तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नविन दाहाल

बाहिर पानी दर्किरहेको थियो । प्रायलाई मन नपर्ने टिनको छानामा पानी दर्किएको आवाज मलाई भने किन हो किन एकदम मिठो लाग्छ । मनमा पढाइ, जागिर र करिएर जस्ता कुराहरू दौडिदै थिए । मनमा एकदिनमा कयौं विचारका भीडहरू आउँछन् बेला बेला त लाग्छ मेरो मन अफिस टाइमको जडीबुटी-कोटेश्वरको सडक हो जसमा विचार रुपी गाडीहरूको लामो र ठुलो जाम छ, अनि मेरो मनमा दौडिदै गरेका विचारका अव्यवस्थित सवारीहरू ।

टिङ्ग्…… मेसेञ्जरको घण्टी बज्यो

च्याट हेडमा उसैको फोटो देखेपछि हेरेँ मेरो ‘हेलो’ को रिप्लाई रैछ ‘हाई’ भनेर । ‘उ’ मेरो च्याटलीष्टको सबैभन्दा माथि छे, अनि मेरो मनमा पनि ।

इण्टरनेटमा खर्चिएको अधिकांश समय सामाजिक सञ्जालका टाइम लाइन स्क्रोल गर्नेपछि उसँगको च्याटमा खर्चिएको हुँला । हुन त उसको परिवार र पढाइ देखि बाहेक उसको व्यत्तिगत जीवनबारे मलाई केही थाहा छैन, सायद मैले जान्ने इच्छा नगरेर हो वा उसले भन्ने इच्छा नगरेर हो वा मेरो सोध्ने ढङ्ग नपुगेर ।

‘के गर्दै छौ?’ मैले सोधेँ

‘केही छैन यत्तिकै, तिमी के गर्दै ? ‘ उसले उत्तर दिएर सोधि

‘ म पनि तिमी जस्तै’ मैले भनेँ

‘हा हा’ लेखेर तीन वटा मुख बाएर हाँसेका ईमोजी सहितको रिप्लाई आयो ।।

के लेखौँ लेखौँ भयो, अघिनै एउटा हिन्दी सायरीको नेपाली अनुवाद गरेको थिएँ त्यही पठाइदिएँ ।

”आकाशमा छरिएका बादलहरूबाट छानिएर आउने,

डिसेम्बरमा लुकेको सूर्यका यी किरणहरु,

जब बस्छन् तिम्रो गालामा,

तब बिहान हुञ्छ मेरो प्रेमको ।।”

त्यसपछि लेखेँ ‘अनुवाद चाहिँ मेरो नै हो अलि मिलेन क्यारे !’

रिप्लाई आएन अधैर्य म उसको प्रोफाइल खोलेर उसका फोटोहरू हेर्न थालेँ । रियाक्ट नगरेका कुनै कुनै फोटोहरूमा रियाक्ट पनि गरेँ ।

करिब दश मिनेट पछि रिप्लाई आयो ‘राम्रो छ अनि अनुवाद पनि मिलेकै छ सायद’

‘धन्यवाद’ मैले भनेँ

‘पुराना फोटोहरू लाईक गर्दै छौ त ??’ उसले सोधी

‘ तिम्रो रिप्लाई ढिलो आउँदा, अनि तिमी अनलाइन नहुँदा तिम्रो प्रोफाइल चाहार्ने बानी बस्या छ ।’

‘ हे हे, किन हो यस्तो काम नपाएको?’ उसले सोधी

‘ हे हे, आइ लव टु लस अन योर प्रोफाइल’ मैले भनेँ

उसको रिप्लाई आयो ‘उफ्’

मैले एउटा आँखा झिम्क्याएका दुईवटा ईमोजी पठाइदिएँ ।

‘अरू सुनाउन घरतिर के छ ?’ उसले सोधी

‘ सबै ठिकै छ बरू तिम्रो सुनाउन? ‘ मैले भनेँ

‘यता पनि उस्तै त हो, अब तिमी यता आउने कि नआउने ?’ उसले सोधी

‘ सायद तिहार पछि आउँछु कि’ मैले भनेँ

‘ सायद ? ‘ उसले अँझ सोधी

‘ खै’ मैले पनि अँझै अनिश्चित उत्तर दिएँ ।

‘ आज नसुत्ने ?’ उसले सोध्दा पो मेरा आँखा घडीमा पुगे ओ हो साढे दश भएछ

‘ अब सुत्छु ल, गुड नाईट’ मैले भनेँ

‘ओके गुड नाईट, स्विट ड्रिम्स’ उसको रिप्लाई आयो ।

●●●

ऊ अन्तिम सेमेस्टरको परीक्षा दिन भारत गएका बेला मैले भनेको थिएँ ‘अब त अप्टोमेट्रिष्ट भएर आउने होला, मलाई के ल्याइदिने?’

‘के ल्याइदिनु भन त ?’ उसले

‘के ल्यादिञ्छौ जे भएनि हुञ्छ ?’ मैले भनेँ

‘बुक ल्याइदिञ्छु कुन पढ्न मन छ तिमी भन है’ उसले भनी

मैले अमिताभ बाग्चीको ‘हाफ द नाइट इज गन’ भन्ने उपन्यास ल्याइदेऊ है भनेँ । जुन उपन्यासको तर्फबाट अमिताभ बाग्चीले २०१९ को ‘डिएससी दक्षिण एशियाली साहित्य पुरस्कार’ पाएका छन् ।

‘तिमीले मलाई लेइदिएको बुक दिने बाहानामा भेटेको भए कम्तीमा म तिम्रो लागि च्याटमा बोल्ने स्ट्रेञ्जर मात्र त रहने थीइन,’ ऊ बेलाबेला भन्ने गर्थी च्याटमा बोल्ने स्ट्रेञ्जर हरूसँग सबै कुरा सेएर गर्नु हुन्न ।

सायद उसलाई मैले तेसो’ भनेको मन परेन उसले ‘खुब’ भनेर आँखा ठुल्ठूला बनाएका दुई वटा ईमोजी पठाएकि थीइ ।

मैले लेख्न थालेको व्लगको थोरै अंश टाईप गरेको थिएँ त्यसैको स्क्रिनसट पठाएँ ।

मलाई लागिरहेको थियो कि ऊ रिसाइरहेकी छे तर म गलत भए उसले उत्सुकताकासाथ सोधि

‘ ओ हो ! पुरै कहिले पढ्न पाइञ्छ? ‘

‘ चाँडै नै ‘ मैले भनेँ

आज्ञाकारी हुँदै उसले ‘हस्’ भनी ।

मलाई अझ कुरा लम्ब्याउन मन थियो, खासमा मेरो कोहीसँग कुरा हुँदा धेरै लामो समय कुरा हुनै सक्दैन भइहाले पनि बिनाप्रसङ्गका कुराहरू जोड्नु पर्छ । कहिलेकाहीं त लाग्छ म कस्तो ‘अजीव’ छु । के बोलौँ के बोलौँ सोच्दा सोच्दै निदाएँछु ।।

●●●

त्रिभूवन विश्वविद्यालय सेवा आयोगको भ्याकेन्सी पठाएर मैले सोधेँ ‘टि.यु. को भ्याकेन्सी हेरेउ, अप्टोमेट्रिष्ट माग्या छ त एक जना ?’

‘पाचौँ तह मात्र रैछ पि.सि.एल माग्या छ योग्यता पनि’ उसले भनी

‘ए, कडा कडा अफिसर हुनेवाला अप्टोमेट्रिष्टहरूलाई चानचुने ठाञ्छन् के हो ?’ मैले हाँसेको ईमोजी सहित पठाएँ

‘बिल्ला उडाउन तिमी चाहिँ यहाँ आफूलाई कस्तो तनाव छ’ उसले भनी

‘तनाव त कसलाई हुन्न, तिमीलाईभन्दा बढी मलाई छ ।’ मैले भनेँ

‘के को तनाव छ तिमीलाई चाहिँ ?’ उसले सोधी

‘ बेरोजगारीको चरम बिन्दुमा छु, अनि हुन्न तनाव ?’ मैले भनेँ

‘ सेम हियर, अरू के के छ भनन लीस्ट बनाउन पऱ्यो?’ उसले भनी

‘टप तनाव अफ माइ लाइफ’ लेखेर ४ वटा तनावको लिस्ट बनाएर पठाएँ

१. जागिरको तनाव

२. पढाइको तनाव

३. अन्नपूर्ण आधार शिविर र सगरमाथा आधार शिविर घुम्न जाने सोच छ कहिले पुरा गर्नु भन्ने तनाव

३. बुढेसकालमा बा आमालाई सुख दिन सक्छु कि सक्दिनँ भन्ने तनाव

४. अनि यो जमानामा पनि सीङ्गल नै छु, पछि लाईफ पार्टनर कता खोज्नु भन्ने तनाव ‘

‘हा हा हा, अलि अली त मिल्ने रैछ । ‘ उसको रिप्लाई आयो

‘अँ है, आजकल धेरै कुराहरू मिल्न थालेका छन् ।’ मैले भनेँ

‘हे हे’ भनेर हाँसेका दुईवटा ईमोजी पठाइ ।

●●●

काठमाडौं आएको भोलि पल्ट ‘ र, मेरो फेरि आगमन भयो तिम्रो शहरमा’ लेखेर उसलाई पठाएँ

‘ कहाँ छौ र ?, आइसकेको हो र?’ उसले सोधी

‘ अँ, हिजो नै आयौँ ‘ मैले भनेँ

‘ ए ए, अब चाहिँ अस्तिको ब्लग पढ्न पाइञ्छ होला’ उसले यति भनेर एउटा आँखो झिम्क्याएका दुईवटा ईमोजी पठाइ

‘हे हे, त्यो लेखेको डायरी घरमै छुटेछ’ मैले भनेँ

‘घरमा फोटो खिच्न लाएर पठाउनु भनन’ उसले भनी

‘भन्दा त हुन्थ्यो नि घरमा बा-आमाले पढेर के हो यस्तोभन्दा म के भन्नु ?’ मैले भनेँ

‘हा हा,छोरो साहित्यकार भैसक्यो भन्नु नी’ उसले भनी

‘ साहित्यकार चाहिँ हैन केटाको लभ परेछ भनेर घरमा उत्पात मच्चिञ्छ’ मैले भनेँ

उसको रिप्लाई आयो ‘ हा हा ‘

काठमाडौं आएपछि ऊसँग भेट्ने योजना बन्यो । सोह्र डिसेम्बर उसँग भेट हुने दिन, भर्चुअल संसारमा सीमित सम्बन्ध रियलमा बद्लीने दिन, मोवाइलको स्क्रिनमा औंला दौडाउँदै गफिने माञ्छेसँग भेट्ने दिन र मेरो मनमा बसेकी उसलाई भेट्ने दिन ।

भाइसँग पनि उसको राम्रो चिनजान थियो उसले दुवै जना आऊ है भनेकी थिई ।

जाने बेलामा मैले भाइलाई भनेको थिएँ ‘मेरो त फर्स्ट डेट पनि तिमीलाई लिएर जानु पर्ने भयो त’

भाइ मज्जाले हाँसेको थियो ।

मेरो मन बेचैन थियो सायद म मन परेको मान्छेलाई भेट्न जाने भनेर अत्तालिएको थिएँ ।

सिद्धपोखरी जाने भैयो ऊ त्यहीँ आउने भइ, हामी नपुगी उसको फोन आयो ‘ कहाँ आइपुग्यौ ?’

‘आइपुग्नै लाग्यौँ, तिमी आपुग्यौ ?’ मैले भनेँ

‘आइसकेको म त’ उसले भनी

‘ए ल ल, एकै छिन कुर अब ।’ मैले भनेँ

‘ल ल’ भन्दै फोन राखी ।

सिद्धपोखरी भित्र पस्ने ठाउँमै रैछे भित्र पस्यौँ,

मजाले घाम लाग्या रैछ, बस्यौँ त्यतै ।

कुरा भए पढाइ, जागिर, करियरका बारेमा, खाजा खाइयो ।

छुट्टीने बेलामा उसले मलाई किताब दिँदै भनी ‘यो तिम्रो लागि, बुक’

‘थ्याङ्क्यु सो मच ‘ मैले भनेँ

आफ्नै मनले आफैँलाई भने ‘म कस्तो हुस्सु उसलाई नै दिने भनेर किनेको नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ ल्याउन बिर्सेछु’ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …