तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ भाद्र २८ गते। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस रोग (कोभिड–१९) को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडीबुटीको प्रभावबारे अध्ययन गर्ने भएको छ । उक्त अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक तथा रिसर्च कन्सल्टेन्ट डा. विशुनदयालप्रसाद पटेलको नेतृत्वमा हुनेछ ।

डा. पटेलका अनुसार औपचारिक रूपमा एक सातापछि प्रदेश ५ मा एक सय जनामा विभिन्न जडीबुटीको मिश्रण गरेर बनाइएको औषधिको ‘क्लिनिकल ट्रायल’ गरिँदै छ । ‘उक्त अध्ययनका क्रममा ५० जना बिरामीलाई यो औषधि दिइनेछ र ५० जनालाई दिइने छैन,’ उनले भने, ‘त्यसपछि के नतिजा प्राप्त हुन्छ हेरौं । विभिन्न आयुर्वेदिक औषधि प्रयोगमा ल्याएर बिरामी निको भएको पाएका छौं । त्यसैले हामी प्रतिफल राम्रो आउँछ भन्नेमा सकारात्मक छौं ।’

उनका अनुसार कोभिड–१९ का विरुद्धमा प्रयोग भइरहेको नेपालमै पाइने जेठीमधु र त्रिकटु (सुठो, पिप्ला र मरीच) मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधिले परीक्षणका लागि अनुमति पाएको हो । जेठीमधु र त्रिकटु नै रोज्नुको कारण खुलाउँदै उनले भने, ‘यी औषधिहरू चीनमा पनि परम्परागत औषधिका रूपमा प्रयोग भइसकेका छन् । सार्स रोगको उपचारमा प्रयोग गर्दा यी औषधिमा पाइने रासायनिक तत्त्व ‘ग्लिसिराइजिन’ ले भाइरसलाई मार्न सफल भएको भन्ने अध्ययन पनि छ । यो भाइरस पनि त्यही परिवारअन्तर्गतको हो ।’

डा. पटेलका अनुसार यो औषधि नयाँ भने होइन । ‘सदियौंदेखि प्रयोग हुँदै आएको औषधि हो । घाँटी खसखस गर्दा, रुघाखोकी लाग्ने समस्या यसले निको पार्छ । त्रिकटुले जीउ दुखेमा निको पार्नुका साथै भोक पनि जगाउँछ,’ उनले भने ।

यी औषधि सामान्य र मध्यम लक्षण भएका बिरामीको अवस्था गम्भीर नहोस् भनेर दिइने गरिन्छ । ‘विभिन्न आइसोलेसन र आयुर्वेदिक अस्पतालमा यी औषधिको प्रयोगले बिरामीमा सकारात्मक प्रभाव पनि देखिएको छ । प्रदेश १, २, ५ आदिमा यो प्रयोग भइरहेको छ,’ उनले भने ।

आयुर्वेदिक चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार आयुर्वेदिक औषधिले कोभिड–१९ निको पार्छ भनेर ग्यारेन्टी गरिएको छैन । तर, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भने बढाउँछ । ‘राम्रोसँग जडीबुटी औषधिहरू प्रयोग गर्दा शरीरलाई फाइदा हुन्छ । भान्सामा सजिलै पाइने बेसार, मरीच, अदुवा, गुर्जो लाभदायक हुन् । सजिलैसँग त्रिकटु पाइने हुनाले यो औषधि सिफारिस गरिएको हो,’ उनले भने, ‘यो औषधि कोरोनाका बिरामीलाई सुरुवातदेखि नै चलाइराखिएको हो, अहिले वैज्ञानिक अभिलेखीकरणका लागि ट्रायल गर्न लागिएको हो ।’

राष्ट्रिय आयुर्वेदिक अनुसन्धान केन्द्रका निर्देशक डा. रामआधार यादवले पनि कोभिड–१९ को उपचारका लागि प्रमाणित औषधि बनिनसकेको भए पनि आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने दाबी गरे । ‘हामीले आयुर्वेदिक अस्पतालमा हालसम्म ५ सय ७० जना संक्रमितको उपचार गरिसकेका छौं । जसमा ३ सय ५० जना निको भएर गइसकेका छन्,’ उनको दाबी थियो, ‘हामीले नियमित आयुर्वेदिक औषधिका साथै खानपान, योग तथा परामर्श पनि दिने गरेका छौं ।’

लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. नलीनाथ तिवारीले पनि बुटवलस्थित एन्फा आइसोलेसन सेन्टरमा रहेका संक्रमित आयुर्वेदिक औषधिले निको भइरहेको दाबी गरे । आइसोलेसनमा लक्षण नभएका बिरामीहरू छन् । ‘उनीहरूलाई बिहान योग गराउने, गुडुची, च्यवनप्रास नियमित खुवाउने गरिएको छ । भर्ना भएका कसैमा पनि गम्भीर अवस्था देखिएको छैन । सबैलाई लाभ नै भएको छ,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य तथा वैकल्पिक चिकित्सा विभागले कोभिड–१९ का लागि बनाएको निर्देशिकामा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि जडीबुटीहरूको नियमित सेवन गर्न भनेको छ । गुर्जो, असुराको पात, बेसार, सुठो, मरीच, पिप्ला, तुलसीको पात, तेजपात, दालचिनी सेवन गर्ने र दैनिक योग गर्न पनि सुझाइएको छ ।

हालसम्म कोभिड–१९ को खोप र औषधि तयार भएको छैन, परीक्षणकै क्रममा छन् । तर, विश्वमा यस रोगविरुद्ध आयुर्वेदिक औषधि प्रयोगमा ल्याउन स्वीकृति भने दिइएको छैन । केही समयअघि बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले कोभिड–१९ को औषधि दाबी गर्दै ‘कोरोनिल’ बजारमा ल्याएको थियो । तर, भारत सरकारले त्यसको विज्ञापन तथा बिक्रीवितरणमा रोक लगाएको थियो । यसै क्रममा नेपालमा भने एनएचआरसीले संक्रमितमा आयुर्वेदिक औषधिको प्रयोग गरेर अध्ययन कार्य अगाडि बढाएको छ ।

धेरै जनामा अहिले आयुर्वेदिक औषधिप्रतिको विश्वास बढेको पाइन्छ । कोभिड–१९ निको भएर घर फर्किएकाले पनि आइसोलेसनको बसाइमा घरमै पाइने जडीबुटी सेवन गरेर लाभ लिएको दाबी गर्ने गरेका छन् । बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँगको विशेष छलफलमा आयुर्वेदको प्रयोग बढाउन जोड दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …