तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नवराज रेम्मी

यमुनाले आग्रा चिनाए जस्तै , हड्सनले न्यूयोर्क सम्झाए जस्तै ,सुमिदाले टोकियो झल्काए जस्तै,राइनले बर्लिन र टेम्सले लण्डनको सभ्यता खुलाएजस्तै परिचयको पर्यायवाची बनेर युगौदिखि मेरो गृहजिल्ला स्याङ्जाको छातीमा अनवरत सुसाइरहेको अर्धनदी प्रकृतिको मेरो आँधीखोला मेरो परिचयको प्रथम सुवास हो, मेरो गीतको पहिलो उल्लास हो र प्राकृतिक नाद -संगीतको प्रभाती आभास हो ।

जीवनको लामो उकालो उक्लिसकेर उमेरको यो बिसौनीबाट स्मृतिलाई जधिनेर ती बाल्यदिनहरूतर्फ फर्कदा मन निकै प्रमोदित भएको छ यतिबेला । स्कूले जीवनको भौतिक यात्रा-पथ, वर्षामा धमिलो मातेर पनि शान्त सुसाएको मेरो आंँधीखोला, त्यसको छातीमा वारपार खेल्ने काठे डुङ्गा र भयमिश्रित त्यसको यात्रा,यस्तै-यस्तै स्मृत-विस्मृत दृश्य-परिदृश्यहरू समेटिएको तर नलेखिएको मेरो इतिहास अनि नखोजिएको उसको इतिहास, सायद उस्तै-उस्तै । म यतिबेला मूल्यांकन गर्छु- मेरो आंधीखोला केवल मातेको पानीप्रवाह मात्रै थिएन त्यो चुनौती सिकाउने मेरो महान् गुरु पनि थियो, हॉक हिर्काउने पहिलो पथ-प्रदर्शक पनि थियो । मलाई चुनौती दिएरै पानीमा उत्रन सिकाएको थियो उसले, हाँक हिर्काएरै खुट्टा दह्रो टेक्न सिकाएको थियो उसले र संघर्षको आँखीझ्यालबाट जीवन देख्न सिकाएको थियो उसले । ऊ पनि बगिरहेछ म जस्तै, म पनि बगिरहेछु ऊ जस्तै । थाहा छ, मेरो विश्रान्ति धेरै टाढा छैन तर ऊ युगौंयुगसम्म पनि यसरी नै बगिरहनेछ, सुसाइरहनेछ र कल्कलाइरहनेछ। हिउँद लागिसकेको मेरो जीवनमा अब बैंस-वसन्त कहिल्यै फर्केर आउँदैन भन्ने मलाई थाहा छ तर अनन्त-अनन्तसम्म उसले आफ्नो आवृत्त वर्षे बैंस देखाइरहनेछ यसरी नै, मातिरहनेछ त्यसरी नै र हिउँदे क्लान्त सुस्केरा पनि छाडि रहनेछ उसरी नै ।

आफ्नो जन्मलाई पौराणिक सन्दर्भसंँग जोडेको छ उसले । दृष्टिविहीन आमाबाबुकोपन एक्लो छोरो श्रवणकुमार, विश्वख्याति आर्जेको उसको पितृभक्ति/मातृभक्ति, आमाबाबुको तीर्थाटनको मानसिक-आध्यात्मिक प्यास, कठोर यात्रा-पथ, शारीरिक जल-प्यास, जलको खोजी, कुवामा श्रवणकुमारको भाँडो-उवाइ र त्यसको धडडड आवाज, शिकारी राजा दशरथको श्रव्य-भ्रम, वाणप्रहार, विचरो श्रवणकुमारको जीवनलीला समाप्ति,सहाराविहीन आमाबाबुका अधुरा सपनाहरू अनि उनका आँखाबाट गिरेको अश्रुधारा,बनेको अन्धाअन्धी दह र त्यसबाट भएको जलप्रवाह- आँधीखोला । हामीले यसको जन्मसंगै सुनेको पौराणिक प्रसंग सायद यही हो । प्रागैतिहासिक यो सन्दर्भ सत्य होला,तर यतिले मात्र पौराणिक पवित्रता पाएको छ, यो अर्धनदीले ।

यो पौराणिक सन्दर्भ र यससँग गाँसिएको पवित्रताको प्रचारलाई हामीले कहिल्यै प्राथमिकला दिएनौं, दिन जाननौं कि भन्ने गुनासो, अन्तर्गुनासो म आफै पनि सुनिरहेछु र सार्वजनिक गर्न पनि मन लागिरहेछ । मुक्तिनाथको पवित्रताले दिएको कालीगण्डकीको महत्व के मेरो ।आंधीखोलाले प्राप्त गर्न सक्तैनथ्यो होला र भन्ने प्रश्न पनि सार्वजनिक गर्ने मन लागिरहेछ यतिबेला । हड्सन र राइन, सुमिदा र सरस्वती, हुग्ली र यमुना , टेम्स र टिग्रीस सिकि रहेका हाम्रा कति नेपाली भाइबहिनीहरूले मेरो महान् आँधीखोलाको नाम सुनेका होलान ? यसको पवित्रतालाई गुनेका होलान् ? मनभरि उज्याला प्रश्नहरू तर अंँध्यारा उत्तरहरू छन् ,एकदम अँध्यारा।

अहिलेको स्याङ्जा जिल्लाको डहरे देउरालीको कोखबाट जन्मेर स्याङ्जाकै मिर्मीमा कालीगण्डकीमा समाहित हुने मेरो आँधीखोला केवल पानी मात्र होइन,लाखौं बोटबिरूवाको जवानी पनि हो । यसले अँध्यारा खोंचहरू पनि देखेको छ, उज्याला फाँटहरू पनि भोगेको छ । यो स्याङ्जावासीहरूको घरघरको पिउने पानी पनि हो,उज्यालो बत्ती पनि हो, आफू किनाराका अग्ला भवनहरूको निर्माण स्रोत पनि हो,सयौंको आय-आर्जनको स्रोत पनि हो, अनि भनौं -के होइन ? यात्रामा आफूतुल्य र आफ्ना अनुज कयौं खोला-खोल्सीहरूलाई समेटेर यसले आफ्नो परिचय स्थापित गरेको छ, हाम्रो समग्र परिचयलाई आँधीखोले बनाएको छ अनि हाम्रा गीत र भाकाहरूलाई आँधीखोले को परिचयले स्थापित गरेको छ।

अहिले आएर भने धेरै गुनासाहरू पनि सुसेलिरहेछ आँधीखोलाले- हामीले नबुझेको गुनासो, सुन्न नसकेको गुनासो, सुन्न नचाहेको गुनासो, चर्मचक्षु भएर पनि हामीअन्तरले दृष्टिविहीन बन्दै गएको गुनासो, आफ्नो छातीमा अत्यधिक दोहन भएको गुनासो,पर्खालै-पर्खालले छेकिदिएर आफ्नो प्राकृतिक प्रवाहलाई कुण्ठित गरिदिएको र खुलेर मात्न पनि नपाएको गुनासो । जे होस, गुनासै-गुनासाको पेटारो बोकेर भए पनि डहरमा पनि बगिदिएकै छ, नहरमा पनि बगिदिएकै छ अनि बगिरहेछ, बगिरहेछ, बगिरहेछ ; धर्तीको छातीलाई हराभरा बनाएर आफू निलो बगिरहेछ, हरियो बगिरहेछ, मेरो आँधीखोला-मेरो प्यारो आँधीखोला। हामी सबै मरेर जानेछौं तर यो बगिरहनेछ, बगिरहनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …