तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएका सबै प्रकारका सवारी पासमा रोक लगाएपछि यात्रुहरु ओसार्न एम्बुलेन्स र सरकारी गाडीहरुको प्रयोग हुन थालेको  छ।

सुदूरपश्चिममा सरकारी गाडी र एम्बुलेन्सहरुको दुरुपयोग बढेको हो । प्रदेशको अस्थायी राजधानी धनगढी सहितका जिल्लामा यात्रुहरुलाई ओसार्न एम्बुलेन्स र सरकारी गाडीहरुको प्रयोग हुन थालेको छ । सवारी पास वितरणमा रोक लागेपछि तीन दिनको अवधिमा यात्रुहरु ओसार्ने तीन वटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

साउन ३० गते राति प्रहरीले गेटाबाट ११ यात्रुसहित जिल्ला अस्पताल डोटीको एम्बुलेन्स समेत नियन्त्रणमा लिएको थियो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर श्रेष्ठले अहिलेसम्म यात्रु ओसार्न प्रयोग गरिएका तीनवटा एम्बुलेन्स नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरी छाडिएको बताउनुभयो ।

बिरामीको बहाना बनाएर एम्बुलेन्स चालकहरुले एक ठाउँबाट अर्को ठाउँसम्म यात्रु ओसार्न थालेपछि कोरोनाको जोखिम बढेको छ । बिरामीलाई अस्पतालसम्म पुर्याएपछि एम्बुलेन्सहरुले यात्रु खोज्दै उनीहरुबाट मोटो रकम असुलेर गन्तव्यसम्म पुर्याउने गरेको आरोप लागेको छ । तर एम्बुलेन्स चालकहरु भने यो कुरा स्वीकार गर्न तयार छैनन् ।

सुदूरपश्चिम एम्बुलेन्स चालक संघका अध्यक्ष लक्ष्मण सिंहले यात्रु ओसारेको भन्ने कुरामा सत्यता नभएको दाबी गर्नुभयो । उहाँले बिरामी मात्र नभएर एम्बुलेन्समा उनीहरुका आफन्त समेत आउने जाने भएका कारण यात्रु हुन की भन्ने पर्न गएको बताए ।

स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार लगायतका निकायका सरकारी गाडीहरु समेत सवारी ओसार्न प्रयोग भइरहेको आरोप लागेको छ । तर प्रहरीले भने सरकारी गाडी दुरुपयोग भएको नभेटिए पनि जाँचमा कडाइ गरेकाले त्यसो भेटिए कारवाहीको दायरामा ल्याइने जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले गृह मन्त्रालयको निर्देशन पालना गर्न अर्को आदेश नभएसम्मका लागि सवारी साधनको जाँचमा कडाइ गरिएको बताउनुभयो । एम्बुलेन्स मात्र नभएर सरकारी गाडीमाथि समेत निगरानी बढाइएकाले दुरुपयोग गरेको भेटिए कारवाहीको दायरामा ल्याउने उहाँको भनाइ छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …