• बिहिबार, फाल्गुण-२५,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

देशव्यापी लकडाउन हटाइए पनि लुकीछिपी आउजाउ गर्नेबाट संक्रमण फैलिनाले सीमावर्ती सहरमा प्रशासनले लकडाउन र निषेधाज्ञा गर्न थालेका छन् ।

वीरगन्जमा गत शनिबारदेखि निषेधाज्ञा छ भने राजविराजमा लकडाउनसँगै निषेधाज्ञा लगाइएको एक साताभन्दा बढी भइसकेको छ । बाँकेमा आइतबारदेखि निषेधाज्ञा हुने घोषणा गरिएको छ ।

मोरङको सुनवर्षी–८ मा संक्रमितको मृत्यु भएपछि बिहीबारदेखि वडा सिल गरिएको छ । टाढा कतै आउजाउ नभएका व्यक्तिमा संक्रमण देखिएपछि वीरगन्जमा त्रास फैलिएको छ । त्रासले विगतमा जस्तो निषेधाज्ञा अवहेलना भएको
छैन । यहाँ साउनमा मात्रै सेना, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी, व्यवसायी, कैदीबन्दीलगायत गरी २०३ संक्रमित थपिएका छन् ।

पछिल्लो समय लक्षणसहितका संक्रमित भेटिने क्रम बढेको छ । अस्पताल भर्ना भएका र उपचारमा संलग्न चिकित्सकमा संक्रमण देखिएपछि नारायणी अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । बिरामीमा संक्रमण पुष्टि भएपछि एडभान्स मेडिकेयर, अली अर्थो एन्ड ट्रमा, वीरगन्ज हेल्थ केयर हस्पिटलका सेवा पटकपटक अवरोध भएका छन् ।

सरकारले पैसा तिरेर पीसीआर परीक्षण गराउन सक्ने नियम ल्याएपछि पर्सामा संक्रमितको संख्या बढी देखिएको हो । वीरगन्ज महानगरपालिकाभित्र समूहगत परीक्षण भइरहेको छ । पर्साका प्रमुख राजनीतिक दलले जिल्लामा कोरोना संक्रमण फैलिँदै गएकामा चिन्ता व्यक्त गर्दै बिहीबार संघीय सरकारसँग विज्ञसहितको चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली माग गरेका छन् । नेकपा, कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजका अगुवाहरूले बैठक गरेर संक्रमण रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण व्यवस्थापन गरिदिन संघीय सरकारको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको हो ।

ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्राध्यापक वीरेन्द्रप्रसाद साहले सरकारी पक्षको अकर्मण्यताका कारण जनता फेरि निषेधाज्ञामा बस्नुपरेको बताए । ‘करिब ४ महिनापछि जनजीवन सहज बन्दै गएको थियो,’ उनले भने, ‘तर स्थानीय प्रशासन र सरकारको कमजोरीले कोरोना फैलियो ।’ स्वास्थ्य सतर्कता अपनाएर जनजीवन सहज बनाउन स्थानीय सरकारले जोड दिनुपर्ने उनको बुझाइ छ । ‘अलिकति सहज भयो कि प्रशासन सुत्ने र नागरिक पनि सचेत नहुने गरेको देखिन्छ,’ उनले भने । साहले सीमाबाट आउनेजाने क्रम नरोकिएको बताए ।

असार अन्त्यसँगै पर्सा कोरोना मुक्त हुनेमा सरकारी अधिकारीहरू विश्वस्त थिए । गत असार ३१ मा वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा पर्साका दुई जना मात्र संक्रमित भर्ना थिए । जिल्लाका क्वारेन्टाइन खाली हुने क्रममा थियो । तर पछिल्ला १५ दिनमा संक्रमित ह्वात्तै बढेका छन् । कोरोना अस्पतालमा बेड अभाव भएपछि संक्रमितलाई ‘होम आइसोलेसन’ (घरमै) राख्न थालिएको छ । महानगरपालिकामा स्थानीय बासिन्दालाई सतर्क रहनू भनी होम आइसोलेसनमा बसेका संक्रमितको घरमा बुधबारदेखि सूचना टाँस्न थालेका छन् । ‘कोभिड–१९ पोजिटिभ केसको घर, होम आइसोलेसन सतर्क रहौं’ लेखिएको सूचना स्वास्थ्यकर्मीले टाँसेका हुन् ।

सरकारले साउन ७ बाट लकडाउन हटाए पनि तोकिएबाहेकका अन्तर्राष्ट्रिय नाकामा आवागमन बन्द नै राख्ने निर्णय गरेको छ । तर त्यसअघिदेखि नै लुकीछिपी भारतीय कामदार भित्र्याएर यहाँका उद्योगले काममा लगाएका छन् । लुकीछिपी भित्रिएकाबाट वीरगन्ज र आसपास क्षेत्रमा कोरोना संक्रमण फैलिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । ‘तोकिएको नाकाबाट भित्रिएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणमा नेगेटिभ आए मात्र घर जान दिइएको थियो, उनीहरूबाट कोरोना फैलिएको होइन,’ उनले भने, ‘लुकीछिपी भित्रिएकाहरूबाट कोरोना फैलिएको हो ।’ चैतमा लकडाउन हुँदा भारतीय कामदार घर फर्किएका थिए ।

सहायक प्रजिअ बस्नेतले भारतीय कामदार भएको उद्योगलाई सिल गरेर उद्योगीकै खर्चबाट लुकीछिपी आएकाहरूको पीसीआर परीक्षण गरिने बताए । वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतो गत चैतमा फैलिएको संक्रमण प्रभावकारी रूपले गरिएको कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र क्वारेन्टाइनले नियन्त्रण आएको बताउँछन् । ‘वैशाखको मध्यतिर एउटै घरका १७ जनासम्म संक्रमित भेटिएका थिए,’ उनले भने, ‘त्यसबेलाको प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसनले संक्रमण नियन्त्रणमा आएको थियो । असारमा वीरगन्जमा नयाँ केस थिएनन् ।’

भारतमा रेलवेलगायत अन्य सवारीसाधन सञ्चालनमा आएका बेला सयौं नेपाली भित्रिएको जानकारी दिँदै उनले भने । ‘त्यसबेला गाउँगाउँमा निगरानी समूह थिए । भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा पठाउन गाउँलेले नै खबर गर्थे । तर अहिले त्यसो हुन सकेन । उद्योगहरू सञ्चालनमा आएपछि सयौं भारतीयलाई लुकाइछिपाई ल्याइयो ।’

नाकाको जिम्मेवारी लिएका निकायले यसको जवाफ दिनुपर्ने आवाज उठेको छ । ‘असार दोस्रो साता सीमावर्ती रक्सौल बजारमा एक सय हाराहारी संक्रमित देखिएका बेला नै मैले सबैलाई सतर्क रहन सावधान गराएको थिएँ,’ महतोले भने । वीरगन्ज–पथलैयाका औद्योगिक करिडोर, ढुवानीको मुख्य केन्द्र, वीरगन्ज भन्सार र सुक्खा बन्दरगाहमा सयौं भारतीय कामदार र कर्मचारी काम गर्छन् । उनीहरू लुकीछिपी भारतबाट आएका हुन् । कान्तिपुर दैनिकमा भूषण यादव, अवधेशकुमार झा, मधु शाही र रूपा गहतराजले खबर लेखेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …