तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

काठमाडौँ। रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामा हुनुहुन्थ्यो । केही युवाले राहत ल्याइदिने खबर सुनाएपछि खुशीले दुई दिनदेखि उहाँलाई निद्रा परेको थिएन ।

आज राहत लिने दिन भएकाले उहाँ काठमाडौँको चुच्चेपाटीमा अपराह्न २ बज्नुअघि नै ह्वीलचियर गुडाउँदै आइपुग्नुभयो । उहाँलाई नेपाल प्रहरीको एउटा समूहले एक पोका राहत उपलब्ध गरायो । त्यसमा थियो १० किलो चामल, आधा लिटर तेल, एकएक किलाको दरमा दाल, चना, नुन र मसला तथा साबुन । राहत पाउँदा उहाँको मुहारमा खुशीको चमक देखियो । “थोरै नै भए पनि सहयोग दिनु ठूलो हो, (अन्यलाई औँल्याउँदै) यतिका धेरै मानिसलाई राहत दिइएको छ, खुशी नै छु”, लामाले भन्नुभयो ।

काठमाडौँमा बसेको निकै वर्ष भए पनि कोरोनाकालमा बेहोरेको सकस उहाँलाई कहिल्यै नमेटिने छाप बनेको छ । कठिनाइ अझै हटिसकेको छैन । उहाँ कुनै बेला खाना वितरण गरेका ठाउँमा पुगेर भात खानुहुन्छ, कतै राहत दिएको चाल पाए त्यहीँ पुग्नुहुन्छ । दैनिकी यसैगरी बितिरहेका बेला निकैपछि घटस्थापनाको दिन आज एक पोका राहत पाउँदा उहाँ निकै खुशी हुनुभयो ।

लामासँगै सेतो लौरो टेकेर धेरै न्यूनदृष्टियुक्तहरु चाबहिल जोरपाटी सडकपेटीमा लामबद्ध हुनुहुन्थ्यो । लस्करै बसेका उनीहरुका अगाडि नेपाल प्रहरीले राहतका पोका राखिदियो । छामछुम गर्दै सबैले आआफ्नो पोका सम्हाल्नुभयो । आपसमा कानेखुशी गर्दै एक जनाले भन्नुभयो, “राहत त थोरैथोरै पो छ ।” “थोरैै भए पनि दिएको छ, चित्त बुझाऊ न”, अर्काबाट जवाफ आयो ।

न्यूनदृष्टियुक्त अमर ओलीले दशैँका मुखमा राहत पाएकामा खुशी व्यक्त गर्नुभयो । “खै कुन संस्थाले दियो थाहा भएन, तपाईँ पत्रकार हुनुहुँदो रहेछ, त्यो संस्थालाई धन्यवाद सुनाइदिनू”, उहाँले भन्नुभयो । सुर्खेतका ओलीको विसं २०६० मा दुवै आँखा बन्द भएको थियो । शल्यक्रियापछि एउटा आँखाले घुर्मैलो देख्न थाल्दा केही खुशी थपियो । अहिले विस्तारै त्यही आँखो कमजोर हुँदै जाँदा उहाँ चिन्तित हुनुहुन्छ । ओली सडकमा दैनिक गीत गाएर परिवारको गुजारा चलाउनुहुन्छ । कोरोनाकालमा गीत गाउन पनि गाह्रो भइरहेको उहाँ सुनाउनुहुन्छ । पाँच महिनाको कोठाभाडासमेत तिर्न नसकेको अनुभव उहाँसँग छ । त्यो ऋण अझै तिर्न सकिएको छैन । उहाँ आज प्राप्त खाद्य सहयोगले दशैँका मुखमा केही राहत मिलेको बताउनुहुन्छ ।

उहाँसँगै राहत प्राप्त गर्नुभएका अर्का न्यूनदृष्टियुक्त दिवस विष्टले केही दिनलाई छाक टार्न समस्या नपर्ने बताउनुभयो । उहाँ पनि सडकमा गीत गाएरै परिवार पाल्ने गर्नुहुन्छ । समयमै आँखाको उपचार नहुँदा दृष्टि गुमाउनुभएका जुम्लाका विष्ट एकार्कामा सूचना प्राप्त भएकाले राहत लिन नारायणटारबाट चुच्चेपाटी आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गोकर्णेश्वर नगरपालिकाले पाँच किलो चामल दिएको थियो, अहिले १० किलो पाउनु ठूलो राहत हो ।” यसअघि बन्दाबन्दीका समयमा वितरण भएको राहत पाउनुपर्ने व्यक्तिले भने नपाएको गुनासो उहाँको छ ।

नेपालीको महान् चाड शुरु भएको पहिलो दिन आज झण्डै १०० असख्क्त अपाङ्ग र दृष्टिविहिनले राहत पाएका छन् । ठुलो राहत नभए पनि सम्झेकोमा उनीहरु खुसी छन् । उक्त राहत विभिन्न बैँकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका पहलमा वितरण गरिएको हो । “हामीकहाँ राहत चाहियो, दशैँमा भोकभोकै हुने भयौँ भनेर धेरै अनुरोध आयो”, पोखरेलले रासससँग भन्नुभयो, “त्यसैले इच्छुक बैंकसँगको सहकार्यमा विपन्न परिवारलाई राहत पु¥याएका हौँ ।”

दशैैँका मुखमा ५०० विपन्न र अशक्त परिवारलाई राहत दिने योजना रहेको उहाँले जानकारी दिनुभयो । आज पहिलो दिन चुच्चेपाटी र बौद्धका १०० जनालाई राहत उपलब्ध गराइएको छ । राहत लिन आउनेमा न्यूनदृष्टियुक्त, अशक्त, असहाय र अपाङ्गता भएका व्यक्ति थिए । प्रहरीले आफैँ बौद्धसम्म पुगेर राहत वितरण गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँकै नेतृत्वमा स्थानीय युवाको सहयोगमा राहत पु¥याइएको थियो ।

स्थानीय युवा र प्रहरीले नामावली सङ्कलन गरेर छाक टार्न धौधौ भएका अशक्त र अपाङ्गता भएकाहरुको पहिचान गरी दशैँ राहत दिइएको हो । आगामी केही दिन विभिन्न ठाउँमा पुगेर पहिचान भएका त्यस्ता ५०० जनालाई राहत उपलब्ध गराउने योजना रहेको पोखरेलले सुनाउनुभयो ।

यसअघि पोखरेलकै नेतृत्वमा बन्दाबन्दीका समयमा झण्डै छ हजार परिवारलाई यसैगरी राहत उपलब्ध गराइएको थियो । खाने अन्नसमेत नभएर भोकभोकै बस्न बाध्य भएको भनी गुनासो आउन थालेपछि बन्दाबन्दीका समयमा राहत बाँडिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …