तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नवराज रेग्मी

नसोध देश कस्तो छ

१.टाढाबाट नसोध
देश कस्तो छ ?
भन्न लाचार छु, चित्र बिग्रेको विचित्र जस्तो छ
भाउ महँगो छ, अरु सब सस्तो छ
नीति सस्तो छ, नेता सस्ता छन्
नैतिकता दुलो पस्तो छ, इमान खरानी घस्तो छ
हिमाल जलेर राख भएको छ
बुद्ध मरेर लास भएका छन्
अहिले आफ्नै देश प्रवास भएको छ साथी ।

२.मृत सदाचार जिउँदो दुराचार छ
शासनमा भ्रष्टाचार छ, रासनमा भ्रष्टाचार छ
सडकमा काटमार छ, सदनमा मारामार छ
जता फर्क्यो उतै लुटमार छ
जित्नेलाई सत्ताकै दाउ छ
हार्नेलाई सत्ताकै दाउ छ
पाइला–पाइलामा मोल मोलाउ छ
राजनीति कमाऊ र खाऊ छ
हुनेलाई सधैँ मंसिर र असार छ, वसन्त बहार छ
आधा दुनियाँ भोकले लम्पसार छ साथी ।

३.निर्लज्ज नेतृत्व नालायक चोर छ
साधुको भेषमा चण्डाल अघोर छ
दिलमा दुर्गन्ध छ, दिमागमा फोहोर छ
योग्य पछाडि छन्, टपरटुइयाँहरुकै हावी छ
नवनिर्माणको बिलकुल झुटो दावी छ
नाम जनताका,स्वार्थ आफ्नो–आफ्नाको
लोकतन्त्र नामको शासनमा पनि यस्तै खराबी छ साथी ।

४. व्यवस्था फेरियो, अवस्था फेरिएन
प्रणाली फेरियो, कर्णाली फेरिएन
सत्ताका दाउपेची फेरिए, मेची फेरिएन
तर
भेष फेरिएको छ, परिवेश फेरिएको छ
रंग बदलिरहने छेपाराहरुकै राज छ
नेपाली हूँ भन्नलाई पनि लाज छ
परेवा काटेर भोज गरिन्छ यहाँ
मातृ–संभोगमा मोज गरिन्छ यहाँ
जनता भँगेरो छ, शासक बाज छ साथी ।

५. लुटेराहरुको लामै लस्कर छ
हर कोही दलाल छ, तस्कर छ
नेतृत्वलाई विलासको महल छ, चिल्लो गाडी छ
युवाहरुलाई तातो खाडी छ
यतै आन्दोलन छ, उतै आन्दोलन छ
सोझाहरुको जीवनको मोल मोलन छ
सहस्र सस्ता सहिद छन्, शहीद अपमानित छ
उस्तै भोक छ, उस्तै जलन छ साथी ।

६.अपराधी उन्मुक्त छ, साधु सिक्रीमा छ
न्यायको मोलमोलाइ छ, बिक्रीमा छ
हाम्रा काखा छन्, राम्रा पाखा छन्
बस् कमाउने धन्दा छ, रमाउने धन्दा छ
देश जहाँ पुगोस् केको चिन्ता साथी
कुर्ची पाउने र थमाउने धन्दा छ ।

७. पढाउने पढाउँदैन, पढ्ने पढ्दैन
शिक्षक पार्टीको दास छ, विद्यार्थी हतास, निराश छ
झुटैझुटको खेती विस्तार छ, सत्यको उपहास छ
मेहनती असफल छ, चाटुकार पास छ
सीता कलुषित छे, राम हराम छ साथी
रङ्ग उडेर फुङ्ग स्खलित इतिहास छ ।

८.स्त्री–केश छोटिँदो छ, भेष छोटिँदो छ
कोही रहरले नांगै छन् कोही अभावले
काम गर्नेको हाड घोटिँदो छ
गफ गर्नेको ढाड मोटिँदो छ
कोही जीर्ण भई मरेका छन् कोही अजीर्ण भई साथी ।

९. भोजनालय छन्, शौचालय छैनन्
चोकचोकमा मदिरालय छन्, विद्यालय छैनन्
रीति बिग्रेको, थिति बिग्रेको
सघन अँध्यारो, लेश उज्यालो
बुद्धभूमि झन–झन कालो
आदर्श ठाडै उकालो साथी ।

१०.झुपडी उदास–उदास छ
महलमा भोग छ, विलास छ
चिसा ओठहरुमा तातो उच्छवास छ
मात्र लुटेराहरुको सुखवास छ ।
यहाँ,
जीउ बेचेर ज्यान धान्नेहरु पनि छन्
चेली बेचेर चाड मान्नेहरु पनि छन् ।
यहाँ,
चित्र खुइलिएको उजाड–उजाड फ्रेम छ
देश लुटिरहने अनौठो राष्ट्रप्रेम छ
टिभी आफ्नो, रिमोट अर्कैले चलाउँछ
समय तप्त छ, भाग्य अभिशप्त छ
भो नसोध साथी
देश कस्तो छ ?
भन्न लाचार छु, चित्र बिग्रेको विचित्र जस्तो

नवीन आहत

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …