रो पर्ने बताए । अस्पतालले भनेजति रकम आफूसँग नभएपछि उनकी छोरी लक्ष्मीले पैसा खोजखाज गरेर डाक्टरहरुसँग बिम्तिभाउ गरेर तीस हजार डिपोजिट गरेर आमालाई भर्ना गरिन् ।

उनका अनुसार अक्सिजन दिनुपर्ने भएकाले अस्पताललाई अहिले दैनिक ७ हजारका दरले रकम तिर्नुपर्छ । ‘डाक्टरहरुले कम्तीमा १४ दिन राख्नुपर्छ भनेका छन् । उपचार खर्च मात्रै एक लाखको हाराहारीमा हुने देखियो,’ उनले भनिन्, ‘हुनेखानेले त उपचार गराउलान, नहुनेले मृत्यु कुर्नेबाहेक अरु उपाय छैन ।’

सरकारले आइतबारसम्म सामान्य लक्षण भएका बिरामीलाई प्रतिदिन ३ हजार ५ सयका दरले अधिकतम १४ दिनसम्म, अक्सिजन चाहिने तर आइसियूमा राख्न नपर्नेलाई प्रतिदिन ७ हजारका दरले अधिकतम १४ दिन र आइसियुमा राख्नुपर्नेलाई प्रतिदिन १५ हजारका दरले तीन सातासम्मका लागि अस्पताललाई रकम उपलब्ध गराउँदै आएको थियो । यही रकमले अस्पतालले विरामीको उपचार, खानपानको व्यवस्थापन र क्वारेन्टाइनमा राख्दा हुने खर्च व्यहोर्दै आएको थियो ।

कोरोना उपचार गराउन शुल्क लाग्ने भएपछि उनीहरु जस्तै मर्कामा पर्ने थुप्रै छन् । पाटन अस्पतालका निर्देशक डा.रवि शाक्यले असहाय र विपन्न नागरिक भनेर जिल्ला प्रशासन कार्यालय, स्थानीय तह वा आधिकारी सरकारी निकायबाट सिफारिस लिएर आएमा पीसीआर टेस्ट नि:शुल्क गर्न सकिने बताए । 

कतिपयले भनेका बेलामा सिफारिस लिएर आउन सकिँदैन, त्यसका लागि अस्पताल आफंैको सामाजिक सेवा विपन्न नागरिक कोष छ । सम्पर्कमा आएमा त्यहाँबाट पनि सहयोग गर्न सकिन्छ,’ उनले भने ।

ग्वार्कोका लक्ष्मी लम्सालको समस्या भने बेग्लै छ । गर्भवती उनीलाई डेलिभरिको समय मंसिर १ गतेका लागि दिएको छ । कोरोना पोजेटिभ लम्साल पाटन अस्पतालमा कोभिडको उपचार गराएर निको भई घर फर्केकी थिइन् तर फेरि जाँच गर्नेक्रममा पोजिटिभ देखियो । 

अहिले फेरि भर्ना हुन खोज्दा उनलाई भने बेड खाली नभएको भन्दै लिन मानेनन् । यस विषयलाई बुधबार डाक्टर र उनकी श्रीमान्‌बीच भनाभन भएको थियो । उनका श्रीमान् भन्छन्, ‘श्रीमतीलाई बीचमा केही भइहाल्यो भने जिम्मेवारी कसले लिने ?’

निर्देशक शाक्यले अस्पतालमा आइसकेका बिरामीलाई सकेसम्म फिर्ता नपठाउने व्यवस्था गर्दै आइरहेको बताए । ‘कोभिडका बिरामीको चापलाई मध्यनजर गरेर बेड संख्या बढाएर २ सय ५० पुर्‍याएका छौं,’ उनले भने, ‘सामान्य उपचारका लागि बेड उपलब्ध गराउन सकिन्छ । आईसीयू मात्र डेढ महिनादेखि प्याक छ ।

अस्पतालमा आईसीयुसहित अक्सिजन दिन मिल्ने बेड ५० वटा मात्र छन् भने भेन्टिलेटर २१ वटा छन् । शुल्क लिन थालेपछि अस्पतालमा उपचार गराउन आउनेको संख्या पनि उल्लेखनीय मात्रामा कमी आएको छ । यसअघि दैनिक ३ सय जना पीसीआर टेस्टका लागि आउनेमा अहिले घटेर २ सय मा पुगेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …