तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ ।

जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले बाटो खोलेपछि शैक्षिक संस्थाहरूले बुधबारबाटै यसको तयारी सुरु गरेका छन् । यसक्रममा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ भने त्रिभुवन विश्वविद्यालयले बुधबारबाट क्याम्पस खोल्नुका साथै भदौ ७ गतेबाट स्थगित परीक्षा सुरु गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साउन १५ गतेभित्र सबै सार्वजनिक विद्यालयका शिक्षकलाई सम्बद्ध विद्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने जनाएपछि विद्यालयमा शैक्षिक गतिविधि बढ्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता लिने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा गत वैशाखमा लिने योजना थियो ।

कक्षा ११ को आन्तरिक मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिइएकाले त्यसमा कुनै समस्या नभएको उहाँले जनाउनुभयो । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि तीव्र रूपमा काम भइरहेको पौडेलले जानकारी दिनुभयो । हालसम्म झन्डै ५५ जिल्लाका विद्यार्थीको अभिलेख रुजु गरिएको र अब केही दिनमै यसलाई पूर्णता दिइने बोर्डले जनाएको छ ।

त्रिविले गत चैतमा स्थगित परीक्षा भदौ ७ गतेबाट सुचारु गर्ने निर्णय त्रिवि परीक्षा समितिका अध्यक्ष तथा रजिष्ट्रार प्रा. पेशल दाहालले जानकारी दिनुभयो । स्थगित परीक्षा दशैँसम्म पूरा गर्ने र त्यसपछि नियमित परीक्षा गर्ने तयारी त्रिविको छ । त्रिवि प्रशासन असार १ गतेदेखि खुलेको थियो । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस पनि बुधबारेखि खुलेका छन् । कोरोना भाइरस (कोभिड–१९) को विषयमा सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ ।विश्वविद्यालयको यो निर्णयपछि नियमित कक्षा तथा पुस्तकालयबाहेक अन्य शैक्षिक गतिविधि सञ्चालनका लागि बाटो खुलेको छ ।

विश्वविद्यालय मातहतका क्याम्पसमा नियमित पठनपाठनका लागि सरकारको निर्णय कुर्ने जानकारी विश्वविद्यालयका रजिष्ट्रार प्रा. दाहालले जानकारी दिनुभयो । सरकारले निर्णय गरेर पठनपाठन बन्द गरिएको भन्दै उहाँले नियमित पठनपाठन खुलाउनका लागि सरकारकै निर्णय कुर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
नियमित पठनपाठनको निधो नभएपछि विश्वविद्यालयले बुधबारदेखि नै बिदामा बसेका अध्यापकहरूलाई बोलाउने निर्णय गरेको छ । विश्वविद्यालयका अध्यापकलाई दिइएको बिदा समेत सकिएको र अब क्याम्पसमा हाजिर हुनुपर्ने भएको हो । क्याम्पस खुल्नुका साथै परीक्षा लगायतका गतिविधि नियमित गरिने भएकाले विश्वविद्यालयका अध्यापकहरूलाई बोलाइएको रजिष्ट्रार दाहालले जानकारी दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …